काठमाडौं – निर्वाचन आयोगले विभिन्न तहमा रिक्त रहेका पदमा उपनिर्वाचन गराउने प्रयोजनका लागि सर्वदलीय छलफल प्रक्रियालाई अगाडि बढाएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रियसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १९ दललाई बोलाइएको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिएका छन् ।

काठमाडौंको कान्तिपथस्थित आयोग सभाकक्षमा हुने बैठकको निष्कर्ष बमोजिम आयोगले विभिन्न तहमा रिक्त रहेका स्थानको मतदानका लागि सरकारसमक्ष मिति तोक्न सिफारिस गर्नेछ ।

देशभर विभिन्न कारणबाट रिक्त भएका ४७ स्थानमा उपनिर्वाचन गर्नु पर्नेछ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक तथा ३८ वडामा चुनाव गराउनुपर्ने प्रवक्ता खरेलले बताएका छन् ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर गत फागुन १५ मा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ मा फेरि चुनाव गराउनुपर्ने भएको छ ।

प्रदेश पाँचमा प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनापछि मृत्यु भएकाले दाङ क्षेत्र नम्बर ३ को ‘ख’ मा चुनाव गर्नुपर्ने भएको हो । गण्डकी प्रदेश बाग्लुङ क्षेत्र २ ‘ख’ का सांसद टेकबहादुर घर्तीको गत मंसिरमा निधन भएकाले उक्त क्षेत्र पनि रिक्त रहेको छ । भक्तपुर–१ ‘ख’ का सांसद् हरिहरण लामिछानेको निधन भएकाले प्रदेश तीनमा पनि एक क्षेत्रमा चुनाव गर्नु पर्नेछ ।

स्थानीय तहमा एक मेयर र तीन गाउँपालिका अध्यक्षको निधन हुँदा पद रिक्त भएको हो । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ र संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको निधन भएकाले ती क्षेत्र रिक्त रहेका हुन् ।

तपाईको प्रतिक्रिया