काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन्। २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१  गते सोमबार भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुई जनामाथि गरिएको ‘इन्काउन्टर’ विवादमा परेको छ।

भक्तपुरमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफू ‘पपुलर’ हुन मात्रै गरेको देखिन्छ । आइतबार साँझदेखि अपहरणमा परेका बालक खड्कालाई प्रहरीले सकुशल अपहरणमुक्त गर्न सकेन । प्रहरीले बालकको अपहरणपछि हत्या गर्नेलाई पक्राउ गरी सूर्यविनायकको जंगलमा लगेर गोली हान्यो र त्यसलाई ‘इन्काउन्टर’ भनिदियो।

तामाङद्वय डेरा गरी बसेको भक्तपुरको ठिमीस्थित घरमा सोमबार बिहान ९ बजेतिर पुगेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुकै सहयोगमा बालकको शब बरामद गरेको थियो।

‘तीनवटा गाडीमा सादा पोसाकमा आएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । यहाँबाट ११ बजेतिर प्रहरी कार्यालयमा लगेका हुन’, गोपालका घरधनी श्याम लबटले भने । उनका अनुसार १०/१५ जनाको संख्यामा आएका प्रहरीले उनीहरुलाई समातेर लगेका थिए । १० बजेतिर प्रहरीले बालकको शव गाडेको अवस्थामा बरामद गरेको थियो।

अपराध महाशाखाले बालकको शव बरामद र अपहरणकारी नियन्त्रणमा लिएको जानकारी पाएपछि खोजीमा काठमाडौं परिसरबाट खटिएका प्रहरीलाई फिर्ता हुन महानगरीय प्रहरी आयुक्तको कार्यालयले आदेश दिएको थियो। आजको नागरिक दैनिकमा खबर छ ।

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा दिउँसो १२ः३० मा बालकको शव भेटिएको र १ः२० मा अपहरणकारी प्रहरीमाथि आइलागेका कारण इन्काउन्टर भएको उल्लेख छ । स्थानीय बासिन्दा तथा गोपालका घरधनीको दावीलाई आधार मान्ने हो भने प्रहरीको यो दाबी पत्यारिलो छैन ।

तपाईको प्रतिक्रिया