काठमाडौं -३० साउन २०१३ मा जन्मिएका खतिवडाले मेची क्याम्पस भद्रुपरबाट इकोनोमिक्स विषयमा स्नातकसम्मको अध्ययन गरे । त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट ०३७ मा अर्थशास्त्रमा र ०४० मा जनप्रशासनमा स्नातकोत्तर गरेका हुन् । खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट ०४७ मा वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका हुन् ।

सहायक अनुसन्धान अधिकृतका रूपमा ०३९ मा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका उनले त्यहाँ करिब २० वर्ष बिताए । खतिवडा ०५७ मा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए । राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखका रूपमा करिब तीन वर्ष काम गरेपछि उनी ०५८ देखि २०६१ सम्म राष्ट्रिय योजना आयोगको सदस्य भए । उनले त्यसवेला पञ्चवर्षीय योजना तर्जुमा महत्वपूर्ण योजना दिएका थिए ।

योजना आयोग छाडेपछि ०६२ देखि तीन वर्षसम्म युएनडिपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा काम गरे । त्यसपछि नेपाल फर्किए । असार ०६६ मा उनलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरे । आयोगको उपाध्यक्षमा नौ महिना काम गरेर उनले राजीनामा गरे । ९ चैत ०६६ मा उनी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भए । गभर्नरको पाँचवर्षे कार्यकाल सफल भएको सरोकारवाला बताउँछन् ।

०७२ मा पुनः योजना आयोगको उपाध्यक्ष बने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णु पौड्यालसँग अर्थशास्त्रको ज्ञान नभएको भन्दै खतिवडालाई छाया अर्थमन्त्री पनि भन्ने गरिन्थ्यो । उनले महेन्द्र विद्या भूषण, सुप्रबल गोर्खा दक्षिणबाहुलगायत सम्मानसमेत पाएको आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया