Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

(कञ्चनपुर) – भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आसमा माल परिवारले ६ वर्षअघि छोरालाई बिदाइ गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन् । नाम फेरिएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ । 

भारत पस्दा १८ वर्षका थिए । त्यहीँ दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रोलिंगीहरूको समूहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो । रेलवे स्टेसन र बसपार्कमा माग्न लगाइयो । सुरेन्द्रका अनुसार मेरठ बस्ने इलियास नामका व्यक्तिले उनको यो अवस्था बनाएका हुन् । इलियासले नै उनको कमाइ खान्छन् । ‘मागेर ४०/५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो,’ न्याय माग्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका सुरेन्द्रले भने, ‘मलाई माग्ने बनाउनकै लागि लिंग काटेर फाल्न लगाइयो ।’
सुरेन्द्र ०७० वैशाख ४ गते भारत, उत्तराखण्डको हरिद्वार गएका थिए । त्यहाँ केही दिन बसेर कामको खोजीमा जम्मुकश्मीर हान्निए । एउटा रेस्टुरेन्टमा काम पाए । ६/७ महिनापछि त्यहीं एक नेपाली तेस्रोलिंगी भेटिए । उनले रेस्टुरेन्टको भन्दा बढी तलब दिने भन्दै आफू बसिरहेकै घरमा लगे । ६/७ महिनासम्म सुरेन्द्रले कुनै काम नगरी तलब बुझे । उक्त घरमा धेरै तेस्रोलिंगी आउँथे । उनीहरूले यौन क्रियाकलाप गरेको सुरेन्द्र नजिकैबाट नियालिरहेका हुन्थे । एक दिन उनलाई पनि लिंग परिवर्तन गर्न भनियो । त्यसपछि फुपाजुको सहयोगमा त्यहाँबाट भागेर उनी फेरि हरिद्वार पुगे । सुरेन्द्रका बुबा जयराज पनि देहरादूनलाई आधार बनाएर गाडी चालकको काम गर्थे । बुबाको सहयोगमा हरिद्वारमा काम खोजेर उनले कम्प्युटर कक्षा लिन थाले । एक महिनाजति हुँदै थियो, खाना खाएर सुत्ने तरखरमा थिए ।
कसैले ढोका ढकढक्यायो । उनले चिनिहाले तेस्रोलिंगीहरूको आवाज । ‘ढोका खोल्न नपाउँदै ३/४ जना भित्र पसेर जबर्जस्ती तानेर बाहिर निकाले, गाडीमा हालेर लगे,’ सुरेन्द्रले भने, ‘त्यसपछि फेरि जम्मुमै लगेर राखियो ।’२/३ महिना जम्मु बस्दा उनलाई डरधम्की देखाई विभिन्न कार्यालयमा लगेर कागजमा हस्ताक्षर गराइयो । एक दिन ‘पाकिस्तानले रोग सार्ने बम फालेकाले त्यसबाट जोगिन’ भन्दै सुई लगाइदिए । ५ दिनपछि होसमा आउँदा आफ्नो लिंग काटिएको थाहा पाए । उनी रुन थाले, तर डाक्टरले बढी रोए टाँका टुट्ने भन्दै फेरि बेहोस गराइदिए । होसमा आउँदा जम्मुमै थिए । त्यसपछि उनलाई तेस्रोलिंगीले गर्ने नाचगानजस्ता क्रियाकलापको प्रशिक्षण गराइयो । स्टेसनहरूमा पुगेर माग्न लगाइयो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
‘मेरो छोरा कसरी छोरी भई,’ आमा गंगादेवीले भनिन्, ‘जबर्जस्ती छोराको लिंग काटेर फाल्नेलाई कारबाही होस्, मलाई छोराको ठाउँमा छोरा चाहिन्छ ।’ परिवारमा सबैले आशाभरोसा गरेका सुरेन्द्रको जीवन बर्बाद भएको भन्दै गाउँलेसमेत तनावमा रहेको उनले बताइन् । सुरेन्द्र एक वर्षअघि पनि इलियास खानका छोरा नयुमसँगै घर आएका थिए । केही दिनमा इलियास आएर दुवैलाई लिएर गए । यसपटक पनि नयुम र सुरेन्द्र मेरठबाट भागेर आएका हुन् । उनीहरू आफूहरू प्रेममा रहेको बताउँछन् । सुरेन्द्र नयुमसँग विवाह गरेर यहीं बस्न चाहन्छन् । तर, माल परिवारलाई यस्तो स्वीकार्य छैन । ‘भारत जाउँ इलियासले मारिहाल्छ, यहाँ बसुँ समाजले दिँदैन, अब म के गरूँ ?’ जिल्ला प्रहरी कार्यालयमा सुरेन्द्रले रुँदै भने, ‘मेरो जिन्दगी बर्बाद गर्नेलाई कारबाही होस्, मलाई क्षतिपूर्ति चाहियो ।’ सुरेन्द्रका अनुसार भारतमा थुप्रै नेपालीलाई उनीजस्तै बनाएर जबर्जस्ती माग्न लगाउने गरिएको छ । इलियासले आफ्नो पोल खोलेको भन्दै नयुम र आफूलाई मार्ने धम्कीसमेत दिएको उनले बताए ।

तपाईको प्रतिक्रिया