बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीय कारागार निर्माण ठेकेदारको ढिलासुस्तीले अधुरो बनेको छ । तीन हजार कैदीबन्दी अट्ने क्षमताको उक्त कारागार निर्माणको काम तीन वर्ष बित्दा पनि पूरा भएको छैन । गत कात्तिक ८ गते ठेक्का सम्झौताको निर्धारित तीन वर्षको समय बितिसकेको छ ।

कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु ५३ करोड लागत अनुमान गरिएकामा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले रु ३८ करोड ६८ लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो । सो समयभित्र कारागार निर्माण सम्पन्न हुन सकेन ।

ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जले जेभीको रु सात करोड छ लाख बैंक ग्यारेन्टी जफत गरेको थियो । जेभीले २५ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन वर्षको अवधिमा पाँचवटा संरचनामा मात्र प्रारम्भिक चरणको (पाँच प्रतिशत)मात्र काम सुरु गरेको थियो ।

दुई ठेकेदार कम्पनीबीचको आन्तरिक कलहले अलपत्र परेको क्षेत्रीय कारागार निर्माणको काम चालु आर्थिक वर्ष २०७६÷७७ को भदौ महिनाबाट रसुवा कन्स्ट्रक्सन कम्पनी एक्लैले गरिरहेको छ । ठेकेदारको ढिलासुस्तीले समयमै नसकिएको कारागार निर्माण कार्य अहिले रसुवा कन्स्ट्रक्सन कम्पनीले थालेको एकाइ नेपालगन्जका प्रमुख गणेश कर्माचार्यले बताउनुभयो ।

‘‘कानुनी रुपमा ठेक्का सम्झौता पप्पु–रसुवा जेभीबाटै गरिएको छ तर चालु आर्थिक वर्षबाट रसुवाले जिम्मा लिएर काम गरिरहेको छ’’, उहाँले भन्नयभो, ‘‘जेभीले तीन वर्षसम्म पाँच प्रतिशत मात्र काम गरेपछि हामीले बैंक ग्यारेन्टी जफत ग¥यौँ, कालोसूचीमा राख्नेसम्मको तयारी हुँदा रसुवा एक्लैले काम गर्ने प्रतिबद्धता जनायो र अहिले काम सबै रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ ।’’

रसुवाले जिम्मा लिएपछि अहिले काममा सन्तोषजनक रहेको कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार रसुवा कन्स्ट्रक्सन कम्पनीले कारागार निर्माणका लागि अझै डेढ वर्ष म्याद थप्नुपर्ने प्रस्ताव गरेको भए पनि एकाइले एक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप्न सक्ने उहाँले बताउनुभयो । कारागार निर्माणका लागि दैनिक १५० जना कामदार परिचालन गरिएको छ ।

‘‘तीन वर्षमा पाँच प्रतिशत पनि काम हुन सकेको थिएन, रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएपछि गत भदौयता १८ प्रतिशत काम भइसकेको छ’’, उहाँले भन्नुभयो । रसुवा कन्स्ट्रक्सनका परियोजना प्रबन्धक विनोद ज्ञवालीले कारागार निर्माणका लागि कानूनीरुपमा ‘पप्पु–रसुवा जेभी’ले सम्झौता गरे पनि हाल रसुवा कन्स्ट्रक्सन कम्पनी एक्लैले निर्माण कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

सम्झौताअनुसार निर्माण गर्नुपर्ने २५ वटा संरचनामध्ये १४ वटाको काम चलिरहेको उहाँले बताउनुभयो । सम्झौताअनुसारको सबै काम सम्पन्न गर्न करीब दुई वर्ष समय लाग्ने ज्ञवालीले बताउनुभयो । कारागार निर्माणमा ढिलाई हुँदा यस क्षेत्रका विभिन्न जिल्लामा रहेका जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेको छ ।

ठेक्का सम्झौताअनुसार ठेकेदारले कारागारको आठ वटा ठूला भवन, १५० नेपाल प्रहरी र १५० सशस्त्र प्रहरी गरी ३०० सुरक्षाकर्मीका लागि ब्यारेक भान्सा, तीनतले प्रशासनिक भवनसहित २५ वटा भौतिक संरचना निर्माण गर्नुपर्नेछ । मानव बस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागार साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण सुरु गरिएको थियो ।

अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा देशकै एकमात्र खुल्ला कारागार निर्माणको काम सुरु गरिएको थियो । दुवै कारागार निर्माण भएपछि नेपालगन्जको मानव बस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना रहेको थियो ।

गनापुरमा निर्माणाधीन खुल्ला कारागारमा कैदीले बाहिर गएर जागिर खोज्न, स्वरोजगार बन्न, घरबिदामा जान र सपरिवार कारगारमा बस्न पाउने व्यवस्था हुनेछ । राज्यले थप सुविधा नदिने तर दैनिक हाजिर लगाएर दिनभर आफ्नो काममा जान पाइन्छ तर सुत्न भने साँझ कारागारमै आइपुग्नुपर्ने प्रावधान छ । यहाँ परिवारका सदस्यसहित बस्न पाइने व्यवस्था रहेको छ ।

नयाँ बन्ने कारागारमा प्रत्येक कैदीलाई एउटा कोठा दिइने भएकाले पहिलो चरणमा १०० कोठा बनाउन थालिएको हो । नेपालमा खुल्ला कारागार नरहेकाले केन्द्रीय कारागार विभागले गनापुरमा खुल्ला कारागार बनाउन थालेको हो । पाँच वर्षभित्र काम सक्ने लक्ष्य रहे पनि त्यसअनुसार भने कामको प्रगति हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया