मस्को – २४ असार । रुसमा जारी विश्वकप फुटबलमा तीन हप्ताअघि गोल्डेन ट्रफीको सपना बुनेर यात्रा सुरु गरेको ३२ देशमध्ये अब सीमित देश मात्रै बाँकी रहेका छन् ।

शनिबार राति भएका क्वाटरफाइनलका खेलपछि सेमिफाइनल समिकरण पूरा भएको छ । यसपटकको विश्वकपको उपाधि उचाल्ने सपना अझै बाँकी राख्न सफल चार टिम हुन्, बेल्जियम, फ्रान्स, इंग्ल्याण्ड र क्रोएसिया ।

यसपटक कुनै पनि दक्षिण अमेरिकी देश अन्तिम चारमा आएका छैनन् । सेमिफाइनलमा स्थान बनाएका चारै देश युरोपका हुन् । यसको अर्थ यसपटकको विश्वकप युरोपमा जाने पक्का छ ।

सपनाको यात्रामा बाँकी रहेका मध्ये अझै तीन देशलाई पाखा लगाउँदै एकदेश विश्व विजेता बन्नेछ । क्वाटरफाइनलका खेलमा फ्रान्सले दक्षिण अमेरिकी देश उरुग्वेलाई २–० ले हराएर अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

ब्राजिलको सपना पनि अर्को युरोपेली देशबाट टुट्यो । बेल्जियमले विश्वकपमा सबैभन्दा सफल टिम ब्राजिललाई २–१ ले हराउँदै विश्वकपको अन्तिम चारमा स्थान पक्का गरेको हो ।

शनिबार भएका खेलमा स्वीडेनको चुनौती २–० ले पन्छाउँदै ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डले सेमिफाइनल यात्रा तय गरेको छ ।

रोमाञ्चक रुपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको आयोजक रुसको यात्रा टुंग्यायो क्रोएसियाले । २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । त्यसमा क्रोएसिया ४–३ ले विजयी भयो र सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

अब आउँदो मंगलबारदेखि सेमिफाइनलका खेल हुनेछन् । चार देशले फाइनलमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फ्रान्स र बेल्जियमबीच जुलाई १० अर्थात असार २६ गते, राति पौने ११ बजे खेल हुनेछ । क्रोएसिया र इंग्ल्याण्डबीच जुलाई ११ अर्थात असार २७ गते, राति पौने ११ बजे विश्वकपका खेल हुनेछ । एजेन्सी

तपाईको प्रतिक्रिया