काठमाडौं – काठमाडौं उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थपिएको आदेश सोमबार बिहान १ बजेदेखि लागू हुनेछ । आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाउने उल्लेख छ । यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा/जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाइने तथा नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल भने साँझ सात बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेण्ट तथा फाष्टफुड तथा अन्य अडरहरूको हबकमा टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

तपाईको प्रतिक्रिया