पोखरा – १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छँदै सम्पर्कविहीन बन्यो।

सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ। एकजना अझै हराइरहेको प्रहरीले बताएको छ। चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ। विमानमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मन नागरिक गरी २२ जना रहेका थिए।

आइतबार बिहान हराएको यो विमानको दिनभर खोजी गर्दा पनि पत्तो लागेको थिएन, विभिन्न अड्कलबाजी मात्र गरिएको थियो। त्यही अड्कलबाजी अनुसार खोज्दै जाँदा सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहाननजिकै सानोसरेको पहाडमा ठोक्किएर चकनाचुर अवस्थामा विमान फेला परेको थियो।

दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो। करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए। विमानमा रहेका २१ जनाको शव सोमबार बेलुकीसम्म फेला परेको उनले जानकारी दिए। ‘निकै ठुलो भीरमा विमान ठोक्किएको रहेछ, विमान टुक्राटुक्रा भए पनि आगलागी भने भएको थिएन। जसले गर्दा शव पहिचान गर्न सहज हुने अवस्था छ,’ उनले भने, ‘तर शवको अवस्था भने छियाछिया छ।’

विमान दुर्घटनास्थल पहिचान गर्न आइतबार दिनभर प्रयास गरेको भए पनि मौसम खराबीले सफल हुन सकेको थिएन। घटनास्थलकोे मौसम छिनछिनमा बदलिने गरेको प्रहरी निरीक्षक तामाङले बताए। ‘छिनछिनमा मौसम बदलिन्छ, तलबाट उडेको हेलिकोप्टर माथि पुग्न नपाउँदै बादलले ढाक्छ, त्यसले गर्दा समस्या भएको हो,’ उनले भने। उनका अनुसार दुर्घटनास्थल पहिचान गर्नका लागि गाउँलेले पनि निकै सहयोग गरे। स्थलमार्गबाट गएका गाउँले र हेलिकोप्टरबाट पुगेको सुरक्षाकर्मीको टिमले सोमबार बिहानैदेखि उद्धार सुरु गरेका थिए।

निरीक्षक तामाङका अनुसार दुर्घटनास्थलको करिब एक किलोमिटर परको समथर भेगमा हेलिकोप्टर अड्याएर उद्धार सुरु भएको थियो। हेलिकोप्टरबाटै घटनास्थलको रेकी गरेर बल्ल सुरक्षाकर्मी त्यहाँ पुगेको उनले बताए। ‘सोमबार बिहान पहिला घटनास्थल पहिचान ग¥यौं। हिजैदेखि अनुमान गरिएको ठाउँमा विमान खसेको रहेछ। त्यसपछि हेलिकोप्टरमा गएर उद्धार थाल्यौं,’ उनले भने, ‘करिब एक किलोमिटर परको केही समथर भागमा जसोतसो हेलिकोप्टर अड्याएर उद्धारमा खटियौं।’

मौसमका कारण बेलैमा उद्धार गर्न सकस भएको उनले बताए। उनका अनुसार यात्रु र चालक दलका सदस्यहरूको शव उत्ति टाढा थिएन। तर, उद्धारमा कठिनाइ हुँदा बेलैमा तल झार्न समस्या भएको तामाङले बताए। १० वटा शव सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ भने अरूको शव तल झार्ने तयारी भएको पनि उनले बताए। ‘मौसमले साथ दिएमा सबैको शव मुस्ताङ सदरमुकाम जोमसोम झार्ने हो,’ उनले भने। मृतकको शव पहिचान गरेर काठमाडौंमै परिवारका सदस्यलाई बुझाउने तयारी रहेको पनि उनले जानकारी दिए।

पोखराबाट उडान भरेको १२ मिनेटपछि विमान सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। को–पाइटल उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए। पोखरा टावरले जोमसोम टावरलाई विमान हस्तान्तरण गरेपछि लेतेको आकाशबाट एकपटक सम्पर्क गरेर विमान जोमसोम भ्याली छिरेको बताएर सम्पर्कविहीन भएको थियो। विमान सम्पर्कविहीन भएपछि जोमसोम विमानस्थलले पोखरालाई जानकारी गराएको थियो। सोमबार बिहान विमान फेला पारेलगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए।

उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनका अनुसार अप्ठ्यारो ठाउँमा दुर्घटनामा भएकाले उद्धारमा समस्या भएको छ। ‘कतिपय शव खोंचमा रहेकाले उद्धारमा कठिनाइ भयो। अप्ठ्यारो ठाउँमा दुर्घटनामा परेको र बेलाबेलाको मौसम परिवर्तनले उद्धारमा असहज भएको छ,’ उनले भने। उनका अनुसार घटनास्थल यतिसम्म अप्ठ्यारो छ कि डोरी लगाएर झुन्डिएर मात्र उद्धार गर्न र शव निकाल्न सकिन्छ।’

