काठमाडौं – केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है ! बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन। ‘कानुनी प्रक्रिया पुर्याएरै दर्ता गर्छन्। तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘बजार निरीक्षण गर्न गयौं। शंका लाग्यो। प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार पाइएन।’
विभागमा मंगलबार व्यवसायीहरू फाइल बोकेर यताउता गरिरहेका थिए। वरिष्ठ औषधि व्यवस्थापक केसीको टेबलको आधा भागमा फाइलको चाङ थियो। केसी तिनै फाइलमा हस्ताक्षर गरिरहेका थिए।
कतिपयले विभागमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेका छन्। अन्नपूर्ण खोज ब्युरोको सम्पर्कमा आएका केही व्यवसायीसँग दर्ता नम्बर माग्दा उनीहरूले आनाकानी गरे। कति होलान् यस्ता कम्पनी ?
नाम उल्लेख नगर्ने सर्तमा विभागका एक निरीक्षक भन्छन्, ‘स्यानिटाइजरको खोलमा ठेगाना नै हुँदैन। सम्पर्क नम्बरसमेत हुँदैन। त्यस्तोलाई कहाँ खोज्ने ? कसरी कारबाही गर्ने ? बजारमा भएको स्यानिटाइजर गुणस्तरीय छ कि छैन भनेर उपभोक्ता आफैं चनाखो हुनुपर्छ।’
अधिकांश उपभोक्ता स्यानिटाइजर र मास्कको गुणस्तरबारे हेक्का राख्दैनन्। तर, चिकित्सक एवं स्वास्थ्यकर्मी डराई–डराई त्यसको प्रयोग गर्छन्। अनि, बिरामीको उपचारमा जुट्छन्। ‘बिरामीले घसेको वा लगाएको मास्कको के ग्यारेन्टी छ र ? हेक्का नराख्ने हो भने बिरामीबाट हामी र हामीबाट बिरामीलाई पनि कोरोना सर्न सक्छ’, त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक भन्छन्, ‘मास्क र स्यानिटाइजर लगाउँदैमा ढुक्क हुन सकिँदैन।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली पनि दिनहुँ स्यानिटाइजर दल्छन्। मास्क लगाउँछन्। तापनि ढुक्क छैनन्। किन त ? ‘बजारमा जस्ता पनि (गुणस्तरहीन) स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती छन्’, डा. ज्ञवाली भन्छन्, ‘उत्पादन अनुमति दिएर मात्र भएन। अनुगमन र कारबाही पनि गर्न जरुरी छ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
विभागले कोरोना महामारी उत्कर्षमा रहेका बेला गत वर्ष पटक–पटक अनुगमन गर्दा मापदण्डविपरीतका स्यानिटाइजर बरामद गरेको थियो। विभागका सूचना अधिकारीसमेत रहेका केसी २० कम्पनीका उत्पादन गुणस्तरहीन पाइएको सुनाउँछन्। एक निरीक्षक भन्छन्, ‘विषाक्त रसायन (मेथानोल) मिश्रित ह्यान्ड स्यानिटाइजर पाइयो।’ राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा २० कम्पनीका उत्पादन प्रयोग गर्नै नहुने पाइएको थियो। केसी भन्छन्, ‘विषाक्त रसायन (मेथानोल) समावेश भएको र मापदण्डविपरीतका समिश्रण पाइएकाले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने हुँदा बिक्रीवितरण रोक्का गरियो।’ विभागले त्यस्ता उत्पादन प्रयोग नगर्न÷नगराउन सूचना जारी गरेको थियो। निरीक्षण महाशाखाकी वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकार मापदण्ड पूरा नगरेका ११ व्यवसायीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको बताउँछिन्।