Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ ।

एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी रूपमा बढी शुल्क लिने गरेका हुन् । कलेजहरूले संस्थागत निर्णय गरेर करोडौं रकम जम्मा पार्दा पनि विश्वविद्यालय बसेकाले मिलेमतो हुन सक्ने विद्यार्थीले आशंका गरेका छन् । विश्वविद्यालयको वेबसाइटमा एमबीबीएस अध्ययनका लागि लाग्ने शुल्क उल्लेख गरिएको छैन ।

बीडीएस अध्ययनका लागि सरकारले १९ लाख ३२ हजार शुल्क तोकेको छ । वेबसाइटमा २३ लाख २० हजार शुल्क तोकिएको छ । एमबीबीएस पढ्ने विद्यार्थीसँग कलेजहरूले ६० लाखसम्म शुल्क लिने गरेका छन् । ‘बिल भर्पाइ दिएर देखिने गरी लिने शुल्क ६० लाख हो,’ केयूअन्तर्गतको एक मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले भने, ‘कोर्स पूरा हुँदासम्म अनेक बहाना बनाएर ८० लाखदेखि १ करोडसम्म शुल्क लिन्छन् ।’ विद्यार्थीबाट लिने शुल्कको दर पनि फरकरफरक छ ।

सरकारले एमबीबीएस अध्ययन गर्न काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज ९केएमसी०, कान्तिपुर डेन्टल कलेज, भरतपुरको कलेज अफ मेडिकल साइसेन्स, नोबेल मेडिकल कलेज मोरङ, नेपालगन्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज पाल्पा, विराट मेडिकल कलेज विराटनगर, देवदह मेडिकल कलेज रूपन्देहीले शैक्षिक शुल्कको नाममा विद्यार्थीसँग अतिरिक्त शुल्क लिएर ठगी गरेको विद्यार्थीले गुनासो गरेका छन् ।

यी कलेजमा अध्ययनरत विद्यार्थीले बढी लिएको शुल्क फिर्ताका लागि पहल गरिदिन विश्वविद्यालयलाई आग्रहसमेत गरेका छन् तर सुनुवाइ भएको छैन । विद्यार्थीले दबाब समूह गठन गरेर शुल्क फिर्ताको पहल गरिरहेका छन् । शुल्क नतिरे आन्तरिक परीक्षामा फेल गरिदिने हुनाले विद्यार्थी खुलेर बोल्न सक्दैनन् । ‘समयमै शुल्क नतिरे विद्यार्थीलाई फेल गरिन्छ,’ केयूको स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलमा अध्ययनरत एक छात्रले भने, ‘पढाइमा अनेक अप्ठ्यारो पार्ने हुँदा बोल्ने सक्ने अवस्था छैन ।’

त्यही कारण बढी शुल्कको विषयमा स्थानीय जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न नसकेको विद्यार्थीको भनाइ छ । कलेजहरूले ४ किस्तामा गरेर ४९ लाख ९० हजार विद्यार्थीबाट लिन्छन् । सरकारले काठमाडौं उपत्यकाबाहिर ४२ लाख रुपैयाँ ३ किस्तामा लिने प्रावधान बनाएको छ । केयूले सम्बन्धन दिएका कलेजहरूले भर्नाका बेला २५ लाख लिन्छन् । ५० र २५र२५ प्रतिशतको किस्ता प्रणाली पनि उल्लंघन गरिएको छ । पहिलो, दोस्रो र तेस्रो वर्षमा क्रमशः ८ लाख ३० हजारका दरले रकम असुल्ने गरिएको छ ।

कलेजहरूले इन्टर्नसिप शुल्कबापत ३ लाख ४० हजार, डेभलपमेन्ट फि भनेर ३ लाख, परीक्षा शुल्कबापत ७५ हजार, फिल्ड भिजिट एक लाख २० हजार, डिपोजिट रकम एक लाख, इन्सुरेन्स चार्ज ३० हजार, भर्ना फाराम, पुस्तकालयलगायत शुल्क लिने गरेका हुन् । विभिन्न कलेजबाट प्राप्त बिलभर्पाइ, बैंक भौचर र कागजातमा शुल्क शीर्षक र शुल्क दर फरकरफरक रहेको छ । यी शुल्क होस्टल र खाना खर्चबाहेक हुन् ।

कलेजहरूले गरेको बदमासी काठमाडौं विश्वविद्यालयले ढाकछोप गरिदिने गरेको विश्वविद्यालयका एक पूर्वपदाधिकारीले बताए । विश्वविद्यालयले बढी शुल्कको विरोध गर्ने विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा फेल गराउने गरेको जानकारहरू बताउँछन् ।
उनीहरूसँग पुनः परीक्षाका नाममा एक लाख ६५ हजारसम्म शुल्क लिइन्छ । ती पदाधिकारीले भने, ‘मेडिकल कलेजले मागेजति रकम नबुझाउने विद्यार्थी प्रयोगात्मक परीक्षामा फेलहुन्छन्, विश्वविद्यालयले नै संरक्षण गरेका कारण विद्यार्थी अभिभावक अतिरिक्त रकम बुझाउन बाध्य छन् ।’

केयू मेडिकल साइन्सेसका डिन राजेन्द्र कोजूले सरकारले तोकेभन्दा बढी शुल्क लिएको गुनासो आएको स्वीकार गरे । ‘तोकेकोभन्दा बढी शुल्क लिन पाइँदैन, शिक्षा मन्क्रालयको निर्देशनअनुसार अतिरित्त रकम लिएको भए फिर्ता गराउन भनेका छौं,’ उनले भने । शिक्षा मन्क्रालयले चैत ९ गते मेडिकल कलेजले लिएको अतिरित्त शुल्क एक महिनाभित्र फिर्ता गर्ने निर्णय गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयसहित काठमाडौं विश्वविद्यलायबाट सम्बन्धन पाएका कुनै पनि मेडिकल कलेजले अहिलेसम्म शुल्क फिर्ता गरेका छैनन् । यसैबीच संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरूमाथि छानबिन गर्न गठन गरेको उपसमितिले बढी शुल्क लिएको विषयमा प्रमाणसहित उजुरी दिन आहवान गरेको छ । उपसमितिले सार्वजनिक सूचना प्रकाशित गरेर उजुरी र गुनासो दिन विद्यार्थी र अभिभावकलाई आहवान गरेको हो । -कान्तिपुर 

तपाईको प्रतिक्रिया