काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौं विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाउनु भएको हो । “विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्”,उहाँले भन्नुभयो ।

नेविसंघले शुल्क उठाउने निर्णयको खारेजको माग गर्दै रिले अनशन बसेका काठमाडौं विश्वविद्यालयका विद्यार्थीको समर्थनसमेत गरेको छ । कोभिड–१९ को प्रतिकूल अवस्थामा ढिलो गरेर रकम बुझाउने विद्यार्थीलाई विश्वविद्यालयले उल्टै चार्ज लगाउनु आपत्तिजनक भएको नेविसंघले जनाएको छ ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले कोभिड–१९ का कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई विश्वविद्यालयले विभिन्न वहानामा शुल्क उठाउने काम जायज नभएको बताउनुभयो । काठमाडौं विश्वविद्यालयका विद्यार्थीले राखेका जायज माग तत्काल सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । 

तपाईको प्रतिक्रिया