Loading…

Loading…

काठमाडौं – खाली जमिनको तीनतिरै फराकिला सडक छन् । सडक किनारमा साँघुरै भए पनि टायल बिच्छ्याएर फुटपाथ बनाइएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ । धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठूला मालवाहक ट्रक रोकिएका छन् त कतै रात्रिबस। ट्याक्सी, टिपर, टाटा मोबाइल सबैको पार्किङ स्थल पनि यही हो । बचेको ठाउँमा गाडी र मोटरसाइकल सिक्ने पनि भेटिन्छन् । यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने ।

यसलाई ‘तीनुकने पार्क’, ‘आधुनिक बगैंचा’, ‘तीनकुने शान्ति मण्डला’ अनेक नाम दिइएको छ । तर, यो एउटा यस्तो पार्क, बगैंचा र मण्डला हो जहाँ तपाईंले न एउटा फूल भेट्टाउनुहुन्छ न ठूलो रूख नै । अहिलेसम्म तीनकुनेलाई लिएर धेरै योजना बने तर एउटै पनि कार्यान्वयन भएन । बितेको तीन वर्षमा तीनकुनेमा पार्क, बगैंचा र मण्डला बनाउने नाममा करिब डेढ करोड रुपैयाँ खर्च भएको छ । डेढ करोड रुपैयाँले तीनकुनेमा के बन्यो ? अहिले देखाउन मिल्ने केही छैन । तीनकुने ब्रह्माण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै भएको छ, प्रत्येक वर्ष लाखौं रुपैयाँ निल्छ तर कहाँ जान्छ र के बन्छ केही देखिँदैन ।

‘अस्थायी रुपमै भए पनि केही गरौं भन्ने सोचाइले तीनकुनेमा बेलाबेलामा काम भएको छ,’ तीनकुनेलाई सुन्दर बनाउने जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले नागरिकसँग भने, ‘कहिले विदेशी आँउदा छेक्न प¥यो भनेर जस्ताको बार लगाइयो, कहिले मण्डला बनाउने योजना बन्यो, तर विभिन्न कारणले सबै काम रोकिए । अब तीनकुनेलाई राम्रो पार्कको रुपमा विकास गर्न स्थायी समाधान खोज्नुपर्छ ।’

तीनकुनेलाई आकर्षक पार्क बनाउने योजना धेरै पहिलाबाट सुरु भएको हो । सन् २००२ जनावरी ४ देखि ६ सम्म काठमाडौंमा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को ११औं शिखर सम्मेलन हुँदा पनि तीनकुनेमा रातारात पार्क बनाइएको थियो । दुई चारवटा रुख, सानो पोखरी, हरियो दुबो तीनकुनेमा रातारात उम्रिएका थिए । त्यतिबेला कति खर्चमा त्यो तामझाम गरिएको थियो हिसाब महानगरपालिकासँग छैन । त्यो तामझाम लामो समय टिक्न सकेन । शिखर सम्मेलन सकियो, पार्कको आयु पनि सकियो ।

‘सन् २००२ मा सार्क सम्मेलनका बेला तीनकुनेमा पार्क निर्माण गर्दा ठ्याक्कै कति खर्च भएको हो मलाई सम्झना छैन । तर त्यतिबेला सरकारले धेरै खर्च गरेको छैन । केही व्यक्तिले सहयोग पनि गरेका थिए,’ तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापितले भने ।

काठमाडौं महानगरपालिकामा सन् २०१४ को अन्तमा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन भएयता तीनकुनेका नाममा भएको खर्चको विवरण भने भेटिन्छ । २०१४ नेभेम्बर २६ र २७ गते सम्पन्न सार्क सम्मेलनअघि पनि तीनकुनेमा बगैंचा बनाउने कुरा उठ्यो । बगैंचा बनाउन सरकारले एक करोड रुपैयाँ छुट्यायो । तर पार्क बनेन । सार्क नजिकिएका कारण पार्क बनाउन नभ्याइने बताउँदै महानगरपालिकाले अन्तमा तीनकुनेलाई जस्तापाताले बार्ने काम ग¥यो । – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

Loading…