विराटनगर – झापा बुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी बगानभित्र लगाउनुभएको अलैँचीखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । रहरले करेसाबारीमा लगाएको अलैँची सप्रिएर फल्न थालेपछि उहाँले अहिले सुपारी बगानभित्र ५०० बिरुवा रोप्नुभएको छ । बिरुवामध्ये २०० बोटले फल दिन शुरु गरेको उप्रेतीले बताउनुभयो । “गरे हुँदो रहेछ”, उहाँले भन्नुभयो, “काका रामप्रसाद र मैले पहाडबाट अलैँचीका बिरुवा ल्याएर करेसाबारीमा रोपेका थियौँ सप्रियो, अनि फल्यो । अहिले सबै सुपारी बगानभित्र अलैँचीसहितकोे खेती गरेका छौँ ।”
उप्रेतीले आफ्नो एक बिघा आठ कट्ठा जमिनमा वार्षिक रु पाँच लाख बराबरको अलैँचीसहितका बाली उत्पादन गर्नुहुन्छ । केही जमिनमा सुपारी बगानभित्रै मौसमअनुसारको तरकारी खेती, दलहन र तेलहन खेतीसमेत गर्दै आउनुभएको छ । सुपारी बगानभित्रको धेरै क्षेत्रफलमा अलैँची लगाउनुभएका उप्रेतीको मुख्य आयस्रोत भनेको सुपारी र अलैँची हो ।
खासगरी पहाडी भेगको खोल्सामा मात्र सीमित रहेको अलैँची झापामै व्यावसायिक खेती हुन थालेपछि जयपुर क्षेत्रका कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । झापामा कति अलैँची उत्पादन हुन्छ त्यसको यकिन तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छैन तर पनि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिकाका कृषकले भने पछिल्लो समय अलैँची खेती गरिरहेका छन् ।
गाउँपालिकाका २० बढी कृषकले व्यावसायिक रुपमा अलैँचीको खेती थालेका छन् । समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटर उचाइसम्म सेपिलो भूभागमा हुने अलैँचीखेती झापामा व्यावसायिक रुपमा हुँदै आएको छ ।
पहाडमा ‘खोल्साको कालो सुन’ उपनामले चिनिने अलैँचीको खेती झापामा हुन थालेपछि जयपुर क्षेत्रका कृषकले यो खेती विस्तार गरिरहेका छन् । गाउँपालिकाको भोटेटार, होक्से र जयपुरका किसानले व्यावसायिक रुपमा ‘पाखे’ जातको अलैँचीखेती गर्दै आएका छन् । उनीहरुले सुक्खा जमिनमा उत्पादन हुने इलामको सलकुपुरमा उत्पादन गरिएको ‘पाखे’ जातको अलैँची रोपेका हुन् ।
परम्परागत रुपमा धान, मकै, गहुँखेतीबाट सोचेजस्तो आम्दानी हुन नसकेपछि यहाँका किसान बैकल्पिक व्यावसायिक खेतीका रुपमा सुपारी खेती गर्दै आएका छन् । सुपारी रोपेको स्थानमा अलैँची लगाउँदा राम्रो उत्पादन हुन थालेपछि किसान उत्साहित भएका छन् । तीन वर्षमा २० जनाभन्दा बढीले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न थालेपछि अरु किसानले यसमा चासो राखेको भोटेटारमा खेती गर्दै आएकी राधा बजगाईंले बताउनुभयो । जयपुरमा मनमाया उप्रेतीले दुई कट्ठामा अलैँची राप्नुभएको छ । उहाँले अलैँचीखेतीमा प्राविधिकको अभाव रहेको बताउनुभयो ।
“थोरै क्षेत्रफलमा लगाए पनि गत वर्ष रु २० हजारको अलैँची बेच्न सफल भएँ”, सरकारले यसलाई प्राथमिकतामा राख्न सके हामीजस्ता कृषकलाई थप आम्दानी लिन सहज हुने उहाँको भनाइ थियो । अलैँचीको मूल्यमा निरन्तर भएको गिरावटले भने किसानलाई निरास बनाएको छ । कृषक रामप्रसाद उप्रेतीले भने ओम नम शिवाय कृषि फार्म नै सञ्चालन गरेर अलैँचीसहित कागती र सुपारीको व्यावसायिक खेती गरिरहनुभएको छ । उहाँकै सिको गर्दै अहिले धेरैले झापामै अलैँची खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।