हेटौंडा – नेपाली राजनीतिक इतिहासमा बेलाबेला चर्चा भइरहने घटना हो, नख्खु जेल ब्रेक । ४४ वर्षअघि नख्खु जेल तोडेर भाग्नेमध्येका एक कम्युनिस्ट नेता वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित ७० वर्षीय लामाको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी नियमित डायलसिस गराइरहेका थिए । 

नख्खु घटनालाई अझ स्मरणीय बनाउन लामाले सपना बुनेका थिए, जेल ब्रेक गरेर लुकेको स्थानमा नमुना सुरुङसहितको मैत्रीपार्क बनाउने । मकवानपुरको इन्द्रसरोवर–४ फाखेलस्थित पलेमले डाँडामा बन्ने पार्कका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । उनी यही योजना पूरा गराउन लागिपरेका थिए ।

२०३३ चैत १२ मा उनीसहित तत्कालीन मालेका महासचिव सीपी मैनाली, प्रदिप नेपाल, गोपाल शाक्य, माधव पौडेल, नारद वाग्लेलगायत १५ जना जेल ब्रेक गरी भागेका थिए । तीमध्ये १३ जना पलेमले डाँडाको जंगलमा एक महिनासम्म लुकेर बसेका थिए । ‘नख्खु जेलमा रातारात सुरुङ खन्ने काममा उहाँ अग्रसर हुनुभयो,’ वाग्मती प्रदेशसभा सदस्य माधव पौडेलले भने, ‘सुरुङ खनेर भाग्नुपर्छ भन्ने विचार लामाजी र मेरोमात्र थियो । अरू साथीहरू जेलको ढोकामा रहेका सेन्ट्रीको आँखामा खुर्सानीको धूलो र बालुवा हालेर बन्दुक खोसेर भाग्नुपर्छ भन्ने योजनामा थिए । पछि महासचिव मैनालीको निर्देशनअनुसार लामाजी र मैले सुरुङ खन्ने काम थाल्यौं, अरू साथीहरूले पनि साथ दिनुभयो ।’ पौडेलका अनुसार लामा रातभर सुरुङ खन्ने काममा खटिन्थे, दिनभर सुत्थे । एक महिनामा ६५ हात लामो सुरुङ खनेपछि त्यहींबाट उनीहरू भागेका थिए । ‘जेलमात्र तोडिएन नेताहरूलाई महिनौं दिन आफ्नो गाउँमा सुरक्षित साथ राख्न उहाँ (लामा) सफल हुनुभयो,’ पौडेलले भने ।

आफ्नो विचार हक्कीसाथ राख्ने लामालाई २०३२ वैशाख १९ मा अन्तर्राष्ट्रिय मई दिवसका दिन प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । झापा संघर्षको समर्थन गर्दै राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा पर्चा छर्ने क्रममा उनी समातिएका थिए । उक्त पर्चा काठमाडौंस्थित कोरियाली दूतावासमा तयार गरिएको थियो । पक्राउ पर्नुअघि लामा दूतावासमा जागिरे थिए । प्रदिप नेपाल, राजेन्द्र पाण्डे, माधव पौडेल, गोपाल शाक्यलगायत मिलेर मुस्लो नामको संगठन खोलेका थिए । त्यही संगठनका नाममा काठमाडौंमा पर्चा छरिएको थियो । पर्चा छरेकै कारण अदालतले लामालाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । कैद भुक्तानी गर्ने क्रममा नै भद्रगोल जेल हुँदै पौडेल, नेपालसहित लामालाई पनि नख्खु जेल पुर्‍याइयो । त्यहीं मैनालीलगायत अरू नेतासँग लामाको भेट भएको थियो ।

नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने लामालाई श्रमजीवी वर्गबाट आएका इमानदार कम्युनिस्ट भन्न रुचाउँछन् । उनले भने, ‘उहाँकै अगुवाइमा २०३७ सालमा फाखेलमा बसेको मालेको केन्द्रीय समिति बैठकले क्रान्तिको नयाँ कार्यदिशा पारित गरेको थियो ।’

लामा २०४९ मा मकवानपुर जिल्ला विकास समितिका सभापति भए । उनकै पहलमा कुलेखानी, फाखेल–फर्पिङ सडक निर्माण भएको हो । भीमफेदी हुँदै कुलेखानीसम्म १६ किमि सडक विद्युत् प्राधिकरणले निर्माण गरेको थियो । उक्त सडकमा प्राधिकरणबाहेक अन्य सवारी चल्न पाउँदैनथे । लामाको अगुवाइमा उक्त सडक सबैका लागि सहज पारिएको थियो ।

२०५६ को प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट लामा निर्वाचित भए । जिविस सभापति र सांसद हुँदा पनि उनको आर्थिक रूपले जीवनस्तरमा कुनै फेरबदल आएन । आर्थिक अभावकै कारण उपचार गर्नसमेत समस्या भयो । परिवारले उपचारमा सहयोग गरिदिन सरकारसँग आग्रह गरेका थिए । सहयोग पाएनन् । ‘सरकारसँग अनुरोध गरेका हौं तर सुनुवाइ भएन,’ छोरी श्रमिक लामाले भनिन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

२०६८ मा नेकपा एमाले छाडेर संघीय समाजवादीमा लागेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन् । उनको शव काठमाडौंको स्वयम्भूस्थित एक गुम्बामा राखिएको छ । रोजगारीका लागि खाडी मुलुक गएका कान्छा छोरा आएपछि बुधबार मात्रै उनको अन्त्येष्टि गरिने इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । इन्द्रसरोवर–४ फाखेल निवासी लामाका श्रीमती, तीन छोरी र दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!