काठमाडौं – काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ । बिहीबार साँझदेखिको निरन्तर वर्षा आज अबेर साँझ रोकिएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो ।

मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४८ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद् सजिना शाक्यले शुक्रबार रातिसम्म पश्चिमी न्यून चापीय प्रणाली कमजोर भई शनिबारदेखि मौसममा क्रमिक सुधार आउने बताउनुभयो । आज वीरेन्द्रनगरमा ६०, धनगढीमा ३८, डडेलधुरामा २२, भैरहवामा ४१, दाङमा २०, पोखरामा २६ र नेपालगञ्जमा १० मिलिमिटर वर्षा भएको महाशखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ ।

तपाईको प्रतिक्रिया