Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं -एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ। र, त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् ।

सीमा भन्छिन्, ‘एसिडको जलन विस्तारै घटे पनि त्यसको दागले जीवनभरि पोलिरहन्छ ।’ जतिपटक आफ्नो अनुहार ऐनामा हेर्छिन्, एसिडको रापले उस्तै पोल्ने गरेको अनुभव गर्छिन् उनी। सीमा भन्छिन्, ‘मानसिक, शारीरिक र आर्थिक रूपमा एसिड पीडितलाई सधैं हौसलाको खाँचो पर्छ। आफूले नपाएको साथ म अरू दिदीबहिनीलाई दिन चाहन्छु ।’

करिब २० दिनअघि रौतहटमा एसिड आक्रमणमा परेका दिदीबहिनी सम्झना र सुस्मिता दासलाई उपचार खर्च जुटाउन सीमा हरेक दिन सक्रिय रूपमा लागेकी थिइन्। उपचार गर्दागर्दै सम्झनाको मृत्यु भयो। सुस्मिता भने कीर्तिपुर अस्पतालमै उपचार गराइरहेकी छन्। हरेक दिन अस्पताल जाने बिरामीको सहयोगमा जुट्ने, परिवारलाई सहयोग गर्ने काममा उनी तल्लीन छिन् ।

सम्झनाको मृत शरीरसँगै उनी जब रौतहट पुगिन्। बाग्मती किनारमा सम्झनाको परिवारसँगै लास जलाउन लाग्दा उनको मोबाइलमा एउटा कारुणिक म्यासेज आयो। डाटा खोलेर समाचार हेरिन्, नवलपरासी डण्डाकी २८ बर्से वसन्ती परियारलाई एसिड खन्याएर चक्कु प्रहार गरी अनुहार क्षतविक्षत पारिएको खबर थियो ।

उनी भन्छिन्, ‘त्यो खबरले एकछिन त केही बोल्नै सकिनँ, सोच्न थालेँ, कहिलेसम्म खुल्लमखुला चलिरहने हो यो एसिड आक्रमण ? कति जना कुरुप भएर बाँच्नुपर्ने हो ? यसविरुद्ध अब केही गर्नै पर्छ भन्ने अठोट लिएँ ।’

उनी सोही दिन काठमाडौं फर्किइन्। केही खर्चको जोहो गरिन्। अर्को दिन भरतपुर अस्पताल पुगिन्। जहाँ वसन्तीको उपचार गराइँदै थियो। वसन्तीको अनुहार हेर्न नसक्ने अवस्थामा थियो। एसिड प्रहार भएको अनुहारमा चक्कुको आक्रमणले एउटा आँखा पूरै ड्यामेजजस्तै देखिन्थ्यो। सीमा भन्छिन्, ‘वसन्तीको अनुहार हेर्न नसकेर रुन मात्रै आयो मलाई ।’

सीमासँगै एसिड आक्रमणमा परेकी संगीता पुलामी मगर पनि चितवनसम्म सँगैं गएकी छन्। सीमासँग कुनै संघसंस्थाको सहयोग पनि छैन। आफ्नो छुट्टै कमाइ पनि छैन। अरूलाई सहयोग गर्ने एउटा निःस्वार्थी मन छ। तैपनि, जहाँ एसिड आक्रमणको घटना हुन्छ, सहयोग गर्न त्यहीँ टुप्लुक्क पुग्छिन् उनी । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

उनले एसिड पीडितलाई सहयोग गर्नु आफ्नो कामभन्दा पनि कर्तव्यका रूपमा बुझेकी छन्। पीडितलाई जीवित राख्नु आफ्नो कर्तव्य ठान्छिन् उनी। पैसा अभावमा कुनै एसिडपीडितले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने सोचसाथ आफूले काम गर्न खोजेको उनले बताइन् । नेपालमा एसिड जहाँतहीँ पाइने, खुलेआम व्यापार भइरहेकाले पनि अपराध बढिरहेको उनको बुझाइ छ। एसिड व्यापारमा सरकारले कडाइ गर्नुपर्ने र अपराधीलाई कडा सजाय हुनुपर्ने उनको माग छ। एसिड प्रहार गर्नेलाई फाँसी दिनुपर्ने उनको माग छ ।

तपाईको प्रतिक्रिया