कृष्ण सुनुवार,काठमाडौ २६,जेठ।

फूटबल खेललाई खेलको पनि महाखेल मानिन्छ र यो खेल संसारभर उत्तिकै लोकप्रिय छ। हो यहि लोकप्रिय खेल फूटबलको महाकुम्भ विश्वकप शुरु हुन केही दिनमात्र बाँकी छ। यो सन्दर्भमा नेपाली फूटबल प्रेमिहरुलाई पनि यो माहोलले राम्रै संग छोएकै छ। विश्वकप नजिकिदै जाँदा अहिले राजधानी काठमाडौ लगायत देशका धेरै शहर र गाउँहरु विभिन्न देशको प्रतिनिधि जर्सीहरुले रंगिएको देख्न सकिन्छ। सामान्यत नेपालमा अर्जेन्टिना,ब्राजिल,स्पेन,जर्मनी,फ्रान्स र ईङ्ल्याण्ड लगायत देशहरुको समर्थकहरु बढी भेटिन्छन् ।

पछिल्लो आँकडाहरुलाई मान्ने हो भने मुलत नेपालमा अर्जेन्टिना र ब्राजिलकै समर्थकहरु अधिक रहेको देखिन्छ। ब्राजिल फूटबलमा धेरै उपाधी जित्ने राष्ट्र र पेले जस्तो लेजेण्ड र समकालिन फूटबलमा अन्य थुप्रै सुपरस्टारहरु जन्माई रहने राष्ट्र हुनुको नाताले पनि स्वभाविक रुपमा उसको समर्थक नेपालमा मात्रै नभएर संसारै भरी अनगिन्ती छन् । त्यस्तै अर्जेन्टिना पनि संसारभरी अधिक समर्थक भएको देश हो। म्याराडोना जस्तो आधुनिक फूटबलको सुत्रधार जन्माएको अर्जेन्टिना पनि समकालीन फूटबलमा सुपरस्टारहरु जन्माएर चम्काइरहने देश हो। पछिल्लो डेढ दशक फूटबलको नयाँ आयाम बनेर जादु छरिरहेका लिओनल मेस्सी टिममा हुनुको सम्बन्धले पनि अर्जेन्टिना विश्व फूटबलको हेभिवेट टिम मानिन्छ।

नेपालमा टेलिभिजनको नियमित प्रशारण हुनथालेपछीको पहिलो विश्वकपको उपाधि ईस्वी संवत १९८६ मा म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले चुमेको कारण पनि विश्वकपका नेपाली दर्शकहरुलाई अर्जेन्टिना फूटबल टिमको लत बसेको छ। र अहिले मेस्सिको नेतृत्वमा फेरि उसले इतिहास दोहोर्‍याउने अपेक्षाले अर्जेन्टिना प्रतिको मोह झनै उत्कर्षमा पुगेको देखिन्छ। यसैबीच जबजब विश्वकप आउँछ यसको रौनक संगै नेपालमा अर्जेन्टिना सम्बन्धि सामाजिक संजालहरुमा एउटा वाहियात बहसले ठाउँ लिन थाल्दछ।

उसका बिरोधी टिमका समर्थकहरुले अर्जेन्टिनीहरु नेपाललाई घृणा गर्छन्,त्यहाँको विद्यालयहरुमा नेपाल हाम्रो दुश्मन हो भनी पढाईन्छ र त्यहाँ प्रत्येक वर्ष हाम्रो झण्डा जलाईन्छ आदि कपोकल्पित तर्क र मिथकहरु पेश गर्दै अर्जेन्टिनाका समर्थकहरु माथी खनिन खोज्छन्। तर यो असत्य कुतर्कले अर्जेन्टिनि समर्थकहरु कतिपनी बिचलित हुनुपर्ने देखिदैन। तथ्यहरुले कहिले यो आरोपहरु प्रमाणित गर्नसकेको छैन। बरु ठिक बिपरित विश्वकप दौरान अर्जेन्टिनाले इङ्ग्ल्याण्ड माथी सनसनिपुर्ण विजय प्राप्त गरेपछि विश्वकपको मंच बाट चिहाउदा कहि कतै दुरदराजमा पनि नियाल्न कठिन हाम्रो नेपाल माथी उसको महान खेलाडी म्याराडोनाले एउटा गर्विलो टिप्पणी गरेका छन्।

ब्रीटिश सरकार र अर्जेन्टिना सरकारले आफ्नो दावी गर्दै आएको फक्ल्याण्ड टापुमा इङ्गल्याण्डको तर्फबाट नेपालिहरुको नेतृत्वमा रहेको गोर्खा बटालिएन संग पराजयको पीडा भोगेको अर्जेन्टिनी नागरिकहरूको प्रतिनिधि स्वरमा उनले सो खेलपछी पत्रकारहरुलाई प्रतिक्रिया दिदै भनेका छन् – ‘धन्न खेल मैदानमा इङ्ग्ल्याण्ड संग वीर गोर्खाहरु थिएनन् र हामी पराजित हुनबाट जोगियौ’। उनको यो भनाईले विश्व मंचमा नेपालिहरुको कद कतै घटाएको भन्दा पनि सान अझ उचो बनाएको देखिन्छ। अर्जेन्टिना र नेपालको बिचका सम्बन्धका तथ्यहरु नियाल्ने हो भने कूटनीतिक दौत्य सम्बन्ध १ जनवरी १९६२ मा नै स्थापित भएको हो । दुई देशको सम्बन्ध आपसी हित, समझदारी र मित्रतामा आधारित छ ।

नेपालका लागि अर्जेन्टिनाका राजदूत आवासीय रुपमा दिल्लीमा रहन्छन् भने आवासीय रुपमा न्यूयोर्कमा रहने संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले अर्जेन्टिनाको राजदूतको काम गर्दछन् । नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समारोहमा सन् १९८९ मा अर्जेन्टिना भ्रमणमा पुगेका थिए । संयुक्त

राष्ट्रसंघ, अन्तराष्ट्रिय संगठनहरू र अन्तराष्ट्रिय सभा सम्मलेनहरूमा दुई देशले धेरै मात्रामा साझा मुद्दा उठाउने गरेको पाइन्छ ।अर्जेन्टिनी सरकारले अहिले नेपालमा छाला प्रशोधनको प्राविधिक सहयोगलाई बढावा दिन चासो लिइरहेको छ । सन् २०१० मा एघार सय दुई जना र २०११ मा बाइस सय छब्बीस अर्जेन्टिनी पर्यटकहरू नेपाल आएको परराष्ट्र मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

आरोपहरु लगाईए झै न अर्जेन्टिनिहरु नेपालीहरुलाई घृणा गर्छन् न त त्यहाँको विद्यालयको कुनै कक्षाहरुमा नेपाल बारे नकारात्मक पाठ पढाईन्छ। न त नेपालको झन्डानै कहिल्यै जलाईन्छ। त्यहाँका कुटनैतिक अधिकारी तथा अन्तरास्ट्रिय मामिलाका एक्स्पर्टहरु यी भ्रमहरुको बारेमा सोध्दा आश्चर्यभाव प्रकट गर्छन् र कसले भन्यो र कहाँ छन् यी कुराहरुको प्रमाण भनेर उल्टै प्रतिप्रश्न गर्छन् । यथार्थको खोजी गर्न छाडेर कुतर्क र भ्रमहरुको पछि लाग्यौं भने हामी सबै त्यही पुग्छौं जहाँ बाट सामान्य जिवनमा फर्किन निकै मुस्किल हुन्छ। त्यसैले खेल भावनालाई विकास गर्दै प्रतिउत्पादक गलत प्रचारहरुमा नभुली उल्लासमय ढंगले विश्वकप हेर्ने र आ-आफ्नो समर्थनका टोलिहरुको खेलमा रमाउने प्रयत्न गर्नुनै स्वस्थ्यकर ठहर्दछ।

तपाईको प्रतिक्रिया