Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडाैं – सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल, काठमाडौंको आयोजना तथा अनुशीलन कला पाठशाला, पोखराको सह-आयोजनामा कास्कीको पोखरामा जारी ५ दिने “राष्ट्रिय नृत्य निर्देशक कार्यशाला-२०७५” मंगलबार सम्पन्न भएको छ । देशका सातैवटा प्रदेशबाट करिव ६० जना भन्दा बढी लोकनृत्य निर्देशकहरूकाे सहभागीता रहेकाे कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि माननीय किरण गुरुङज्यूले गर्नु भएकाे थियाे ।  न्यू ईरा पार्टी प्यालेसमा भएको पहिलाे दिनकाे उद्घाटन कार्यक्रम पश्चात दाेस्राे दिनदेखि समापन सम्मकाे कार्यपत्र प्रस्तुति र छलफल कार्यक्रम लेकसाइडकाे होटल डाँफेमा भएको थियो।

 

कार्यशाला प्रत्येक दिन विहान ७:३० देखि बेलुका ६:३० सम्म संचालन भएको थियो । कार्यशाला दिनको ३ चरणमा विभाजन गरि प्रत्येक चरणमा ५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुतिको पहिलो दिन चर्या विज्ञ अरुण श्रेष्ठले नेपाली लोकनाचको परिभाषा सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अरुण श्रेष्ठको कार्यपत्रमा लोकनाच के हो ? केलाई लोक नाच भन्ने ? लोकनाचको शुरुवात कहाँबाट भएको हो र कसरी हुन्छ ? भन्ने विषयमा छलफल भएको थियो त्यसपछि क्रमश: नगेन्द्र राईको साकेला, खौमा र ओहाङ नाच, सुरेन्द्र देसारको चर्या नृत्य, तुल्सी प्रभासको बालन नृत्य, अनु रजकले थारु समूदायको झर्रा नृत्य, कुलमान नेपालीको सुर्खेती झ्याउरे नृत्य, सुनिल सुवेदीले झुमरा नृत्य, रोमित कर्माचार्यले लाप्चा जातीको लोपोन्मुख परम्परागत नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

त्यसपछि कार्यपत्रको दोस्रो दिनमा क्रमस: लोकचन्द्र श्रेष्ठले सन्थाल जातीको सतार नृत्य, पदमराज ढकालको सोरठि नृत्य, नगेद्र राईको डोकिनी र साकेन्वा लाक्छाम नृत्य, सन्दिप मण्डलको सामाचकेवा नृत्य, हर्क आलेको कौरा नृत्य, गोरन बहादुर चौधरी र सुभचन्द्र सुवेदीको सख्या/पैयाँ नृत्य, ‌ओमप्रकाश बस्नेतको भानदान नृत्य, प्रितम लिम्बुको केलाङ नृत्य र पर्वत राईले चेपाङ जातीको झाक्रि नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।त्यसपछि क्रमशः तेस्रो शत्रमा कल्याण राना मगरले सोरठि नचरी नृत्य, विकास घले गुरुङले नेपाली नृत्यको शैदान्तिक ज्ञान, तेजप्रसाद सिवाकोटिले विर्जा समूदायको डमकच नृत्य, प्रतिभा पुन मगरले म्याग्दी जिल्लामा बसोवास गर्ने मगर समूदायको पूर्खौली नृत्य र गम बहादुर गुरुङ्गले कृष्ण चरित्र नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।त्यसैगरी कार्यपत्र प्रस्तुतिको क्रममा तेस्रो दिन अमन गुप्ताले मेचे समूदायको नाच, सन्तोष मगर र भुपेन्द्र रिखाम मगरले मगर जातीमा प्रचलित हुर्रा नाच, पवित्रा खड्काले तामाङसेलो नृत्य, प्रेम सुनामले मोरङ जिल्लामा प्रचलित लोक नृत्यहरुको बारेमा, अनु रजकले मुसहर समूदायको हुरका नृत्य, तुल्सी प्रभावले नेवारी समूदायको छाङछाङदि नाच, सुवेक्षा मेयाङवोले लिम्बु जातीको धान नाच, ‌ओमप्रकाश बस्नेतले विदापद नृत्य, चिना नेपालीको हुड्केली नृत्य, अमित प्रसाईले हुदुलधुरा नृत्य, नगेन्द्र राईले स्यादर पिदार र धिमाल नृत्य, हर्क आलेले झाम्रे नृत्य र मनोज राजवंशीले झिझिया, विदापद नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अन्तिम दिन चिना नेपालीको छलिया नृत्य, सुलप खतिवडाको लाप्चा जातीको तेन्दोङ लार्फाक नृत्य, विकास घले गुरुङ्गको पैस्यारु नृत्य, नगेन्द्र राईको सेग्रो नृत्य र गोरे गुरुङ्गको घाटु नृत्य विषयको कार्यपत्र प्रस्तुति सँगै कार्यक्रम समापन भएको थियो । समापन कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो । कार्यशालाको समापन कार्यक्रममा सातैवटा प्रदेशका सदस्यहरु रहनेगरी राष्ट्रिय नृत्य निर्देशक महासंघ नेपालको घोषणा गरिएको छ ।

