शिवानी सिंह थारु आदिवासी जनजाति भइकन पनि यस्ती भाग्यवानी युवती हुन्, जो सधैं सत्ता र शक्तिको नजिक रहिन् । उनका बुवा फत्तेसिंह थारु पञ्चायतकालदेखि प्रजातन्त्र कालसम्म पटक–पटक मन्त्री बने, जसको लाभ शिवानीलाई नहुने कुरै भएन । त्यसमाथि आकर्षक सौन्दर्य र अध्ययनशील स्वभावकका कारण उनी जुनसुकै विषयमा सार्वजनिक बहस गर्न सक्ने भइन् । नेपालमा पछिल्लो समय चलेको पहिचानको आन्दोलनले पनि उनी जस्ता पहुँचवाला व्यक्तिलाई पनि फाइदै भयो ।

उसो त १५ वर्षअघि नै नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मेरो गीत मेरो सन्देश’ मार्फत शिवानीले लाखौं शुभचिन्तक कमाएकी थिइन् । त्यसयता मोडलिङमार्फत उनले एउटा उचाइ प्राप्त गरिन् । ‘लेख्ने सौख’ पलाएपछि उनले बीबीसी नेपाली सेवा प्रवेश गरिन् र त्यही संस्थामार्फत नाटक लेखनबाट साहित्यमा प्रवेश गरिन् ।

अहिले शिवानीको उपन्यास ‘काठमाडौंमा एक दिन’ सार्वजनिक भएको छ । यो उपन्यासको अनावरणसँगै फेरि उनी लाइमलाइटमा आएकी छन् ।

यसपटक अनलाइनखबरकर्मी अश्विनी कोइरालाले शिवानीको सत्तासुखदेखि लेखनसुखसम्मका कुरा खोतल्दै गर्दा उनीसँग यस्ता कुरा पनि निकाले, जसले साहित्यसेवीलाई मात्र होइन, सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई पनि केही उपलब्धि प्राप्त हुन सक्छ । ४३ वर्षको उमेरमा पनि ‘२१ वर्षे यौवना’ झैं देखिने शिवानी सिंहलाई पहिलो प्रश्न उनकै सौन्दर्यसँग सोधियो ।

तपाईं अहिले पनि उस्तै पो हुनुहुँदोरहेछ ?

अहिले पनि मतलब ?

उही नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मेरो गीत मेरो सन्देश’ चलाउने चुलबुले केटीझैं । तपाईं त्यही युवती हो भन्ने विश्वास गर्नै नसकिने !

हो र ? सौन्दर्यको प्रशंसा गरेको कसलाई मनपर्दैन र ? धन्यवाद त भन्नैपर्‍यो (लामो हाँसो)

झण्डै दुई दशकसम्म युवावस्थाको शारीरिक सौन्दर्य कसरी जोगाइराख्नुभएको छ ?

सायद मेरा माता पिताको जीनले काम गर्‍यो होला । तर, उचित खान–पान, सकारात्मक सोच, तनाब बिहीन जीवन बाँच्ने कलाले पनि काम गरेको होला । म नियमित जिम गर्छु । शरीर जोगाउन व्यायम धेरै महत्वपूर्ण कुरा हो । तर, चन्तित मनले पनि मानिसलाई चाँडै बूढो बनाउँछ । मनलाई बूढो हुन नदिन पनि सकारात्मक जीवन बाँच्नुपर्छ ।

तपाईं अन्तरवार्ताका लागि आउँदा गाडीमा आउनुहोला, पार्किङको समस्या होला भन्ने सोच्दै थिएँ !

हो, पञ्चायतदेखि प्रजातन्त्रसम्मका मन्त्रीकी छोरी, मान्छेले त्यस्तै कल्पना गर्छन् । धन्यवाद पिताजीको राजनीतिलाई, मैले भ्रष्टकी छोरीको उपाधि पाउनुपरेको छैन । राजनीतिमा लाग्नेहरु सबै खराब हुन्छन् भन्ने कुरा गलत हो नि । लौ, होइन ? भन्नुस् त ।

यसो सम्झना गर्नुस् त, बुबा फत्तेसिंह थारुको चमकधमकपूर्ण जीवन । केके सम्झनुहुन्छ ?

पञ्चायतकालको अन्तिमतिर । उहाँ मन्त्री भएका बेला म सेन्ट म्यारिज स्कुलमा भर्ना भएकी थिएँ । बेला–बेलामा उहाँका बडीगार्डसहित गाडीमा नेपालगञ्ज जाँदा मलाई मेरा बुबा संसारकै ठूला मान्छे हुन् भन्ने लागेको थियो । हामी डिल्लीबजारमा बस्थ्यौं । घरमा पनि मान्छेको बाक्लो आवत–जावत हुन्थ्यो । मानिसहरु म फुच्चीलाई समेत नमस्कार गर्थे ।

जब सबैभन्दा पिँधमा बसेको मानिसले विद्रोह गर्छ, त्यो कति भयानक हुन्छ भन्ने कुराको संकेत हो । मैले सानैदेखि मधेसमा जे देखेँ, मधेस आन्दोलनका बेला त्यो कसरी प्रकट भयो र त्यो हुनुमा के कस्ता कारण थिए भन्ने कुरा राम्रोसँग उल्लेख गरेको छु भन्ने लाग्छ ।

प्रजातन्त्र आएपछि सबै लाखापाखा लागे । घरबाट गाडी, सुरक्षाकर्मी र शुभचिन्तक सबै हराए । मेरी आमालाई खर्चको कस्तो अभाव भएछ भने मेरो स्कुलको गाडीभाडा बचाउन स्कुलको छेऊमा डेरा सर्नुपर्ने भयो । मलाई याद छ, मेरो जुत्ता फाट्ला भनेर उहाँ, ‘स्कुलको जुत्ता लगाएर धेरै नउफ्रिनू’ भनेर सम्झाउनुहुन्थ्यो । त्योबेलाको अभावले मेरो कलिलो मस्तिष्कमा सबै सकियो भन्ने परेको थियो ।

फत्तेसिंह थारु प्रजातन्त्रपछि पनि धेरैपटक मन्त्री हुनुभयो…?

तपाईं के खोतल्न खोज्दै हुनुहुन्छ भन्ने कुरा म बुझ्दैछु । भित्र–भित्र कुनै लेनदेन गर्नुभयो वा अरुलाई फाइदा हुने काम गर्नुभयो होला । ‘होला’ शब्दमा जोड दिँदैछु । तर, उहाँ पटक–पटक मन्त्री भए पनि हाम्रो व्यक्तिगत जीवनमा ठूलो परिवर्तन भएन ।

हो, हामीले काठमाडौंमा बसेर राम्रो विद्यालयमा पढ्न पायौं । तर, त्यो बुबाको भन्दा मम्मीको कारणले भएको हो । मेरो अर्की आमातिरका सन्तानले हाम्रोजस्तो विद्यालय पढ्न पाउनुभएन । किनभने हामी पहाडे मम्मीका सन्तान थियौं, उहाँहरु थारु मम्मीका सन्तान हुनुभयो ।

भनेपछि थारु महिला र पहाडे महिलाको चेतनामा त्योबेला फरक आइसकेको थियो भन्न खोज्नुभएको हो ?

यो सत्य हो नि । पहाडे समुदायमा पढ्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने चेतना थियो । थारु समुदायमा छोरी मानिसले त्योबेला पढ्ने कल्पना पनि गर्दैनथे । चाहे ती मन्त्री फत्तेमान सिंह थारुका सन्तान नै किन नहून् ।

आज यत्रो वर्षपछि बल्ल अर्को मम्मीका सन्तानहरुमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना आउन थालेको छ । मेरी आमा ठकुरीकी छोरी नभएको भए सायद आज म तपाईंको अघि यसरी प्रस्तुत हुन सक्ने थिइनँ ।

तपाईं एउटी संवेदनशील लेखक पनि हुनुहुन्छ । राजनीति गर्ने मानिसका सन्तानले अनुभव गर्ने कुरा के रहेछ ?

टुहुरा अनुभव गर्छन् । यो प्रश्न जुनसुकै ठूला–साना नेताका सन्तानलाई सोध्नुहोस्, सायद यही उत्तर पाउनु हुनेछ । घरभित्र ठूलो भीडभाड हुन्छ । संसार परिवर्तन गर्ने कुरा हुन्छ, तर घर लथालिङ्ग हुन्छ । एक मुस्कानका लागि तड्पिनुपर्छ ।

आज तपाईंको जुन स्वाभाव बनेको छ, यसमा राजनीतिको योगदान कति छ ?

