काठमाडौं – प्रधानमन्त्री केपी ओलीले समाजको चेतनास्तर, मूल्य र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानुनहरू परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् । 

रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्तनअनुसार विद्यमान कानुन र नियममा परिवर्तन हुने क्रम चल्दै आएको पनि बताए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनका क्रममा नयाँ ऐन निर्माण, विद्यमान ऐन संशोधन, नयाँ नियमावली र कार्यविधि जारी हुने क्रमवृद्धि भएको उल्लेख गर्दै अनुसन्धान, अभियोजन र बहस–पैरवीको प्रभावकारिताले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

महान्यायाधिवक्ताको कार्यालयको ७०औँ वार्षिकोत्सवसमेत मनाइएको कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहने सरकारी वकिलहरूको व्यावसायिकता, क्रियाशीलता र क्षमता विकासले फौजदारी न्याय प्रणाली प्रभावकारी हुने बताए । उनले जनताको अपेक्षानुकूल स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि आफूहरू प्रतिबद्ध भएको स्पष्ट गरे । 

नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधार भएमा जनताले न्याय र शान्ति पाउने बताए । 

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले अभियोजनमा सुधार गरी फौजदारी न्यायलाई प्रभावकारी बनाउने महान्यायाधिवक्ताको कार्यालयको सोचलाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए । 

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले तीनदिने सम्मेलनमा ‘अभियोजनमा सुधार, फौजदारी न्यायको आधार’ भन्ने मूल विषयमा केन्द्रित भई विभिन्न कार्यपत्र र छलफल हुने जानकारी दिए । प्रत्यक्ष र भर्चुअल रूपमा गरिने सम्मेलनमा तीन सय ९४ सरकारी वकिल र ७० जना सरोकारवालाको सहभागिता रहेको छ । रासस

तपाईको प्रतिक्रिया