काठमाडौं – महाशिवरात्री मेलाको अवसरमा पशुपतिनाथ आएका साधुसन्तलाई बिहीबार बाटो खर्चसहित बिदाइ गरिएको छ।  गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित महाशिवरात्री मेलामा आएका साधुसन्तहरुलाई विवाद गरेका हुन्।

पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि बिहीबार विहान एक कार्यक्रमगरी उनीहरुलाई बाटो खर्चसहित विदाई गरिएको छ। जस अनुसार दिगम्बर साधुहरुलाई गुठी संस्थानले १ हजार ७ सय ५१ र कोषले १ हजार १ सय रुपैयाँ, जमातीय साधुहरुलाई गुठीले १ हजार ५ सय ५१ र कोषले ८ सय १, नागा साधुलाई गुठीले १ हजार ३ सय ५१ र कोषले ७ सय १, अवदुत महापुरुष साधुलाई गुठीले १ हजार १ सय ५१ र कोषले ५ सय १ रुपैयाँ नगद बाटो खर्चसहित विदाई गरेको हो। साधुसन्तहरुलाई बिहीबार विहानसम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए।

साधुसन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो। परापूर्व कालदेखिनै महाशिवरात्री मेलामा आएका स्वदेशी तथा विदेशी साधुसन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाईका क्रममा कोषले साधुसन्तहरुलाई रुद्राक्षको माला समेत लगाइ दिएको थियो।

तपाईको प्रतिक्रिया