काठमाडौं – कोरोना संक्रमण बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागूको निर्णय गरेका छन् । 

बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् ।

यसैगरी सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी जान रोक लगाइएको छ । र, त्यसरी जान पनि पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने छ । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।

तपाईको प्रतिक्रिया