काठमाडौं  – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई रानीपोखरीको स्वामित्व हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनर्निर्माणको काम सम्पन्न भएसँगै बिहीबार रानीपोखरी परिसरमा एक कार्यक्रम गरी प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महागरपालिकालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणमा विभिन्न कारणले ढिलाई भएको बताएका छन् । शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको जानकारी दिए ।  

पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले रानीपोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र सौदर्यीकरण, बालगोपालेश्वर मन्दिर, पुल लगायतका संरचना निर्माणको काममा थप १७ करोड ४५ लाख गरी करीब २६ करोड खर्च भएको जानकारी दिए । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्दा खुशी लागेको बताइन् ।

तपाईको प्रतिक्रिया