अप्ठ्यारो ठाउँ भएकाले पनि उद्धारमा समय लागेको उनले बताए। उनका अनुसार घटनास्थलको सबैभन्दा नजिकको गाउँ कोवाङ हो। जहाँको बस्तीसम्म पुग्न कम्तीमा ५ घण्टा पैदल हिँड्नुपर्छ। ‘डोरीमा झुन्डिएर खोजी गर्दा समय लागेको हो। मौसमले साथ दिएको भए सबैलाई भेट्टाउन सकिन्थ्यो तर मौसमले साथ नदिँदा ढिलाइ भयो,’ उनले भने, ‘सोमबार बेलुकीसम्म खोजिसक्ने लक्ष्य हो तर कठिन छ।’

दुर्घटनामा परेको विमान सुरुमा भेडी गोठालाले भेटेका थिए। त्यसपछि उनीहरूले फोटो खिचेर प्रहरी र स्थानीयलाई खबर गरेका थिए। उद्धारकर्ताका अनुसार विमानमा आगो लागेको छैन।

मौसम बदली भइरहँदा भेटिएका शव पनि तल झार्न समस्या भएको थासाङ गाउँपालिका–२ का अध्यक्ष गौतम शेरचनले बताए। उनका अनुसार बादल लाग्ने र खुल्ने गर्दा हेलिकोप्टर पनि आउजाउ गर्न असहज भएको छ। विमान दुर्घटनामा परेको ठाउँ गत वर्ष हिमपहिरो झरेको ठाउँ नजिकै पर्छ। जहाँ भिरालो घाँसेमैदान र चट्टाने पहरो रहेको उनले बताए। ‘हिउँदमा चौंरी चर्ने ठाउँ हो। जहाँ मानवीय पहुँच निकै नै कम छ,’ उनले भने, ‘पैदल जान सकिन्न। त्यही भएर हेलिकोप्टरको विकल्प छैन।’ जोमसोम विमानस्थलका अनुसार सम्पर्कविहीन हुनुअघि विमान कमान्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेले लेतेमाथिको आकाशबाट जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरसँग हावाको गतिको विवरण मागेका थिए।

जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा रहेको घिमिरेले बताएका थिए। जोमसोम विमानस्थल ९ हजार फिट उचाइमा छ। तर, हावाको विवरण दिएलगत्तै सम्पर्कविहीन भएको विमान झन् बढी उचाइमा पुगेर चट्टानमा बजारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको भनाइ छ।

प्राधिकरणका एकजना पदाधिकारी भन्छन्, ‘जोमसोम विमानस्थलसँग सम्पर्क टुटेलगत्तै विमान बायाँ मोडिएर पहाडमा ठोक्किन पुगेको देखिन्छ। सम्पर्कविच्छेद हुनासाथ विमानले बाटो बिराएको अनुमान छ।’ ती पदाधिकारीका अनुसार ताराको यो विमानभन्दा तीन मिनेटअगाडि यही रुटमा समिट एयरको विमान थियो। समिटको विमान पोखराबाट ९ बजेर ५२ मिनेटमा उडेको थियो, ताराको ९ बजेर ५५ मिनेटमा उडेको थियो । आजको नागरिक दैनिकमा समाचार छ।

‘तीन मिनेटअगाडिको विमान सकुशल जोमसोम पुग्यो तर पछिपछि गएको ताराको विमानले सम्पर्क गुमाएपछि बाटो बदल्यो,’ ती पदाधिकारीले भने, ‘तीन मिनेटको अन्तरमा मौसममा बदली आएको पनि हुनसक्छ वा हावाको झड्कामा पनि परेको हुनसक्छ।’ तीन मिनेटको अन्तरमा दुईवटा विमानमध्ये पछाडिको विमानलाई मात्र अप्ठ्यारो आएको उनले बताए। ‘सम्पर्क टुटेपछि विमानले सन्तुलन गुमाएर उचाइ बढाएको हुनसक्ने अनुमान छ। तर, त्यो सबै अध्ययन टिमले बताउनेछ,’ उनले भने।

यो विमानले पोखरा–जोमसोम रुटको अप्ठ्यारो खण्ड भने पार गरिसकेको थियो। अप्ठ्यारो खण्ड पार गरेर जोमसोमसँग एकपटक सम्पर्कमा आएपछि विमानको सम्पर्क टुटेको थियो। ‘अप्ठ्यारो खण्ड पार गरिसकेकाले सम्पर्कविहीन हुनुमा त्यो कारण होइन,’ उनले भने, ‘तर विमानले दिशा परिवर्तन गर्दै उचाइ लिएको देखिन्छ। मौसमको खराबीले मात्र यो सबै नहुन सक्छ।’

तपाईको प्रतिक्रिया