देशका सबै ‘ठूला मानिस’ हरु हाम्रो नेपालगञ्जको घरमा आउनुहुन्थ्यो । उहाँहरुको काखमा हुर्केको हुनाले जीवनमा कुनै कुराको धक लागेन । नेपाल टेलिभिजनमा फरवार्ड भिजे र मोडलिङमा राम्रो काम पाउनुमा पनि यही आत्मविश्वासले काम गरेको हुनुपर्छ । अर्कोतिर एक्लै बस्ने, एक्लै रमाउने स्वाभाव पनि बढ्दै गयो, किनभने आम बालबालिका झैं मैले समकालीन साथी पाइनँ । विशेष गरी मेरा केटी साथी नै भएनन् ।

कसरी ?

म तथाकथित वादी समुदायको बस्ती भनेर प्रचार गरिएको ‘गगनगञ्ज’मा हुर्किएकी हुँ । खासमा वादी समुदायको बस्ती गगनगञ्जभन्दा केही पर छ । म थरुनी भए पनि त्यो बस्ती मधेसी बाहुल क्षेत्र हो । त्यो टोलमा ममात्रै यस्ती केटी थिएँ, जसले घरमा काम गर्नुपर्दैनथ्यो । म मात्रै स्कुल जान पाउँथे, किनभने मेरी मावली हजुरआमाले तैंले पढ्नुपर्छ भनिरहनुहुन्थ्यो । स्कुलमा पढ्दा पनि केटा थिए, खेल्दा पनि केटाहरु नै हुन्थे । यही कारण मैले आपूmलाई कहिल्यै केटीका रुपमा महसुस गरिनँ ।

राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका कारण आमा–बुवा धेरैजसो काठमाडौंमै बस्नुहुन्थ्यो । नेपालगञ्ज आएका बेला हजुरआमाले पोल सुनाउने एउटै कुरा थियो, ‘शिवानी जहिल्यै पनि केटासँग खेल्छे । अरु केटाहरुजस्तै यो केटी चप्पल लगाउँदिनँ ।’

हुन पनि घामले पोल्छ भनेर मलाई किनिएको चप्पल लगाउँन मन लाग्दैनथ्यो । किनभने मेरा केटा साथीहरुले चप्पल लगाएका हुँदैनथिए । चप्पल लगाएर म विशेष देखिन चाहन्न थिएँ । मेरा उमेरका केटीहरुले घर सम्हाल्न थाल्थे । अलि ठूला भएपछि उनीहरुको गौना (बिहे) को कुरा चल्न थाल्थ्यो ।

तपाईं मोडलिङमा चर्चित हुँदाहुँदै लेखनमा सक्रिय हुनुभयो । यत्रो नाम कमाउँदा पनि तपाईंको विवाहको खबर सुनिएन नि ?

पुरुष पनि चर्चित हुन्छन्, उनीहरुलाई विवाहसम्बन्धी प्रश्न सोधिँदैन । महिलाहरुलाई मात्रै किन सोधिन्छ ?

आफ्नो विवाहको कुरा लुकाउन खोज्नुभएको हो ?

होइन । लुकाउनु पर्ने कुरा के छ र ? १० वर्षअघि नेवार परिवारमा मेरो विवाह भएको हो । तर, अहिले उनी लण्डनमा बस्छन् । ढुक्क हुनुुहोस्, मेरो पारिवारिक जीवन राम्रो छ ।

तर, आमा हुनुभएको छैन, त्यसैले मानिसहरुको चासो हो कि ?

विवाह भएको केही महिनामै उपन्यास लेख्ने योजना बन्यो । यो उपन्यासले यति गम्भीर बनायो कि ९ वर्षदेखि यसैमा लागेको लाग्यै भएँ । सायद उपन्यास जन्माउने क्रममा मातृत्वको याद आएन कि ? अर्को कुरा, मेरा लागि करियर धेरै ठूलो कुरा हो । म जीवनलाई अरु महिला जसरी सायद हेर्न सक्तिनँ कि ?

एउटा उपन्यास लेख्न ९ वर्ष ? यो त अलि बढी भएन र ?

रिसर्च गर्दै जाँदा, लेख्दै जाँदा कसरी यति समय बित्यो, थाहै भएन । म भाग्यवानी हुँ, मैले यस्तो श्रीमान पाएँ, जसले मलाई लेख्नकै लागि नेपालमा छाडिदिएका छन् ।

दिनमा एक–एक पेज लेख्दा पनि ९ वर्षमा त हजारौं पेज लेखिन्छ । उपन्यासको मोटाइ सामान्य किसिमको छ । अनौठो होइन ?

हो, कृति ३६८ पृष्ठको मात्रै छ । लेखिएका सबै कुरा छाप्नुहुँदैन भन्ने कुरामा सचेत भएर सानो बनाएकी हुँ । करिब ६० हजार शब्द त सर्लक्कै काटेको छु । कतिपय उपकथालाई भोलिका दिनमा काम लाग्छ भनेर हटाएकी हुँ । नौ महिना लगाएर लेखेको एउटा च्याप्टर मलाई आवश्यक लागेन र हटाइदिएँ । अहिले त्यो पूरै च्याप्टर केही पेजमा सीमित भएको छ ।

उपन्यासमा मेरो क्यारेक्टरले एक लाइन बोल्छ भने त्यो बोल्नुपर्ने अवस्था किन आयो, त्यसको करिब ५ सय शब्दका कारण हुन्छन् । त्यो कारण त लेखेँ । तर, प्रकाशन गर्ने बेलामा त्यो हटाइदिएँ । जबसम्म यसो गरिन्न, क्यारेक्टरले बोलेका कुरा आधिकारिक हुन्न ।

भनेपछि तपाई‌ले आफ्ना क्यारेक्टरलाई न्याय गर्नुभएको छ ?

हो, सत्तप्रतिशत गरेकी छु ।

आफूले सोचेका कति कुरा अक्षरमा व्यक्त भएका छन् ?

सत्तप्रतिशत ।

भनेपछि सन्तुष्ट हुनुहुन्छ ?

नौ वर्षअघि मैले उपन्यासको घोषणा गर्दा मनमनमा सोचेकी थिएँ, जबसम्म म पूर्णरुपमा सन्तुष्ट हुन्न, उपन्यास प्रकाशन गर्दिनँ । चाहे मानिसले कुरा गर्दा शिवानीको ननिस्किएको उपन्यासको कसम खाएर मेरो आलोचना नै किन नगरुन् । अहिले सत्तप्रतिशत सन्तुष्ट भएर नै पुस्तक निकालेकी हुँ ।

लेख्ने रुटिङ के थियो ?

एउटा च्याप्टर लेख्न मैले फिल्डमा महिनौं बिताएकी छु । फिल्डबाट फर्किएपछि त्यसलाई औपन्यासिक रुप दिन मैले एउटा रुटिङ बनाएकी थिएँ । जसअनुसार बिहान साढे ८ बजेदेखि दिउँसो २ बजेसम्म लेख्थें । त्यसपछि बल्ल जीम जान्थेँ ।

तपाईंको पोस्टरमा जुन भयानक तस्वीर छ, त्यसले केको सङ्केत गर्छ ?

जब सबैभन्दा पिँधमा बसेको मानिसले विद्रोह गर्छ, त्यो कति भयानक हुन्छ भन्ने कुराको संकेत हो । मैले सानैदेखि मधेसमा जे देखेँ, मधेस आन्दोलनका बेला त्यो कसरी प्रकट भयो र त्यो हुनुमा के कस्ता कारण थिए भन्ने कुरा राम्रोसँग उल्लेख गरेको छु भन्ने लाग्छ । पिँधमा भएका मानिस पिँधमा हुनुका कारक तत्व के–के हुन्, त्यो समग्रतामा आएको छ भन्ने लाग्छ ।

विवाह भएको केही महिनामै उपन्यास लेख्ने योजना बन्यो । उपन्यासले यति गम्भीर बनायो कि ९ वर्षदेखि यसैमा लागेको लाग्यै भएँ । म भाग्यवानी हुँ, मैले यस्तो श्रीमान पाएँ, जसले मलाई लेख्नकै लागि नेपालमा छाडिदिएका छन् । अहिले उनी लण्डनमा बस्छन्

उपन्यासमा सिनो बहिस्कार आन्दोलनदेखि आज मधेसमा आएको परिवर्तनको कथा पाश्र्वमा आएको छ । जसका लागि त्यस किसिमको कभर आवश्यक थियो । म कभर फोटोबाट सन्तुष्ट छु ।

तपाईंको उपन्यासमा पुरुषपात्रप्रति साहनुभूति देखिन्छ । धेरै महिला लेखक झैँ तपाईंले पुरुष प्रवृत्तिको विरोध गर्नुभएको छैन । यसको कारण के होला ?

यो उपन्यास महिला हिंसाको विषयमा होइन । महिलाले लेख्नेवित्तिकै पुरुषको विरोध गर्नुपर्छ भन्ने म ठान्दिनँ । जसरी संसारका प्रशिद्ध पुस्तकमा महिलाका विषयमा गम्भीरताका साथ लेखिएको छ, ती पुस्तक पढ्दा यो लेखक पुरुष हो भन्ने लाग्दै लाग्दैन । खासमा श्रष्टा पुरुष वा महिला हुँदैन । उपन्यास जेन्डरले लेख्ने होइन ।

कुनै उदाहरण दिन सक्नुहुन्छ ?

विश्वप्रशिद्ध रुसी उपन्यास ‘अन्ना करेनिना’ मा एउटी किट्टी भन्ने पात्र छे । त्यो पात्र सुत्केरी भएका कारण उसको दूध गानिएको छ । उसले आफ्नो बच्चालाई दूध खुवाउन नपाएपछि आफ्नो दूध खुवाउन अरुका बच्चा खोज्दै हिँड्छे । त्यसमा लेखकले किट्टीको गानिएको दूधको चर्चा यसरी गरेका छन् कि एउटा पुरुषले कसरी यो वर्णन गर्न सके भनेर पाठक तीन छक्क पर्छ ।

‘काठमाडौंमा एक दिन’ पुस्तक लेखुञ्जेल तपाईंको मनस्थिति नै अर्कैै भएको थियो रे । मुस्काउनै छाड्नुभएको थियो रे । तपाईंका नजिकका मानिसहरु तपाईं यो अवस्थामा फर्किनुहोला भनेर कल्पना गरेका थिएनौं भन्दैछन् । खासमा के थियो अवस्था ?

डुब्नु छ भने यसरी डुब्नुपर्छ कि मोती लिएर मात्रै फर्कनुपर्छ । आज पनि मैले लेख्ने कोठामा पस्नु भो भने भने तपाईंलाई डर लाग्छ । त्यहाँ बम, बन्दुक, आन्दोलनका त्रासदीपूर्ण तस्वीरहरु टाँसिएका छन् । पत्रपत्रिकामा छापिएका पिँधका मानिस कसरी बाँचेका छन् भन्ने कुराका रिपोर्टिङ्हरु । मैले फिल्डमा भेटेका तस्वीरहरु । म करिब ९ वर्ष य घटना, पात्र, परिस्थिति र आक्रोशहरुसँगै छु । मेरा पात्रहरुको जीवनलाई मनभित्र र मुटुभरि खोपेर हिँडेकी छु । त्यसको असर साथीहरुले देख्नुभएको हुन सक्छ ।

तपाईंको कोठाका भित्तामा एउटा कविता कोरिएको देखियो, यो कवितालाई यसरी भित्तामा सजाउनुको खास कारण के हो ?

