काठमाडौं – नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आज देखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ । नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया