काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरलसँग नेपालका लागि सयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शिष्टचार भेट गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँहरूबीच भएको भेटमा दुई देशबीचको मित्रता र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको कार्यालयका प्रवक्ता शङ्कर नेपालले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको प्राथमिकता रहेको भन्दै सन् २०१९ मा पोल्याण्डमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२४) मा नेपालको तर्पmबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रतिनिधिमण्डलले सहभागिता जनाएको स्मरण गर्नुभयो । उहाँले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आउँदो २०२१ को नोभेम्बरमा संयुक्त अधिराज्यमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२४) मा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया