नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले आइतबार कीर्तिपुर भएको खेलमा नेपालको यु–१९ राष्ट्रिय टिमलाई ३८ रनले पराजित गरेको छ।

एमसिसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपाल यु–१९ टिमले ९ विकेटको क्षतिमा २९६ रन जोड्यो। 

नेपाली युवा टिमका लागि ओपनर तथा कप्तान रित गौतमले ४५ रनको योगदान दिए भने हरि चौहानले ५२ रन बटुले। आकास चन्द र अरुण ऐरीले ३०–३० रन बनाए। 

बलिङमा एमसिसीका क्रिस राइटले ३ विकेट लिए। टम विस्ली र माइल हमुदले २–२ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसिसीले ‌ओपनर विल रोड्सको ९३ रनको मद्दतमा ७ विकेटको क्षतिमा ३३४ रन जोडे।

रोड्सले ८३ बलमा १३ चौका र ४ छक्का हिर्काए। विस्ली र हमुदले ६५–६५ रन बटुले। 

बलिङमा नेपालका शेर मल्ल र सागर ढकालले २–२ विकेट लिए। 

२ साता नेपालमा रहने क्रममा एमसिसीले ६ खेल खेल्ने कार्यक्रम छ। जसमा नेपालको सिनियर टिमविरुद्ध हुने तीनदिवसीय खेललाई पहिलो श्रेणीको मान्यता छ।

एमसिसीको नेपाल भ्रमण

किर्तिपुर मैदानमा हुने खेल
कात्तिक १७ गते – नेपाल यु–१९ भर्सेस एमसिसी (५० ओभर)
कात्तिक १८ गते – नेपाल भर्सेस एमसिसी (५० ओभर)
कात्तिक २० देखि २२ सम्म – नेपाल भर्सेस एमसिसी (तीनदिवसीय– पहिलो श्रेणी)
कात्तिक २३ गते – नेपालको मिश्रित टिम भर्सेस एमसिसी (टी–१०)

पोखरा मैदानमा हुने खेल 

कात्तिक २५ गते – नेपाल आमान्त्रित ११ भर्सेस एमसिसी (टी–२०)

कात्तिक २६ गते – मुख्यमन्त्री ११ भर्सेस एमसिसी (टी–२०)

तपाईको प्रतिक्रिया