कृष्ण सुनुवार,काठमाडौ । लामो समय देखि प्राण घातक रोग क्यान्सर बाट पिडित ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ४ निवासी १२ वर्षीया वालिका स्मृति सुनुवारलाई एक कार्यक्रम माझ सहयोग रकम हस्तान्तरण भयो । कोइँच कुमसो खिँ (अनलाइन परिवार) को पहलमा देश भित्र तथा विदेशका विभिन्न मुलुकहरु बाट समेत संकलित सहयोग रकम प्रतिनिधिसभा सांसद माननीय यज्ञराज सुनुवार तथा सुनुवार सेवा समाजका अध्यक्ष रणबीर सुनुवारले बिरामि बालिकाका बुबा पुर्ण ब. सुनुवारलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।   

सुनुवार सेवा समाजको केन्द्रिय कार्यालय कोटेश्वर,काठमाडौमा हिजो आयोजित रकम हस्तान्तरण कार्यक्रममा कोइँच कुमसो खिँ परिवारले देश-विदेशबाट जम्मा गरेको २ लाख १७ हजार ६ सय १ रुपैयाँ हस्तान्तरण भएको हो भने बिरामिको बैंक खातामा सिधै रु. १० हजार ८ सय ८५ जम्मा भएको समेत गरि जम्मा २ लाख २८ हजार ४ सय ८६ रुपैयाँ संकलन गरिएको जानकारी पनि दिईयो । कोइँच कुमसो खिँका प्रमुख सल्लाहकार सामुयल सुनुवार ‘साम’ का अनुसार संस्थाकी अनलाइन संचालिका राधा सुनुवार ‘ऋतु’ (इराक) को प्रस्तावमा केही महिना अगाडि देखि उक्त संस्थाले शुरु गरेको सहयोग संकलनमा प्रवास स्थित कुमसो खिँका संस्थापक अध्यक्ष लाल तोकुच सुनुवार (कुवेत) एवं व्यवस्थापकहरु खेम सुनुवार (युएई) र कृष्ण ब. तोकुच सुनुवार (कुवेत) लगायतले अभियानलाई सफल तुल्याउन भुमिका खेलेका थिए भने नेपालमा संस्थाका अध्यक्ष तिलक सुनुवारको नेतृत्वमा अभियान संचालन भएको थियो ।

सुसेस शाखा कुवेत र सहारा बचत कुवेत लगायत देश-प्रदेश छरिएर रहेका कोइँच कुमसो खिँ (अनलाइन परिवार) का सदस्यहरूको पहलमा जुटाईएको सहयोग रकम हस्तान्तरण संगै संस्थाले आजै बाट स्मृति सुनुवार बचाउ अभियानको सहयोग संकलन कार्यक्रमको पनि समापन भएको घोषण गरेको छ ।

कार्यक्रममा वोन क्यान्सर पीडित बालिका स्मृतिलाई सहयोग संकलनका लागि कुमसो खिँ परिवार बाहेक अन्य ब्याक्तित्वहरु बाट समेत विभिन्न ठाउँबाट अभियानको नेतृत्व भइ संकलन भएको सहयोग रकम मध्य जापान बाट एलिसा सुनुवारको नेतृत्वमा रु. ८१,१९५/- त्यस्तै हङकङबाट अन्जु गुरुङ र अनिता आङ्साम्वोको नेतृत्वमा रु. १,९९,५९७/- तथा युके बाट पारु सुनुवार र रायल सुनुवारको नेतृत्वमा रु. १५,०००/- र मलेसियाबाट १५,०००/- संकलित रकमलाई क्रमशः समाजसेवी किशोर सुनुवार र ब्रम्लिच समाज नेपालका अध्यक्ष शिव सुनुवारले हस्तान्तरण गरेका थिए । क्यान्सर पीडित बालिका स्मृति सुनुवारको हाल ललितपुरस्थित हरिसिद्धी क्यान्सर हस्पिटलमा खुट्टाको सफल अपरेसन पश्चात् आईसियुमा राखेर थप उपचार चलिरहेको छ ।

तपाईको प्रतिक्रिया