बनेपा – कोभिड–१९ को महामारीका बेलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई काभ्रेपलाञ्चोकमा पनि बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार कोरोनाविरुद्धको खोप आज जिल्लामा आई पुगेसँगै खोप लगाउने तयारीको लागि आवश्यक जनशक्तिसहित खोप लिने व्यक्तिको नामावलीसमेत तयारी गरिसकेको छ ।

जिल्लाको धुलिखेल अस्पताल धुलिखेल र मेथिनकोट अस्पताल नमोबुद्ध नगरपालिका नौबिसेबाट गरी दुई ठाउँबाट खोप लगाउने अभियान शुरु गर्ने तयारी भइरहेको कार्यालयका प्रमुख डाक्टर झाले बताउनुभयो । उहाँका अनुसार भौगोलिक हिसाबले दुई ठाउँमा केन्द्र बनाई मेथिनकोट अस्पतालबाट नमोबुद्ध नगरपालिका, तेमाल, रोशी, महाभारत गाउँपालिका र धुलिखेल, बनेपा, पाँचखाल, मण्डनदेउपुर र पनौती नगरपालिका तथा भुम्लु, चौरीदेउराली, बेथानचोक र खानीखोला गाउँपालिकालाई धुलिखेल अस्पतालबाट खोप प्रदान गरिने छ । तीन हजार ५८१ लाई पहिलो चरणमा लगाउने खोपको लागि धुलिखेल अस्पतालमा करिब दुई हजार ८०० लाई र बाँकी मेनिथकोट अस्पतालबाट लगाउने गरी तयारी गरिएको छ ।

“स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाबाट हामीकहाँ आज ३९० भाइल प्राप्त भएको छ ।” उहाँले भन्नुभयो, “बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट काठमाडौँमा उद्घाटन गर्नुभएसँगै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालमा पनि खोप लगाउने काम शुरु गर्नेछौँ ।” एक भाइलमा दश डोज हुने र प्राप्त भाइलबाट तीन हजार ९०० लाई लगाउन सकिने स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयो ।

मेथिनकोट अस्पतालमा भने बिहीबारदेखि शुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । “पहिलो चरणमा यो खोप अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थानमा खटिएका सुरक्षाकर्मी, नगरपालिकाको सरसफाइमा काम गर्ने कर्मचारी तथा महिला स्वयंसेविकालाई प्रदान गर्नेछौँ”, उहाँले भन्नुभयो । त्यसरी खोप प्राप्त गर्नेमा करीब तीन हजार ६०० रहेको कार्यालयले जनाएको छ । अरु खोपजस्तै गरी लगाउने भएता पनि विशेष परिस्थिति भएको हुनाले त्यसको लागि स्वास्थ्यकर्मीलाई खोप लगाउने तालीम दिइसकेको उहाँले बताउनुभयो ।

खोपको लागि ५४ स्वास्थ्यकर्मी खटाइनेमा ३४ ले खोप लगाउने र २० लाई खोपबाट हुनसक्ने कुनै असर भएमा थप उपचार व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको टोली तयारी अवस्थामा रहने उहाँले बताउनुभयो । तीमध्ये धुलिखेल अस्पतालमा ४२ जनशक्ति र मेथिनकोटमा १२ जनशक्ति खटिने छन् ।

सर्लाहीका पाँच हजारलाई पहिलो खोप

सर्लाही–कोरोनाविरुद्धको खोप अभियान प्रदेश नम्बर २ मा आठै जिल्लामा एकैसाथ बुधबारदेखि शुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८०४ लाई खोप लगाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले जनाएको छ । प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रदेशका आठवटै जिल्लाबाट एकैसाथ अभियान शुरु गर्ने निर्णय गरेको जनाएको छ । अभियानमा मुख्यमन्त्री र मन्त्रीले सहभागिता जनाउने निर्णय बैठकले गरेको छ ।

पर्साको वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत, अस्थायी राजधानी जनकपुरधाममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र राजविराजमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सहभागिता जनाउँदै खोप अभियान शुभारम्भ गर्ने निर्णय बैठकले गरेको छ ।

वीरगञ्जको नारायणी अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल, राजविराजको गजेन्द्रनारायण सिंह तथा अन्य जिल्लामा जिल्ला अस्पतालबाट अभियान एकैसाथ प्रारम्भ गरिने भएको छ । मुख्यमन्त्री र मन्त्रीहरु खोप शुभारम्भ गराउने कार्यक्रममा सहभागिता जनाए पनि उनीहरुले खोप नलगाउने भएका छन् ।

निर्देशिकामा फ्रन्टलाइनमा रहेका व्यक्तिलाई खोप दिइने उल्लेख रहेकाले पहिला फ्रन्टलाइनरलाई मात्रै खोप दिइने विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर २ ले जनाएको छ । सर्लाहीका लागि चार हजार ७७२, रौतहटका लागि तीन हजार ६०९, बाराका लागि दुई हजार ३९५, पर्साका लागि चार हजार ९७१, सप्तरीका लागि तीन हजार ७५४, सिराहाका लागि तीन हजार ९३०, धनुषाका लागि नौ हजार १८२ र महोत्तरीका लागि दुई हजार १९१ डोज कोरोना खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार प्रदेशका आठै जिल्ला सदरमुकाममा रहेका जिल्ला अस्पतालबाट एकै पटक कोरोनाविरुद्धको खोपको शुभारम्भ हुनेछ ।

तपाईको प्रतिक्रिया