काठमाडौं – विगत ६ वर्षदेखि साहित्यिक क्षेत्रमा क्रियाशील गोधूलि साहित्यिक प्रतिष्ठानले सातौं वार्षिकोत्सव शुक्रबार विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थाले तीन जना व्यक्तित्वहरुलाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले प्रा .डा. उषा ठाकुरलाई गोधूलि दीर्घ साहित्यसेवा अभिनन्दन – २०७४, समाजसेवी स्नेह पोखरेललाई गोधूलि दीर्घ समाजसेवा अभिनन्दन – २०७४ र कलाकार गेहेन्द्रमान अमात्यलाई गोधूलि दीर्घ कलासेवा अभिनन्दन – ०७४ द्वारा अभिनन्दित गरेको हो ।

त्यस्तै प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने नगद रु दश हजारसहितको ओली–भद्र–गोधूलि आदर्श आमा पुरस्कार – २०७४ साहित्यकार तथा समाजसेवी बसुश्री पाण्डेर्लाइ प्रदान गरेको छ । त्यस्तै नगद रु दश हजारकै गोधूलि तुल–सुन्दरमाया पुरस्कार – २०७४ समाजसेवी राधा भण्डारीलाई प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रमबाट दश जना व्यक्तित्वहरुलाई सम्मानसमेत गरेको छ । गोधूलि साहित्य सम्मान २०७४ बाट वरिष्ठ साहित्यकार इन्द्र कुमार श्रेष्ठ ‘सरित’, साहित्यकार ललिता दोषी, साहित्यकार ई। राजेन्द्र प्रसाद पौडेल र श्री कल्पना अधिकारी सम्मानित भएका छन् ।

भाषासाहित्यसेवी तथा समाजसेवी उर्मिला डंगोललाई गोधूलि समाजसेवा सम्मान – २०७४ प्रदान गरिएको छ भने कलाकार राजन भुजेल विश्वकर्मालाई गोधूलि संगीत सम्मान – २०७४ समर्पण गरियो । शारिरीक सुसंगठनमा क्रियाशील युवा सिर्जनशील व्यक्तित्व राजेश मानन्धरलाई युवा सिर्जनशील सम्मान – २०७४ र युवा गजलकार देव ‘सागर’लाई युवा सिर्जनशील साहित्य सम्मान – २०७४, वरिष्ठ पत्रकार मोहन कार्कीलाई गोधूलि पत्रकारिता सम्मान – २०७४ र समाजसेवी विरेन्द्र लकान्द्रीलाई समाजसेवी तथा भाषासाहित्यसेवी सम्मान – २०७४ प्रदान गरियो । सम्मानित, अभिनन्दित तथा पुरस्कृत व्यक्तितवहरुलाई प्रमुख अतिथी कानुन, न्याय तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले सम्मान पत्र प्रदान गर्नु भयो ।


कार्यक्रममा पूर्व मन्त्री तथा साहित्यकार सुश्री भद्रकुमारी घले, प्रा.डा. उषा ठाकुर, समासेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङ, पुरुषोत्तम पोखरेललगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा राजेन्द्र पौडेलको कविता कृति अन्र्तमनका सुसेलीको विमोचन समेत गरिएको थियो । प्रतिष्ठानले बाह्र साहित्यकार तथा समाजसेवीहरुको तस्विर समावेश गरेर प्रकाशन गरेको भिक्तेपात्रोको समेत लोकार्पण गरिएको थियो । कार्यक्रम प्रतिष्ठानका मानार्थ सदस्य लक्ष्मी उप्रेतीको सभापतित्व तथा अध्यक्ष प्रकाश समीरको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया