काठमाडौ २९,बैशाख। गायिका पूजा सुनुवार अहिले कुवेतमा छिन्। पछिल्लो समय यस्तै देश विदेशको स्टेज कार्यक्रमहरुमा ब्यस्त रहदै आएकी पूजा यो बेला आफ्नै समुदायको उभौली पर्व मनाउन त्यहाँ पुगेकी हुन् । सुनुवार,राई,लिम्बू र याख्खा लगायतको किराँत समुदयले भव्य रुपमा मनाउने उभौली पर्व भर्खरै सम्पन्न भएको सन्दर्भमा पछिल्लो समय यो पर्व नेपालमा मात्रै नभएर किरात समुदाय विभिन्न सिलसिलामा पुगेका विश्वभरीका थुप्रै मुलुकहरूमा समेत आ-आफ्नै तरिकाले मनाउने चलन शुरुभएको छ। यसै सन्दर्भमा हिजो ११ मे का दिन कुवेतमा रहेका नेपाली किरात समुदयले पनि विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेकोमा नेपाल बाट निम्त्याईएका गायिका पूजाले त्यहाँ उभौलीको माहोललाई तताएकी थिईन। किराँतीहरुको महान पर्व उभौली,याक्वा-तङनाम,सालिवा श्याँदर पीदार- ५०७८ को उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ्ग कुवेत, किरात राई यायोख्खा कुवेत र सुनुवार सेवा समाज शाखा कुवेतले संयुक्त रुपमा आयोजना गरेको विशेष सांगीतिक कार्यक्रमको दौरान पूजा वरिष्ठ गायक जितेन राई र गायिका सुनिता थेगिमका साथ कुवेत पुगेकी हुन ।

आयोजक कमिटीका सदस्य गुण बहादुर सुनुवारका अनुसार कार्यक्रममा नेपाल बाट पुगेका कलाकारहरुका साथै कुवेतमै रहेका अन्य स्थानीय नेपाली कलाकारहरुको समेत विविध खाले प्रस्तुति रहेको थियो। सांगीतिक प्रस्तुतीको साथसाथै आकर्षक नृत्यहरुले समेत सृंगारिएको उक्त उभौली विशेष सांगीतिक कार्यक्रममा राई,लिम्बू र सुनुवारहरुको विविध सांस्कृतिक झांकी समेत प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया