मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो । पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो । काम्मुले बङ्गुरको पाठापाठीको कारोवारबाट दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल हुनुभयो । वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवा भन्नेहरु एकपटक काम्मु बङ्गुर फार्म पुगी व्यवसायप्रति लाग्न आकर्षित गर्छ ।
बङ्गुरबाट कोरियामा भन्दा बढी आम्दानी हुन्छभन्दा अनौठो लाग्ला तर अनौठो मान्नु पदैन । दुई वर्षको अवधिमा ४८३ वटा बङ्गुरका पाठापाठी बेच्नुभयो । बङ्गुरका पाठापाठीलाई रु पाँच हजारमा सहज रुपमा कारोवार हुन्छ । पाल्पामा ५० प्रतिशतभन्दा बढी मगर समुदायको बस्ती छ । मगर बस्तीमा प्रायः बङ्गुरका पाठापाठी निकासी हुन्छ । अहिले बाहुन–क्षेत्रीका युवाहरु पनि बङ्गुरपालनमा व्यवसायमा आकर्षित छन् ।
बङ्गुरलाई हुर्काउन सहज हुने र बढी उत्पादन दिने भएपछि बङ्गुरपालनमा पाल्पामा आकर्षण बढ्दो छ । बङ्गरका पाठापाठी कारोवार र मासु सहज रुपमा खपत हुँदै आएको काम्मु बताउनुहुन्छ । बङ्गुरका पाठापाठीको मात्र कारोवार गर्नुहुन्न । मासुका लागि पनि बङ्गुर उत्पादन हुन्छ । दुई वर्षको अवधिमा ४६ हजार ११० किलोग्राम बङ्गुरको मासुको कारोवार गर्नुभयो । काम्मुले मासुबाट मात्र रु नौ लाख ८३ हजार ४०० आम्दानी गर्न सफल हुनुभएको हो । विसं २०७४ मा यमकला काम्मुद्वारा सञ्चालित बङ्गुर तथा कृषि फार्ममा ७० वटा बङ्गुरका भाले पोथी छन् । एक कोठामा एक बङ्गुर राखिएको छ ।
बङ्गुरका लागि पानी र दानाका लागि कोठाभित्र व्यवस्थापन गरिएको छ । अहिले ७० बङ्गुरका लागि दुईवटा व्यवस्थित खोर निर्माण छ । दुई खोरको बीचमा एउटा माछापोखरी छ । पोखरीमा माछापालनले झनै आकर्षित बनाएको छ फार्म । माछापालन व्यवसायबाट पनि रु दुई–तीन लाख सहज रुपमा आम्दानी हुन्छ । स्थानीय कुखुरापालन व्यवसायबाट रु एक–दुई लाख हाता पर्छ नै । काम्मुले १८ वटा बङ्गुरका पाठापाठी सङ्कलन गरी व्यवसाय शुरुआत गर्नुभयो । उहाँको फार्म अहिले ७० वटा बङ्गुरका भालेपोथी छन् जसमध्ये ३० बङ्गुरका पोथीले बच्चा पाउँछन् । स्थानीयस्तरमा प्रतिकिलो रु २४० मा मासु खपत हुन्छ । यहाँ उत्पादित बङ्गुर किन्नका लागि तानसेन, बुटबल, पोखरालगायत स्थानका मानिस घरमा आउँछन् ।
छ महिनामा बङ्गुर सुत्केरी हुने गर्छ । औसतमा एउटा बङ्गुरका माउले दशवटा बच्चा जन्माउँछ । बङ्गुरका बच्चालाई एक महिनामा आमादेखि छुटाउनुपर्ने सञ्चालक काम्मुको भनाइ छ । प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले काम्मुको फार्म पुग्दा निकै हौसिनुभयो । एउटा महिलाले दुईवटा खोरमा बङ्गुरपालन प्रतिको मोह र यस व्यवसायमा देखाएको मिहिनेत सबैले सिक्नुपर्ने बताउनुभयो । नेपालमा बङ्गुरपालन व्यवसायप्रति युवापुस्ताको आकर्षण हुनुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा बङ्गुरको मासु ठूलो मात्रा खपत हुँदै आएको र यस व्यवसायको राम्रो सम्भावनासमेत रहेको पौडेलको दाबी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आव २०७५÷७६ सालको कृषि अनुदान कोषको रु १० लाख आर्थिक सहयोग र रु १५ लाख काम्मु लगानीमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय पाल्पाको समन्वयमा स्थापित बङ्गुर फार्म हो ।
नेपाली बङ्गुरको मासु चीनले आर्यात गर्ने भनेपछि बङ्गुरपालन पेशाप्रति युवाको आकर्षण बढ्दो छ । “नेपाली भूमिमा पसिना बगाउन तयार हुँदा स्वदेशमा नै प्रशस्त पैसा कमाउन सकिँदो रहेछ”, काम्मुले भन्नुभयो, “सफलतामा चुम्नका लागि नियमित रुपमा मिहिनेत गर्ने बानी हुनुपर्छ, काम गर्न लजाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । मिहिनेतले काम्मुद्वारा सञ्चालित काम्मु बङ्गुर तथा कृषि फार्म अहिले सबैको आकर्षक केन्द्र बन्दै गएको छ ।”