काठमाडौं – शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको १२ दिने नेपाली भाषा उद्घोषण तालिम सम्पन्न भएको छ । शेर्पा संघ दक्षिण कोरियाको आर्थिक सहयोगमा शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको १२ दिने उद्घोषण तालिम प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामा शेर्पाले समापन गर्नु भएको हो ।

तालिममा विभिन्न जिल्लाका शेर्पा र गैर शेर्पा गरि ३८ जना युवाहरूको सहभागीता रहेको कार्यक्रम संयोजक ल्हमु शेर्पाले बताउनुभयो ।तालिमको सहजीकरण शेर्पा सञ्चार समूह नेपालका निवर्तमान अध्यक्ष पत्रकार तथा कार्यक्रम संचालिका निम्लेकी शेर्पाले गर्नुभएको थियो । सो अवसरमा शेर्पा समुदायबाट नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नियुक्त हुनुभएका एक जना र प्रहरी सहायक निरीक्षक दुई जनालाई संस्थाले सम्मान गरिएको महासचिब डोल्मा शेर्पाले बताउनुभयो ।

कार्यक्रमको बोल्नु हुँदै प्रमुख अतिथि जिपछिरिङ शेर्पा लामाले युवाहरूलाई व्यक्तित्व विकास गर्ने कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले उद्घोषण तालिमले व्यक्तिको क्षमता अभिवृद्धि र बोल्ने कलाको विकास हुने भन्दै यो सबैले सिक्न जरुरी रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि आदिवासी पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नेलाई उद्घोषणको पनि महत्वपूर्ण भूमिका हुने र अब बोल्ने मात्र नभई लेख्ने बानीको पनि क्षमता वृद्धि गर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा लाग्न चाहनेहरुलाई आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जेन शेर्पा लामाले सम्पूर्ण शेर्पाहरुले आफ्नो हक–अधिकारको बोल्नुपर्ने हुँदा यसको लागि सञ्चारको तालिम निकै प्रभावकारी भएको बताउनुभयो । सञ्चारले ओखलढुंगा, रामेछाप, ताप्लेजुङ, खेटाङ, झापा र सोलुखुम्बु जिल्लामा समेत शाखा विस्तार गरि विभिन्न कार्यक्रहरु आयोजना गर्दै आएको अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो ।

सञ्चार क्षेत्रमा शेर्पाहरुको सहभागिता र उत्प्रेरण साथै संगठित गराउन एक दशक अघि स्थापना भएको शेर्पा सञ्चार समूह नेपाल अहिले संस्थाको लक्ष्य प्राप्तीमा निरन्तर सफल भइरहेको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो ‘विधि र विधान अनुरुप निर्वाचित भएको कार्यसमितिले समूदाय संगसंगै संस्थाको विकास तथा विस्तारमा निष्पक्ष र तटस्थ भएर संस्थाका पदाधिकारीहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नेछौँ ।’ शेर्पा सञ्चार समूहले समाचार लेखन, उद्घोषण, फोटो पत्रकारितालगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ६ जिल्लामा शाखा विस्तार समेत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया