काठमाडौं –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरूको कर्तव्य भएको बताउनुभएको छ ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारूपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिनुभयो । उहाँले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली कांग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र कांग्रेसका नेताहरू सफल हुने धारणा राख्नुभयो ।

पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको उहाँको गुनासो थियो । “निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो रु”, उहाँको प्रश्न थियो, “अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो ।”

उहाँले राजनीति गर्ने र सरकार चलाउनेबीच खाडल रहेको भन्दै त्यसमा पनि कांग्रेसले ध्यान दिन जरुरी रहेको बताउनुभयो । “पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा म उहाँको पत्नीका रूपमा चार/पाँच ठाउँमा पुगेकी छु”, उहाँले भन्नुभयो, “हाम्रा मन्त्रीहरू सरकार सञ्चालनको तयारी अवस्थामै हुनुहुन्न, उहाँहरूले सिक्दासिक्दै मन्त्री पद गइसक्छ । त्यसैले यस विषयलाई घोषणापत्रमै उल्लेख गरेर अघि बढ्नुपर्छ ।”

नेत्री राणाले मुलुकमा कसरी शासन सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रशिक्षण सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो । निर्वाचन जितेर आउने तर शासन गर्न नजान्दा नेताहरू असफल हुने गरेको उहाँको टिप्पणी थियो । उहाँले सामाजिक सञ्जाल र पछिल्लो समय विकास भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को बारे पनि जानकारी लिन आवश्यक रहेको बताउनुभयो । पार्टीका नेताहरू नै आफूहरू फिल्डमा जाँदा एउटा कुरा भन्ने र काम अर्कै भइरहेको भन्दै नेत्री राणाले यसबीच सन्तुलन आवश्यक रहेको बताउनुभयो ।

पार्टीले सदस्यको सङ्ख्या मात्रै बढाएर नहुने भन्दै उहाँले सङ्ख्याले सबै अर्थ नराख्ने बताउनुभयो । “मलाई यस्तो जिल्ला र वडाहरू थाहा छ, जहाँ क्रियाशील सदस्यभन्दा कम भोट आएको छ”, उहाँले भन्नुभयो, “सदस्यता लिनका लागि पहिले आवेदन लिने र त्यसपछि प्रशिक्षण दिनुपर्छ, राजनीति किन गर्न लागेको जानकारी हुनुपर्छ ।”

डा राणाले कांग्रेसले आफ्नो परराष्ट्र नीतिमा पुनरावलोकन गर्नुपर्ने हो कि भनेर सोच्नुपर्ने सुझाव पनि दिनुभयो । विश्वभर धुव्रीकरण भइरहेको भन्दै यसमा ध्यान दिन उहाँले सुझाव दिनुभयो । “परराष्ट्र नीतिमा हामी पहिलेकै ठाउँमा छौँ कि यताउता भएका छौँ रु यस विषयमा स्पष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले विश्व नै धुव्र्रीकरण भएको समयमा मुलुकलाई असंलग्न नीतिमा कसरी राखिराख्ने हो त्यसमा ध्यान दिनु जरुरी छ”, उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया