नवलपरासी – बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।
बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९–८० मा खसीबोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख गुरागाईँले बताए । जिल्लामा उत्पादन भएको खसीबोका किसान आफैँले बिक्री गर्ने गरेका छन् भने केही सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ ।
“गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये एक सय ६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन्”, उनले भने । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट गत आवमा एक सय ५० मेट्रिक टन खसीबोका काठमाडौँ, पोखरा र चितवनका बजारमा निकासा भएको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रापाल्नेको सङ्ख्या भने बढ्दै गएको छ । पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाईँले बताए । रासस