महासंघको घोषणासँगै चयन गरिएको कार्यसमितिको अध्यक्षमा गण्डकी प्रदेशका गोरे गुरुङ्ग,  उपाध्याक्षमा प्रदेश नं. ३ का सञ्जय शर्मा राजोपाध्याय,  महासचिवमा प्रदेश नं. १ का नगेन्द्र राई, सचिवमा प्रदेश नं. ५ का विकास घले गुरुङ्ग, कोषाध्याक्षमा प्रदेश नं. ५ कै अनु रजकलाई चयन गरेकाे छ भने सदस्यहरुमा प्रदेश नं. १ बाट लोकचन्द्र श्रेष्ठ, ओमप्रकाश बस्नेत र प्रनिसा उदास, प्रदेश नं २ बाट धिरज ठाकुर र सन्दिप मण्डल, प्रदेश नं ३ बाट सुरेन्द्र देसार, भावना कार्की र कल्पना राजचल, प्रदेश नं ४ बाट गम बहादुर गुरुङ्ग र राज बहादुर गुरुङ्ग, प्रदेश नं ५ बाट प्रियंका थापा र सुन्दर गुरुङ्ग, कर्णाली प्रदेशबाट कुलमान नेपाली र खिम बस्याल, सुदुरपश्चिम प्रदेशबाट सुनिल सुवेदी र चिनाराम नेपाली सदस्यमा चयन हुन सफल भएका छन् ।

 

 

त्यसै गरी राष्ट्रिय नृत्य निर्देशक महासंघ नेपालको सल्लाहकारमा चर्या विज्ञ अरुण श्रेष्ठ, नेपाली चलचित्र क्षेत्रका वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक राजु शाह, वरिष्ठ लोक नृत्य निर्देशक प्रेम सुनाम, वरिष्ठ लोक नृत्य संकलक रोचक थापा र सांस्कृतिक संस्थानका नृत्य शाखा प्रमुख शारदा सिलवाल रहनु भएको छ ।

राष्ट्रिय नृत्य निर्देशक महासंघ नेपालकाे कार्यसमितिमा चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना दिनुहुदै वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, राजु शाह, अरुण श्रेष्ठले नृत्य र नृत्य कलाकारको हकहित सुनिश्चित गर्नका निम्ति महासंघले नृत्य कलाकारहरुलाई उचित मार्गदर्शन प्रदान गर्ने कुरामा जोड दिनुपर्ने बताउनु भएको थियो साथै नृत्य विधालाई पाठ्यक्रम भित्र समावेश गरी नृत्य निर्देशकहरुको जीवनस्तर उकास्ने कार्यमा अगाडि बढ्न सुझाव दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया