धादिङ, २१ साउन । काठमाडौं काँडाधारीका ११ वर्षीया निशान खड्को अपहरणपछि हत्या गर्ने व्यक्ति चिनजानकै व्यक्ति भएको खुलासा भएको छ ।

बालकको हत्या गर्ने दुई अपहरणकारी समेत सोमबार प्रहरी इन्काउण्टरमा मारिएका छन् । उनीहरुको दोहोरो फायरिङमा मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुरको सूर्यविनायकमा उनीहरु मारिएका हुन् । अपहरणकारी अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउण्टरमा मारिएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

उनीहरुले आइतबार नै बच्चाको अपहरणपछि हत्या गरेका थिए । अपहरणकारीले बालककी आमालाई २ पटक फिरौती माग्दै फोन गरेका थिए । पछिल्लो पटक उनीहरुले ४० लाख मागेका थिए । तर, फिरौती आउन नसक्ने देखेपछि आइतबार नै कोठामा लगेर बालकको हत्या गरेको र नजिकै लगेर गाडेका थिए । बालकको परिवारसँग चिनजान रहेको र पोल खुल्ने डरले बच्चाको अपहरणपछि हत्या गरेको हुनसक्ने अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताएका छन् ।

अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन् । उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए । साँझ उनले नै अपहरण गरी बालकलाई लगेको अनुसन्धानमा खुल्न आएको छ । घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए । अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए ।

तपाईको प्रतिक्रिया