विजय भुसाल/नुवाकोट । ‘दिदी महिनाको ४५ हजार कमाइ हुन्छ । जाने हो?,’ नुवाकोटककी कविता (नाम परिवर्तन) लाई मामाकी छोरीले फोनमा कतार जाने प्रस्ताव राखिन् । गाउँमै काम गरिराखेकाले कविता दुविधामा परिन् । कतारमा हुने ४५ हजार रुपैयाँ कमाइले उनलाई लोभ्यायो ।

‘यहाँ जम्मा १२ हजार तलब हुन्छ । त्यहाँ त ४५ हजारसम्म भयो भनि त २-३ वर्ष बस्दा १०-१२ लाख नै हुने । त्यो पैसाले त घर बनाउँछु जस्तो लाग्यो,’ कविताले भनिन् ।

त्यतिबेला उहाँ नुवाकोठकै एउटा होटलमा खाना पकाउने काम गर्नुहुन्थ्यो । खाना मिठो पकाउने भएकाले होटलमा ग्राहक पनि बढेका थिए । ‘तलब बढाउने कुरा पनि भइरहेको थियो । घर जाने आउने छुट्टी पनि पाइन्थ्यो,’कविताले सुनाइन ।

‘साहुले तलब बढाएर दिए पनि कति चाहिँ बढ्ला र,’ कविताले १२ हजार र ४५ हजार रुपैयाँको तुलना गरिन् । त्यति नै काम गर्दा धेरै पैसा कमाइने भएपछि उनले कतार जाने निधो गरिन् ।

कवितालाई कम्पनीमा सरसफाइको काम गर्नुपर्ने बताइन मामाकी छोरीले । त्यसका लागि उनले १ लाख रुपैयाँ तिर्नुपर्ने भयो । तर त्यसमा पनि मिलाउन सकिने बताएकी थिइन मामाकी छोरीले ।

कविताको विदेश जाने कुरा सुनेपछि परिवारले नजान आग्रह गरे । तर कविताले कतारमा हुने कमाइ बाहेक दोस्रो कुरा सोचिनन् । फेरि विदेशको प्रस्ताव राख्ने पनि आफ्नै मामाकी छोरी भएकाले विदेशमा अप्ठेरो पर्दैन भन्नेमा ढुक्क थिइन् उनी ।

कविता कतार जाने पक्का भयो । मामाकी छोरीले काठमाडौंमा विदेश पठाउने मानिसलाई भेटाइदिइन् । रचना नाम गरेकी उनले कवितालाई कतार जान ९० हजार रुपैयाँ पनि दिने भइन् । कविता गएको साउन ६ गते कतार उडिन् ।

कविताले श्रम स्वीकृती लिएपछि मोबाइलबाट कम्पनी, काम र तलबको बारेमा बुझ्न सकिन्छ भन्ने जानकारी थियो । उनले म्यासेजबाटै श्रम स्वीकृति भए नभएको पनि बुझिन् । ‘म्यासेजमा १ हजार रियाल मात्रै तलब हुने देखायो । मैले दलाललाई सोधेको ।

उसले त ओभरटाइम हुन्छ के के भनेर ४५ हजार नै हुन्छ भन्यो,’ उनले भनिन् । गएको साउन ६ गते कतार जानका लागि विमानस्थल पुग्दा उहाँसँगै जान लागेका अरु महिलालाई पनि भेटिन् ।

‘कतारपुगेपछि खान पनि पाइएन्’
कतारपुगेपछि त उनले सोचेजस्तो भएन् । कम्पनीका मान्छे लिन आएनन् । कविता जस्तै रोजगारीका लागि पुगेका महिलाहरु राखिएको कोठामा उहाँलाई राखियो । ‘कामको त परको कुरा त्यहाँ खाना खान पनि पाइएन । कसैले वस्ता गरेनन् । त्यहाँ भएका नेपालीसँग मागेर खाइयो,’ कविताका कतारमा यसरी नै २ महिना बिते ।

दुई महिनापछि काम त मिल्ने भयो तर घरमा । काम्पनीको काम भनेर गएकी कवितालाई घरको काम भनेर एक जना महिलाले सुनाएकी थिइन् । घरको काममा दुःख हुन्छ, राम्रो हुँदैन भनेर कविताले सुनेकी थिइन् । आफूले पनि घरको काम गर्नुपर्ने भएपछि कविता छाँगाबाट खसे झैं भइन् ।

कविताले घरमा फोन गरेर आफ्नो अवस्था बारे बताएकी थिइन् । छोरीलाई विदेशमा अप्ठेरो परेको पत्तो पाएपछि कविताका परिवारले म्यानपावरलाई घर फर्काउन दवाव दिइरहेका थिए । म्यानपावरसँगै विभिन्न ठाउँमा कवितालाई फर्काउन अनुरोध गरेका थिए ।

कविताले कतारमा घरको काम गर्न थाल्नुभएको थियो । तर बिहानदेखि बेलुकासम्म घरको काम, त्यो पनि भोकभोकै गर्नुपर्ने भएपछि कवितासहित केही महिलाले काममै नजाने निधो गरे ।

काम छोडेको केही दिनमा कविताको घर फर्कने टिकट पनि तयार भयो । ‘टिकट काटियो भनेको सुन्दा त बल्ल बाँचे जस्तो लाग्यो । मामाको छोरीले त्यस्तो गरिन् के गर्नु अनेक भोग्न पर्ने,’ विदेशका दुःख सुनाउँदा कविताको अनुहारमा पीडाले झ्याप्पै छोप्यो ।

कमाउने सपना बोकेर परदेशिएकी कविताले पैसाको सट्टा जीवनभरी पुग्ने दुःख कमाएर फर्किइन् । अहिले उनी नुवाकोटमा रहेको सामी परियोजनाले संचालन गरेको सूचना केन्द्रले दिएको सिलाई कटाइको तालिम लिइरहेकी छिन् ।ujyaaloonline.com

तपाईको प्रतिक्रिया