सब से खतरनाक होता है

मूर्दा शान्ति से भर जाना

ना होना तडप का

सब कुछ सहन कर जाना

घर से निकलना काम पर

और काम से लौट आना घर आना

सब से खतरनाक होता है

हमारे सपनों का मर जाना

यो हिन्दी भाषाका चर्चित पञ्जावी कवि पासको कविता हो । एक वर्ष होइन, दुई वर्ष होइन, ९/९ वर्षसम्म एउटै पुस्तकमा लागिरहँदा मलाई दिक्क पनि लाग्थ्यो । यो दुरुष यात्रामा हिँड्दा जब म थाक्थेँ, यो कविताले मलाई साहस दिन्थ्यो ।

हरेक मानिस एउटा सपना लिएर यात्रा सुरु गर्छ, धेरैको सपना बीच बाटैमा तुहिन्छ । मसँग एउटा आगो थियो, लेखक बन्ने । त्यो आगोलाई म निभ्न दिन्नथेँ । म पनि मान्छे हुँ । मभित्र पनि कहिलेकाहीँ निराशा पलाउँथ्यो । त्योबेला यो कविताले साहारा दिन्थ्यो । यो पूरै कविता मैले कण्ठ गरेकी छु । जब जब म पलायन हुन खोज्थेँ, मलाई भित्रैबाट कवि पास हल्लाउन पाइपुग्थे,

सब से खतरनाक वो आखेँ होती है

जिस की नजर दुनियाँको मोहम्बत से चुमना भुल जाती है

सब से खतरनाक वो गीत होती है

जो मरे सिंहे कि तरह पढा जाता है

सब से खतरनाक वो चाँद होती है

जो हत्याकाण्ड के वाद

बिराना हुए आँगन मे चढ जाता है

लेकिन आप की आँखो मे

मिरचों की तरह नहीँ पढ जाती है

म मैले देखेको सपनालाई बिर्सिन चाहन्न थिएँ । यसका लागि कवि पास खोर्सानीको यो धुलो लिएर बारम्बर मेरो आँखामा हाल्न आइपुग्थे । जसले मलाई निदाउन दिँदैनथ्यो ।

लेखक हुनका लागि श्रीमानको माया गुमाउनुभयो । आमा हुने स्त्रीत्वलाई पनि पर सारिरहनुभएको छ । टेलिभिजनका आकर्षक प्रस्तावलाई पनि अस्वीकार गर्नुभयो । यी कुरा सम्झँदा कस्तो लाग्छ ?

आफ्नो निजी सपना त्यही हो, जो अरु ठूला भनिएका सपनाहरु पनि साना लाग्छन् ।

कुन नेपाली लेखकलाई सम्झँदा लेखक हुन त यस्तो पो भन्ने लाग्छ ?

धच गोतामे, वीपी कोइराला, आइबी राई, भैरव अर्याल । मलाई लाग्छ, भैरव अर्यालजस्तो श्रष्टा नेपाली भाषामा जन्मिएका छैनन् । उनले आफ्ना शब्दहरु आफैं जन्माएका छन् । नयाँ पुस्तामा बुद्धिसागर, आन्विका गिरीको लेखनमा त्यो आनन्द पाउँछु । शारदा शर्माका निबन्ध र रामेश कोइरालाका उपन्यासमा पनि एउटा फरक कोण पाउँछु । नेपाली लेखकमा वीपी कोइरालाले एउटा उच्चता पाएका छन् र त्यसको अर्को धारबाट आईबी राई (इन्द्रबहादुर राई) ले उच्चता नाप्ने प्रयास गरेका छन् ।

विदेशी लेखकहरुमा कसलाई पछ्याउनुभएको छ ?

अमृता प्रितम, निर्मल बर्मा, उदयप्रकाश र प्रेम चन्द । प्रेम चन्दका कथामा वर्णित धेरै जीवन अहिले पनि मधेसमा पाउन सकिन्छ । कतिपय अवस्थामा त मलाई के लाग्छ भने प्रेमचन्दले नेपालको मधेसका धेरै कुरा बोलिदिए ।

तर, मधेसका विषयमा नेपाली लेखकले पनि लेख्नुपर्ने होइन र ?

सायद त्यो नेपाली साहित्यका रुपमा स्वीकार हुन्छ भन्ने कसैले आँट गरेन । मधेसका केही कुरा वीपीका साहित्यमा आउँछन् । भारतीय भए पनि इन्द्रबहादुर राईको भाषालाई नेपाली साहित्यले आफ्नो मान्यो । तर, पश्चिममा बोलिने नेपाली भाषालाई पनि हामीले आफ्नो स्वीकार गरेनौं ।

