तस्वीरमा देखिएकी रहरलाग्दी बालिका हुन्, सुविहानी । धुर्मुस र सुन्तलीकी एक्ली छोरी । उनी आजबाट चार पुरा भएर पाँच वर्ष लागिन् । धुर्मुस–सुन्तलीले बिहे गरेको चार वर्षपछि २०७० सालमा उनी जन्मेकी हुन् । ‘सुुन्तलीले बिहानै पाएकी’ भनेर धुर्मुसले ‘सुविहानी’ नाम जुराएका थिए । उनी अहिले ललितपुरस्थित एउटा विद्यालयमा नर्सरीमा पढ्दैछिन् । सुन्तलीको भनाईमा सुविहानीको अनुहार बाबु धुर्मुससँग काटिकुटी मिल्छ भने स्वभाव दुवैको मिश्रित छ ।

आफ्नो छोरीको विषयमा सुन्तली अरु के–के भन्छिन् त ? उनकै शब्दमाः

छोरी ३ महिनाकी हुँदादेखि दिदी–भिनाजुको जिम्मामा छोडेर कार्यक्रमहरुमा हिँड्न थाल्यौं । छोरीले जन्मेदेखि नै मेरो दुध नखाएकीले छोडेर हिँड्न सजिलो भयो । त्यसमाथि मेरो दिदीभिनाजुले हामीले भन्दा राम्ररी स्याहारेर राख्नुहुन्थ्यो, त्यसैले ढुक्क भएर हिँड्न सक्थ्यौं ।

तैपनि त्यति सानी छोरीलाई छोडेर विदेश जाँदा मन खिन्न हुन्थ्यो । पहिलोचोटि छोडेर कतार जाने बेलामा त म एयरपोर्टमा ग्वाँ ग्वाँ रोएकी थिएँ । बिस्तारै बानी पर्न थालेँ । विदेश जाँदा धेरै फ्यानहरुले छोरीका लागि उपहार पठाइदिनुहुन्छ । कसैले ब्याग, कसैले ड्रेस त कसैले गुडिया दिनुहुन्छ । हामीले धेरै किनिदिनै पर्दैन ।

२०७१ सालमा भुकम्प आएर हामी एकीकृत वस्ति निर्माणमा होमिँदा छोरी भर्खर १६ महिनाकी थिई । त्यसपछिका दिनहरुमा त झनै छोरीलाई टाइम दिन सकेनौं । म त बेला–बेला काठमाडौं आउँथेँ । सितारामजी त महिनौसम्म पनि छोरीलाई भेट्न नपाउने । त्यतिबेला धित मर्नेगरी खेलाउन पनि पाउनु भएन । छोरीलाई समय दिन नसकेकोमा अफशोस मान्नुहुन्थ्यो ।

छोरी ज्ञानीे छ । त्यति झगडा गर्दिन । तर, घरबाट बाहिर निस्कने बेलामा भने ठूलै युद्ध लड्नुपर्छ । लुगा लगाएको देख्नासाथै पछ्याउन थालिहाल्छे । तर, स्कुल जाने भएपछि अलि सजिलो भएको छ । पढ्न पनि निकै मन गर्छे । स्कुलबाट आउनासाथै खानुभन्दा अगाडि होमवर्क झिकिहाल्छे । खुवाउन चाहिँ अली गाह्रो छ । जे पायो त्यही खाइदिन्न । मसित अलि डराउँछे । तर बाबुसित फिटिक्कै डराउँदिन ।

छोरीले अहिलेदेखि नै कलाकार बन्ने छाँटकाट देखाउन थालेकी छे । बुवाले जस्तै मुख बिगारेर क्यारिकेचर गर्न खोज्छे । मैले जस्तै कम्मर मर्काएर नाच्छे । गीत सुन्नासाथ कम्मर मर्काउन थालिहाल्छे । फिलिङ्सका साथ नाचेको देख्दा पो अचम्म लाग्छ । कुटुमा कुटु, रुपै मोहनी, कालेदाई जस्ता चलेका गीतहरु उसलाई औधि मन पर्छन् ।

छोरी ठूलो बनेर के बन्छे थाहा छैन । यही नै बन्नुपर्छ भन्ने हाम्रो त्यस्तो केही छैन । कलाकारीतामा नै आउन खोजि भने पनि ठिकै छ । तर मेरो इच्छा चाहिँ पहिले आफ्नो पढाई राम्ररी पुरा गरोस भन्ने हो । हातमा डिग्री भएपछि धेरै अवसरका ढोकाहरु खुल्छन् ।

छोरी पाएपछि थाहा भयो, सन्तानको माया भनेको वास्तवमा अचम्मको हुँदो रहेछ । सन्तानले उर्जा पनि दिने रहेछन् र कमजोरी पनि बन्ने रहेछन् । उनीहरुलाई छिसिक्क केही हुँदा पनि मन रुँदो रहेछ । सन्तानको खुशी नै आफ्नो खुशी हुँदो रहेछ ।

तपाईको प्रतिक्रिया