Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’ लाई रोक नलगाउन निर्देशन दिएका छन् ।

उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीरमहासेठलाई निर्देश गरेका हुन् ।

मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले मन्त्री महासेठलाई यस्ता विषयहरूमा ‘ह्याभोक क्रिएट’ नगर्न भनेका हुन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बुधबार साँझ राष्ट्रिय योजना आयोगको बैठकमा यातायातमन्त्री महासेठ पनि पुगेका थिए ।

त्यहीं प्रधानमन्त्रीले टुटल र पठाओको विषयमा मन्त्रीसँग कुरा गरेका थिए । उनले बैठकमा सहभागी अन्य व्यक्तिहरूकै अगाडि बाहिर अनावश्यक ‘ह्याभोक’ सिर्जना हुने कुनै काम नगर्नुस् भने । कुनै मोटरसाइकलमा सवार व्यक्ति यात्रु हो कि परिवारको सदस्य हो कि त्यसको जाँच गर्ने के संयन्त्र छ रु भन्दै प्रधानमन्त्रीले यसलाई अहिले यथास्थितिमा राख्न निर्देश गरेको स्रोतले बताएको छ । यसअघि मदिराजन्य पदार्थको उत्पादन रोक्ने लगायतका विषयमा पनि कुनै निर्णय नभईकन बाहिर गलत खालको हल्ला चलेको प्रसंग उठाएका थिए ।

टुटल र पठाओलाई रोकेपछि यसको बारेमा बरु व्यवस्थित नीति बन्नुपर्ने, नियन्त्रण गर्न नहुने धारणा सामाजिक सञ्जालहरूमा आएको थियो । यसको सेवा लिइरहनेहरूले महँगो ट्याक्सी, सवारी जामका कारण झेल्नुपरिरहेको समस्यामा टुटल र पठाओ किफायती र सजिलो सेवा भन्दै व्यवस्थित बनाउन माग गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकलमा यात्रु ओसार्ने टुटल र पठाओलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । रातो प्लेटका सवारीसाधनले यात्रु ओसार्नु अवैधानिक हुने भएकाले कानुनी वैधता नपाएसम्म सञ्चालन गर्न नदिइने मन्त्रालयको तर्क थियो ।

‘सरकारलाई थाहा नदिई अवैधानिक रूपमा सञ्चालन गर्न पाइँदैन,’ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘प्रक्रिया पुर्‍याएर मात्र चलाउनुपर्छ ।’ कुनै काम गर्नुअघि विधि र प्रक्रिया पुर्‍याउनुपर्ने भन्दै उनले यातायात व्यवस्था विभागमा कानुनी प्रक्रिया पुर्‍याउनुपर्ने बताए । ‘यात्रुले सेवा पाएको भन्दैमा गैरकानुनी रूपमा सञ्चालन गर्न पाइँदैन,’ उनले भने, ‘पूर्ण रूपमा बन्द गर भनेर यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘विदेशीको नक्कल गरेर अवैधानिक रूपमा चलाउन पाइँदैन ।’

ती कम्पनीले हालसम्म सरकारलाई झुक्याएर चलाएकाले प्रश्न उठेको बताए । सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओको सेवामा ट्राफिक प्रहरीले सोमबारबाटै रोक लगाइसकेको छ । टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका छन् ।

मोटरसाइकलबाट यात्रु ओसार्न मिल्ने व्यवस्था कानुनमै नभएको ती अधिकारीले बताए । ‘यात्रु ओसार्न मिल्दैन, त्यसका लागि कानुन चाहिन्छ । अवैधानिक बाटो समात्न पाइँदैन,’ उनले भने, ‘विधि र प्रक्रिया पुर्‍याउनुपर्छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले टुटल र पठाओले सेवा राम्रो दिए पनि कानुनी रूपमा अवैधानिक भएको बताए ।

तपाईको प्रतिक्रिया