कृष्ण सुनुवार

काठमाडौ – पछिल्लो समय निकै चर्चामा रहदै आएकी कवयित्री सुनिता खनालको कविता संग्रह ‘ओ नायक’ सार्वजनिक भएको छ । हिजो नेपाल प्रज्ञाप्रतिष्ठान डबली काठमाडौमा आयोजित एक भव्य र फरक कार्यक्रमका माझ उक्त कविता संग्रहको विमोचन भएको हो ।

नेपाली साहित्यमा छुट्टै परिचय स्थापित गरेका शिखर ब्याक्तित्वहरु श्यामल, श्रवण मुकारुङ तथा मोमिला लगायतका कविहरुको उपस्थिती माझ खनालको कृति ‘ओ नायक !’ को विमोचन गरिएको थियो भने त्यो सँगै कार्यक्रममा नेपाली कविताको अवस्थाबारे बहस पनि संचालन गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै कवयित्री मोमिलाले युवा प्रतिभा सुनिता खनालका कविताहरु शक्तिशाली भएको धारणा राखिन् । त्यस्तै उक्त कार्यक्रममा श्रवण मुकारुङ, श्यामल लगायतले पनि बोल्दै सर्जक खनाललाई बधाई तथा शुभकामना दिनुका साथसाथै परिवर्तित समयलाई सर्जकहरुले आत्मसात गर्न सक्नुपर्ने र कविता जस्तो विधामा कलम चलाउदा समयको सान्दर्भिकता र विषयको यथार्थतामा बिचार पुर्याउनु पर्ने तर्क राख्दै सुनिताको कविताहरुमा त्यो विशेषता भेट्न सकिने बताएका थिए।

कवयित्री सुनिता खनालको पहिलो कविता संग्रह हो ‘ओ नायक !’ चार खण्डमा विभाजित संग्रहमा फरकफरक समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित गरी ३६ वटा कविता समेटिएका छन् । उक्त विमोचन कार्यक्रम फरक र विशेष यो अर्थमा पनि थियो कि धेरै समयपछि हिजो फेरि एक पटक नेपाली कविताका बारेमा घनिभूत विमर्ष हुने मौका जुराएको थियो प्रज्ञाप्रतिष्ठानको डबलिमा कार्यक्रमले ।

२५० रुपैयाँ मुल्य राखिएको उक्त संग्रह ‘ओ नायक !’ लाई फिनिक्स बुक्स,काठमाडौले बजारमा ल्याएको हो ।

के छुट्यो तिम्रो मुहारबाट ?
आधा फक्रेका गुलाफी ओठमा आगो छ
झीलजस्ता आँखामा छ सपना झरेको पैह्रो
सधैँ हिमाल भइरहने नाकमाथि छ अस्ताएको घाम । –
अन्तमा – ‘ओ नायक !’ बाट…

तपाईको प्रतिक्रिया