यौन शिक्षाका कारण यौन र प्रजननप्रतिको निषेधको मनोविज्ञान क्रमशः सकारात्मक बन्दै छ । स्कुलमा पढ्ने किशोरकिशोरीले पनि यसलाई सहज रूपमा ग्रहण गर्न थालेका छन् । अहिले निजी स्कुलमा अध्ययनरत विद्यार्थीमात्र नभएर सरकारी स्कुलमा अध्ययनरत किशोरकिशोरी र शिक्षक यौनका विषयमा कुनै संकोच मान्दैनन् । सत्य, तथ्य जानकारी लिन्छन् । इन्टरनेटको सहज पहुँचका कारण पनि कतिपय स्कुलमा यौन तथा प्रजनन स्वास्थ्यका केही कुरामा त शिक्षकभन्दा विद्यार्थी अगाडि छन् । सरकारी स्कुलमा अध्ययनरत विद्यार्थीमात्र नभएर अधिकांश स्वास्थ्य शिक्षा पढाउने शिक्षक पढाउदा संकोच मान्ने एउटै कारण हो, स्वास्थ्यमा समावेश यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समेटिएको विषयवस्तु ।

स्कुल शिक्षामा कक्षा ६ देखि ८ सम्म स्वास्थ्य जनसंख्या र वातावरण शिक्षा विषयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तु समावेश गरिएको छ भने कक्षा ९ मा स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षालाई अनिवार्य बनाइएको छ । कक्षा ११ र १२ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अलग्गै विषयको रूपमा पढ्न पाइन्छ । यी विषयमा महिला र पुरुषका प्रजनन अंगहरू, सुरक्षित यौनसम्पर्क, किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन, प्रजनन प्रक्रिया, एचआईभी, एड््स, स्वप्नदोषलगायतका विषयवस्तु समावेश गरिएको छ ।

यिनै विषयवस्तु बढाउँदा लजाउने शिक्षक अहिले निःसंकोच पढाउन थालेका छन् । शिक्षक र विद्यार्थी दुवैले यस विषयमा तालिम पाएपछि उनीहरू यौन र प्रजनन स्वास्थ्यका विषयमा खुलेर छलफल गर्न थालेका हुन् । शिक्षकको एकल प्रयासले मात्र नभएर विद्यार्थी र समाजको ज्ञानको दायरा फराकिलो हँुदै गएपछि यी विषय पढाउनु सहज बन्दै गइरहेको सिन्धुपाल्चोकस्थित कालिका मावि टेकानपुरका शिक्षक रमेश यादव बताउँछन् । ‘पहिले त यौन स्वास्थ्यका कुरा कक्षामा पढाउदा भुतुक्कै भइन्थ्यो ।

अहिले त्यो अवस्था हट्दै गइरहेको छ, उनले भने । कक्षाकोठाभित्र पढाइएको विषयवस्तु अपुग भएकाले यहाँका युवा किशोरकिशोरीले यौन शिक्षासम्बन्धी आवश्यक जानकारी गराउन युवा सूचना केन्द्र स्थापना गरेका छन । सूचना केन्द्रमा यौन स्वास्थ्यका विषयमा निःसंकोच छलफल गर्ने र समस्याको हल खोज्ने गर्छन् । यादवका अनुसार किशोरकिशोरीबाट यहाँका अभिभावकहरूले समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा थाहा पाउन थालेका छन् ।

किशोरकिशोरीले यौन शिक्षाका साथै विवाह गर्ने उमेरका विषयमा सही सूचना प्रवाह गर्दै बाल विवाह रोक्ने अभियान थालेपछि अहिले सिन्धुपाल्चोकका अधिकांश गाउँमा बालविवाह हुन छाडेका छन् । टेकानपुरका स्थानीय लक्ष्मण भट्टराई भन्छन्, ‘पहिलेपहिले २० वर्ष पार गरेका अविवाहित केटी भेट्नै सकिँदैनथियो, जसका कारण अधिकांश महिला प्रजनन स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्नु परिरहेको हुन्थ्यो भने अहिले अधिकांश केटीको विवाह २० कटेपछि मात्र हुन थालेको छ ।’

पछिल्ला केही वर्षयता इन्टरनेटको पहुँच बढ्दै गएपछि यौन तथा प्रजनन स्वास्थ्यका विषयमाथि विद्यालयमा पनि खुल्ला छलफल हुन थालेको पद्मोदय उच्च मावि काठमाडौंका शिक्षक विनोद भट्ट बताउँछन् । अधिकांश विद्यार्थीले यस विषयमा आवश्यक सूचना इन्टरनेटबाट थाहा पाइसकेका हुनाले पनि शिक्षकलाई विषयवस्तु पढाउन सहज भएको भट्टको अनुभव छ । धेरैजसो स्कुलमा अंग्रेजी, गणित, विज्ञान, नेपाली विषयको छुट्टै विषयगत शिक्षक हुने भए पनि स्वास्थ्य शिक्षा पठाउने छुट्टै शिक्षकको दरबन्दी छैन ।

जसका कारण यस विषयमा राम्रो दक्खल नभएका र तालिम नलिएका शिक्षकले पढाउँदा समस्या आउने गरेको शिक्षकहरू बताउँछन् । तर पछिल्ला वर्ष स्वास्थ्य विषय पढाउने सरकारी स्कुलका अधिकांश शिक्षकले तालिम पाएका छन् । पहिले स्कुलमा पाठ्यपुस्तकबाहेक यसका विषयमा पढ्न र जान्न खोज्नेका लागि कुनै पाठ्यसामग्री थिएन । अहिले परिवार नियोजन संघको सहयोगमा सरकारी स्कुलमा सन्दर्भ सामग्रीको रूपमा पाठ्यपुस्तक उपलब्ध छन् । यी पाठ्यसामग्रीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी दिइएको छ । स्कुलस्कुलमा इन्टरनेटको सुविधा छ ।

जसका कारण यो विषय सहज बन्दै गइरहेको शिक्षकहरू बताउँछन् । बैतडीको श्रीकेदार नगार्जुन उच्चमाविका पूर्वशिक्षक हरिश चन्द भन्छन्, स्वास्थ्य विषयमा कक्षा ९ मा प्रजनन प्रणाली भन्ने पाठ पढाउन समस्या हुन्थ्यो । शिक्षकले उदार भएर मात्र नहुने रहेछ । विद्यार्थी नै यौन स्वास्थ्यको कुरा गर्दा मुख छोप्ने गर्थे । त्यो पाठ पढाइ सकेपछि स्वास्थ्य शिक्षाको पूरै कोर्स पढाइसकेको अनुभूति हुने गरेको चन्द स्मरण गर्छन् । गाउँगाउँमा स्थापना भएका आमा समूहहरूले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ ।

 

तपाईको प्रतिक्रिया