धच गोतामे, वीपी कोइराला, आइबी राई, भैरव अर्याल । मलाई लाग्छ, भैरव अर्यालजस्तो श्रष्टा नेपाली भाषामा जन्मिएका छैनन् । उनले आफ्ना शब्दहरु आफैं जन्माएका छन् । नयाँ पुस्तामा बुद्धिसागर, आन्विका गिरीको लेखनमा त्यो आनन्द पाउँछु

आज पनि मैले सीतालाई हेरेँ भनेर कसैले भन्यो भने हेरेँ होइन, देखेँ शुद्ध हो भन्ने गरिन्छ । बाबा, मैले त हेरेँ भनेर जानेको हुँ । यसरी भाषामाथि विभेद भएको छ । आज पनि सब्जी मण्डी भन्दा त्यो भारतीय भाषा हो भन्ने लाग्छ । तर, मैले सब्जी मण्डी भन्दै बालापन गुजारे पनि त्यसलाई लेखनमा उतार्न सकिनँ ।

अमेरिकी कालाहरुका साहित्यमा उनीहरुका आफ्ना भाषा यसरी लेखे, उनीहरुको भाषा अंग्रेजी मूलधारले स्वीकार गर्‍यो। नेपाली साहित्यमा अवधी भाषी रुपनारायण सिंहले पनि आफ्ना भाषा राखेनन् । उनी पनि डराए । यही कारणले नेपाली साहित्यले पूरै नेपालको प्रतिनिधित्व गर्दैन ।

भनेपछि नेपाली साहित्यलाई के भन्नुहुन्छ ?

चाहे राजनीति होस् वा साहित्य, नेपालको पूर्वी पहाडी क्षेत्र राम–लक्ष्मण भए । उनीहरुले सबै कुराको प्रतिनिधित्व गरे । बाँकी नेपाल उनीहरुको बानर सेनाजस्तै पछि लाग्यो । आफ्नो सारा अस्तित्व राम राज्य भन्दै समर्पण गरे । अझ मधेसमा त के अवस्था छ भने कसैले अमिलो पिरो नभएको खाने कुरा खाए भने कस्तो नेपालीले खाएजस्तो भन्ने गरिन्छ । मानौं, उनीहरु नेपाली नभएर अरु नै हुन् । उनीहरु आफैंले आफैंलाई पहाडी समुदायभन्दा तलका जाति हौं भनेर स्वीकार गर्दै दसकाै‌ बिताए । जसको फाइदा केन्द्रले लियो ।

तपाईंका यस्ता अथाह ज्ञान अरु पुस्तकमा पाइन्छ कि ‘काठमाडौंमा एक दिन’ पढेरै चित्त बुझाउनुपर्छ ?

आफ्नो क्षमता नचिनिञ्जेलसम्म मैले अरु काम गरेँ । मोडलिङ वा टेलिभिजनकर्मीका रुपमा चर्चित हुँदाहुँदै लेखक हुनकै लागि भूमिगत हुनुमा यही कारण हो । म लेख्न जन्मिएकी हुँ । जब नाटक ‘भर्जुअल रियालिटी’ ले चर्चा पायो र भारतमा समेत यसको प्रदर्शन भयो, मैले मेरो सपना यही हो भन्ने बुझिहालें । यसले दिने सन्तुष्टि शब्दमा व्यक्त गर्न कठिन छ ।

मलाई मोडलिङ गर्दा पाएको चर्चा भन्दा वेभ म्यागेजिनमा पाएको दुई–चार सय पारिश्रमिक ठूलो लाग्थ्यो । यस हिसावले भन्न सक्छु, ढुक्क हुनुहोस्, म लेखिरहनेछु ।

चाहे एउटा उपन्यास लेख्न ९ वर्ष नै किन नलागोस् होइन ?

(लामो हाँसो) हो । भारतीय लेखिका अरुन्धती रायले एउटा उपन्यास लेख्न २० वर्ष लगाएकी थिइन् । लेखक आफू सन्तुष्ट नभई पाठकलाई सन्तुष्टि दिन सक्दैन ।

अब अर्को उपन्यास पढ्न कति समय पर्खनुपर्ला ?

पहिले ‘काठमाडौंमा एक दिन’ पढेर आनन्द लिनुहोला । अहिले नै अर्को उपन्यासको चिन्ता किन गर्ने ?

 

तपाईको प्रतिक्रिया