सुर्खेत – प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने दौड थालेका छन् ।

प्रदेश १ बाहेक अन्यमा सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमाले नेतृत्वको चुनावी गठबन्धनले बहुमत ल्याउने भए पनि सरकार निर्माण गर्ने सम्भावना कमजोर हुँदै गएको छ । समानुपातिकतर्फको सिट बाँडफाँट भइनसके पनि एमालेको ४०, राप्रपाको ६ र जसपाको १ सिट पुग्ने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने बताएकाले एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना कमजोर बनेको हो । एमाले र राप्रपाको सिट ४६ पुग्छ भने सत्ता गठबन्धनमा पनि कांग्रेसको २९, माओवादीको १३ र एकीकृत समाजवादीको ४ गरी ४६ सिट नै हुन्छ । दुवैलाई बहुमतका लागि १ सिट पुग्दैन । यादवको बोली फेरिएसँगै सत्ता गठबन्धन उत्साही बनेको छ ।

कांग्रेसबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दलको नेता बन्न प्रयास थालेका छन् । उनी शेखर कोइरालानिकट हुन् । यस पटक शेखर समूहबाट उनी मुख्यमन्त्रीका बलियो उम्मेदवार हुन् । देउवापक्षीय केन्द्रीय सदस्यद्वय अमृत अर्याल र प्रदीप सुनुवार पनि दाबेदार छन् । ‘प्रदेश १ मा आफू पक्षीयलाई मुख्यमन्त्री बनाउनु शेखर कोइरालाका लागि प्रतिष्ठाको विषय बनेको छ,’ कांग्रेसका एक नेताले भने, ‘तर संसदीय दलमा उनको अवस्था के हो भन्न सकिने अवस्था छैन ।’

एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पनि मुख्यमन्त्री बन्नका लागि प्रयास थालेका छन् । उनी चुनावका बेला बनेको एमाले नेतृत्वको गठबन्धन कायम रहोस् भन्ने चाहन्छन् ।

त्यसो भएको खण्डमा उनलाई सहजै मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ । हालका मुख्यमन्त्री राजेन्द्र राई पनि मुख्यमन्त्रीमा निरन्तरताको आसमा छन् । प्रदेशसभामा प्रभावशाली उपस्थिति नभए पनि सत्तारूढ दलबीच केन्द्रमा हुने भागबन्डाबाट मुख्यमन्त्री पाउने झिनो आशामा उनी देखिन्छन् ।

मधेस प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट नटुंगिए पनि सीके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ । प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमाले १५, कांग्रेस १३, जसपा ९, लोसपा ७, जनमत पार्टी ६, माओवादी र एकीकृत समाजवादी ४–४ स्थानमा विजयी भएका छन् । विभिन्न दलबाट बागी उठेका ६ जनाले स्वतन्त्र रूपमा जितेका छन् । प्रत्यक्षतर्फ २९ सिट जितेको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आकलन गरिएको छ । प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले–जसपा–राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने आकलन गरिएको छ ।

त्यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा करिब ४ सिट पाउने देखिन्छ । यसरी हेर्दा प्रदेशसभाको सत्ता समीकरणको अंकगणित मिलाउन जनमत पार्टीको सिट संख्या निर्णायक हुने देखिन्छ । यसबाहेक विभिन्न दलबाट बागी उठेर जितेका स्वतन्त्र ६ जना पनि मधेसको सत्ता समीकरणमा निर्णायक हुन सक्छन् । उनीहरू आफ्नै दलतिर ढल्किने सम्भावना छ । एमाले र जसपा सहकार्यले निरन्तरता नपाउने अवस्थामा मधेसको सत्ता समीकरण पनि नयाँ सम्भावनातर्फ अघि बढेको छ ।

सत्ता गठबन्धनको सरकार बन्ने अवस्था आएमा कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव प्रमुख दाबेदार हुन् । संविधानसभाका सभासदसमेत रहेका यादव रौतहट १ (२) बाट निर्वाचित भएका हुन् । निर्वाचनका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उनलाई मुख्यमन्त्री उम्मेदवार भन्दै चिनाएका थिए । यसबाहेक प्रदेशका पूर्वमन्त्री रामसरोज यादव र पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षत्री पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । जसपाले सत्ता गठबन्धनसँग निकटता बढाउँदै हालका मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तरता दिने प्रयास गरेको छ ।

वाग्मती प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिएको छ । प्रत्यक्षतर्फका ६६ सिटमध्ये कांग्रेसले २५, माओवादीले १४ र एकीकृत समाजवादीले ५ सिट जितेका छन् । अर्कोतर्फ एमालेले १३, राप्रपाले ७ सिट जितेका छन् । नेमकिपा र हाम्रो नेपाली पार्टीले १–१ सिट जितेका छन् । सत्ता गठबन्धनलाई सरकार बनाउन समानुपातिकबाट १२ सिट ल्याए पुग्छ ।

सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको रस्साकसी सुरु भएको छ । कांग्रेसबाट वाग्मती प्रदेश सभापति एवं पूर्वराज्यमन्त्री इन्द्र बानियाँ प्रमुख दाबेदार हुन् । प्रदेशसभाको अघिल्लो कार्यकालको अन्तिमतिर सत्ता गठबन्धनबीच मुख्यमन्त्री दिने लिखित सहमति भए पनि कार्यान्वयन नभएपछि उनी वञ्चित भएका थिए । सत्ता गठबन्धनभित्रै माओवादीबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल प्रमुख दाबेदार हुन् । धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन खोजिरहेका उनी उक्त क्षेत्र एकीकृत समाजवादीको भागमा परेपछि मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा लडेका थिए । सत्ता गठबन्धनले निरन्तरता पाउँदा एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना क्षीण छ । गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । सरकार निर्माणका लागि ६० सदस्यीय प्रदेशसभामा कम्तीमा ३१ सिट ल्याउनुपर्छ । सत्ता गठबन्धनले प्रत्यक्षतर्फका ३६ मध्ये २३ सिट जितेको छ । मनाङ (२) बाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ सोमबार एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यस हिसाबले गण्डकीमा सत्ता गठबन्धनको २४ सिट पुगेको छ । अब गठबन्धनलाई सरकार निर्माणका लागि समानुपातिकबाट ७ सिट भए पुग्छ । सिट बाँडफाँट नभए पनि गण्डकीमा गठबन्धनले समानुपातिकमा १२ सिट पाउने प्रक्षेपण गरिएको छ ।

सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्रराज पाण्डे र महेन्द्रध्वज जीसी प्रमुख दाबेदार हुन् । पाण्डे देउवा र जीसी पौडेलनिकट हुन् । गोरखा–२ बाट प्रतिनिधिसभामा जान खोजिरहेका पाण्डेलाई सत्ता गठबन्धनले मुख्यमन्त्रीको आश्वासनसहित त्यहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उठाएको थियो । जीसीले भने पूर्वमहामन्त्री शशांक कोइरालासमेतको समर्थनमा मुख्यमन्त्री बन्ने प्रयास थालेका छन् । गण्डकी प्रदेशमा कांग्रेसभित्र संस्थाइतर पक्ष बलियो रहेको छ । गण्डकीमा एमालेबाट पूर्वगृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्रीका दाबेदार हुन् । उनी मुख्यमन्त्रीको आकांक्षा बोकेर प्रदेशसभामा चुनाव लडेका थिए । माओवादीले नेतृत्व गर्ने अवस्था आएमा तनहुँ १ (२) बाट निर्वाचित हरिबहादुर चुमान मुख्यमन्त्री बन्नेछन् ।

लुम्बिनी प्रदेशमा सरकार बनाउने गरी सत्ता गठबन्धन र एमाले गठबन्धको बहुमत पुग्दैन । ८७ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी करिब ४१ सिट र एमाले गठबन्धनले ३७ सिट पाउने भएको छ । लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको ४ र जनमत पार्टीको २ सिट पुग्ने भएको छ । ३ जना स्वतन्त्र सांसद छन् । सत्ता गठबन्धनले नागरिक उन्मुक्ति पार्टीलाई गठबन्धनमा जोड्न पहल थालेको छ । जनमत पार्टी पनि सत्ता गठबन्धनसँगै रहने देखिएको छ । यस हिसाबले राजनीति अगाडि बढेमा लुम्बिनीमा सत्ता गठबन्धनले सरकार बनाउनेछ ।

अघिल्लो कार्यकालमा कांग्रेसलाई आलोपालो मुख्यमन्त्री दिने सहमति भए पनि यस पटक माओवादीले नै मुख्यमन्त्री लिने गरी राजनीति अघि बढेको छ । माओवादीबाट जोखबहादुर महरा मुख्यमन्त्रीको बलियो दाबेदार हुन् । रोल्पा (१) बाट निर्वाचित उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र मानिन्छन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवालयमा बसेका थिए । गठबन्धनबीच कांग्रेसलाई नेतृत्व दिने सहमति भएको खण्डमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीका बलियो दाबेदार हुन् । सभापति देउवानिकट चौधरी प्रदेश सरकारका पूर्ववन तथा वातावरणमन्त्री हुन् । सत्ता समीकरणमा फेरबदल भई एमाले नेतृत्वमा सरकार बन्ने अवस्था भएमा पोलिटब्युरो सदस्य लीला गिरी मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् ।

कर्णालीमा प्रत्यक्षमा ९ सिट जितेको कांग्रेस समानुपातिकमा ५ सिटसहित सबैभन्दा ठूलो दल बन्ने भएको छ । प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादीले समानुपातिकमा ४ सिट जित्ने सम्भावना छ । त्यसैगरी प्रत्यक्षमा ५ सिट जितेको एमाले समानुपातिकमा ५ सिटसहित तेस्रो बन्नेछ । राप्रपा र एकीकृत समाजवादी समानुपातिकमा एक–एक सिटसहित संसद्मा पुग्नेछन् । जुम्लाबाट कांग्रेसका बागी देवेन्द्र शाही स्वतन्त्रबाट विजयी भएका छन् ।

सत्ता गठबन्धन कायमै रहेमा हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले निरन्तरता पाउने सम्भावना बलियो बन्दै गएको छ । २०७४ को निर्वाचनमा कर्णालीमा कांग्रेसका एक मात्र प्रत्यक्ष सांसद रहेका उनी एक वर्षअघि माओवादी र एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री बनेका थिए । पूर्वपर्यटनमन्त्रीसमेत रहेका शाहीले प्रतिनिधिसभामा जान खोजेका भए पनि सत्ता गठबन्धनले पुनः मुख्यमन्त्री बनाउने आश्वासनसहित प्रदेशसभामा टिकट दिएको थियो । शाहीका कारण यस पटक कर्णालीमा माओवादीको बलियो दाबेदारी देखिँदैन ।

माओवादीबाट राजकुमार शर्मा र बिन्दमान विष्ट मुख्यमन्त्रीका आकांक्षी छन् । ‘जीवन दाइको हाइट र गठबन्धनले दिएको आश्वासनका कारण पहिलो चरणमा उहाँलाई नै मुख्यमन्त्री बनाउनेमा हाम्रो पार्टीभित्र करिब एकमत देखिन्छ,’ माओवादीका एक सांसदले भने, ‘दोस्रो चरणमा भने हाम्रो पार्टीभित्र कसलाई मुख्यमन्त्री बनाउने भन्ने रस्साकसी हुनेवाला छ ।’ एमालेबाट स्थायी कमिटी सदस्य यामलाल कँडेल मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । अघिल्लो कार्यकालमा मुख्यमन्त्री बन्ने प्रयास सफल नभएपछि उनी आकांक्षासहित प्रदेशमा दोहोरिएका हुन् । आजको कान्तिपुरमा समाचार छ ।

सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन सहज बहुमतमा छ । प्रत्यक्षतर्फका ३२ सिटमध्ये सत्ता गठबन्धनले २३ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ५, एमालेले ३ र स्वतन्त्रले १ सिट जितेका छन् । गठबन्धनलाई सरकार निर्माणका लागि समानुपातिकबाट ४ सिट भए पुग्छ । सुदूरपश्चिममा सत्ता गठबन्धनले सरकार निर्माण गर्ने अवस्था भएमा माओवादीका खगराज भट्ट प्रमुख दाबेदार हुन् । पार्टीका प्रदेश इन्चार्ज रहेका उनलाई सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउने आश्वासनसहित डडेलधुरा (२) बाट प्रदेशसभाको टिकट दिएको थियो । उनी २०६४, २०७० र २०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख प्रतिस्पर्धी हुन् ।

सत्ता गठबन्धनबाटै कांग्रेसका बहादुरसिंह थापा मुख्यमन्त्रीका आकांक्षी रहे पनि सुदूरपश्चिम माओवादीको भागमा पर्ने सम्भावना छ । प्रत्यक्षतर्फ ३ सिट मात्र जितेको एमाले सरकार निर्माण गर्ने अवस्थामा छैन । एमालेबाट प्रत्यक्षतर्फ जितेका तीनै जना (सुरेन्द्रबहादुर पाल, चक्र मल्ल र वीरबहादुर थापा) संसदीय राजनीतिमा नयाँ अनुहार हुन् । यीमध्ये बैतडीका जिल्ला अध्यक्ष पाललाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया