टिच फर नेपालका विद्यार्थीहरुको अग्रसरतामा “क्षितिज सिकाइ मेला” नामक वृहत् सिकाइ मेला पौष २५ गतेका दिन श्री भोटेनाम्लाङ माध्यमिक विद्यालय, भोटेनाम्लाङ – ७, सिन्धुपाल्चोकको प्राङ्गणमा हुने भएको छ । सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक विद्यालयहरुको संयुक्त सहकार्यमा यो सिकाइ मेला आयोजना हुन गइरहेको हो । “विज्ञान, प्रविधि र कलाको प्रवद्र्घन, हामी सबैको सम्बोधन” भन्ने मूल नारा लिई आयोजना हुन लागेको यस सिकाइ मेलाको मूल अभिभारा भनेकै विद्यार्थीमात्र नभई शिक्षक र शैक्षिक अभियन्ताहरुको पनि सिकाइका साथ साथै शैक्षिक स्थितिको सुधार एवम् प्रवद्र्घन गर्नु हो ।

२०७४ साल मंसिर १५ गते श्री रैथाने माध्यमिक विद्यालयको प्राङ्गणमा प्रथम पटक आयोजना भएको यस मेला दोश्रो पटक श्री भोताङदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको थियो । दोश्रो पटकको सिकाइ मेला १५०० भन्दा बढी दर्शकहरुले अवलोकन गर्नुभएको थियो जसमध्ये विभिन्न विद्यालयबाट १२४० विद्यार्थी, २३० अभिभावक र अन्य अतिथिहरु ९गाउँपालिकाका अध्यक्ष, स्थानीय प्रशासकीय अधिकृतहरु, विभिन्न संघसंस्थाका व्यक्तित्वहरु समावेश हुनुभएको थियो । यस वर्षको मेलामा पाँचपोखरी गाउँपालिकाको १० वटा नै माध्यमिक विद्यालयले भाग लिने तयारी भइरहेको छ । यसका साथै सिन्धुपाल्चोक भित्रकै अरु विद्यालयहरुले पनि अतिथिको रुपमा भाग लिनुका साथसाथै अवलोकन पनि गर्नुहुनेछ ।

क्षितिज सिकाइ मेलामा विद्यार्थीहरुको सिकाइको क्षितिज उजागर हुन्छ । अन्ततः विद्यार्थीहरुले जीवनमा शिक्षाको आवश्यकता किन पर्दछ र शिक्षालाई जीवनोपयोगी कसरी बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तर आफैँले खोज्ने प्रयत्न गर्दछ । यसै मेला मार्फत विद्यालय र स्थानीय सरकारबीचको सहकार्यले शैक्षिक क्षेत्रमा कसरी सुधार गर्न सकिने रहेछ भन्ने कुरा पनि प्रष्ट रुपमा देखिन्छ । उचित योजना, आपसी सहकार्य र साझेदारीका साथसाथै धैर्यता भएमा हाम्रो समुदायमा दिगो विकास हुन सक्छ भन्ने ज्वलन्त उदाहरणको रुपमा क्षितिज सिकाइ मेला प्रस्तुत भएको छ । यस मेला निम्नलिखित उद्देश्यहरुका साथ सञ्चालन हुने भएको छ

क) SEE दिने विद्यार्थीहरुकालाई लागि उच्च शिक्षाका निमित्त परामर्श सेवा ।
ख) कार्यरत शिक्षकहरुको सशक्तीकरण र विद्यार्थीहरुको सिकाइ प्रक्रियाको विकासको निमित्त ।
ग) यस भेगमा रहेको शिक्षाका सबै सरोकारवालाहरु जस्तै जिल्ला शिक्षा कार्यालय, गाउँपालिका, समुदाय र विद्यालयहरु एकै ठाउँमा आउने अवसर ।
घ) विद्यार्थीहरुको सिकाइ जीवनोपयोगी बनाउने अवसर ।
ङ) विद्यालयको क्रियाकलापमा समुदायको प्रत्यक्ष सहभागिता ।

तपाईको प्रतिक्रिया