काठमाडौ – प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मुलुकको समद्धिका लागि मौलिक कला र संस्कृतिको संरक्षण हुनुपर्ने बताउनुभएको छ ।

चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आज आयोजित १६ औँ वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा उहाँले स्रष्टाले सिर्जना गरेका कृतिलाई संरक्षण, सम्वद्र्धन र विस्तारमा लाग्नु सबैको साझा दायित्व हो भन्नुभयो । प्रमुख अधिकारीले साहित्य, संस्कृति र कलाले जीवनलाई सौन्दर्यता प्रदान गर्छ भन्नुभयो । 

प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदीले मानव सेवा नै सर्वोकृष्ट सेवा भएकाले यसमा सबैलाई समर्पित हुन आग्रह गर्नुभयो । उहाँले कम उमेरमै सामाजिक कार्यमा उल्लेखनीय योगदान दिनुहुने पोखराकी आठ वर्षीया बालिका प्रिन्शा रेग्मीले कोरोना महामारीबाट समाजलाई बचाउन मास्क, विद्यार्थीका लागि शैक्षिक सामग्री, खाद्यान्न, लत्ताकपडा वितरण गरेको र आगामी फागुन ८ गतेदेखि कल्थ बैंक सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सो अवसरमा रु एक लाख एक हजार राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य पुरस्कारबाट दामोदर पुडासैनी ९काठमाडौँ०, रु ५१ हजार राशिको  बालकिशन –नर्वदा मुन्दडा सनातन मानवीय धर्म संस्कृति पुरस्कारबाट प्रा डा विणा पौडेल, रु ५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता पुरस्कारबाट मोहन दुवाल, रु ५१ हजार राशिको भूपेन्द्र– शोभा रिजाल ललितकला चेतना पुरस्कारबाट माया पौडेल र रु ५१ हजार राशिको केदार–मन्जु सत्याल बाल चेतना पुरस्कारबाट आठ वर्षीया बालिका प्रिन्शा रेग्मी ९पोखरा० लाई सम्मान गरेको छ । 

पुरस्कार संरक्षक समाजसेवी दिनबन्धु गोयल, केदारनाथ सत्याल, बेनुगोपाल मुन्दडा, सुदनेश सुवेदी, भारत गुरागाईं, पुरस्कृत व्यक्तित्व मोहन दुलाल, दामोदर पुडासैनी, प्राडा वीणा पौडेल, माया पौडेलले मुलुकको कला साहित्यको संरक्षणमा प्रतिष्ठानको कार्य प्रशंसनीय रहेको बताउनुभयो 

तपाईको प्रतिक्रिया