Loading…

Loading…

पछिल्लो डेढ वर्षमा प्राप्त आफ्नै सफलताले बेलाबेलामा आफैँ झस्किन्छन् मीरा राई, २४ । अल्ट्रा म्याराथनमा इटाली, फ्रान्स, हङकङ पुगेर राखेका सारा रेकर्ड उनलाई सपनाजस्तै लाग्छ । भोजपुरको विकट गाउँ दुम्माको गरिब परिवारमा जन्मिएकी मीराले अल्ट्रा म्याराथनमा पाइरहेको ‘ग्लोबल स्टारडम’ साँच्चै झस्काउने खालकै छ । अनि सिनेमाभन्दा कम अपत्यारिलो छैन उनले भोगेको जीवन । धेरै द्वन्द्व र संकट आए । तैपनि, हरपल डटिरहिन् । र, अहिले सुपरहिरोले जस्तै सफलता पाइरहेकी छन् ।

अघिल्लो वर्षको असोजमा इटालीमा सम्पन्न ५७ किलोमिटरको सेल्लारोण्डा ट्रेल रेसमा रेकर्डसहित उपाधी चुमेर मीराले अन्तर्राष्ट्रिय अवार्डको खाता खोलिन् । त्यसको दुई हप्तापछि इटालीमै भएकै ८३ किमिको ट्रेल डेगी एरोइमा अब्बल दरिइन् । त्यसपछि अल्ट्रा म्याराथनको अन्तर्राष्ट्रिय प्रतियोगितामा मीराको नाम अग्रपंक्तिमा आउन थाल्यो ।

इटालीमा अवार्ड जितेको एक महिनापछि हङकङमा आयोजित एमएसआईजी एचके रेसमा चम्किन् मीरा । ५० किमी पाँच घण्टा ३० मिनेट ३३ सेकेन्डमा पूरा गरेर महिलातर्फ प्रथम र समग्रमा पाँचौँ भइन् । त्यसको तीन महिनापछि हङकङमै ५० किमिको स्काई रनिङ एसियन च्याम्पियनसिमामा रेकर्ड राखिन् । मीराको सफलता यत्तिमै रोकिएन, गत असारमा उनले फ्रान्समा अर्को ख्यातिप्राप्त उपाधि जितिन् । ८० किमी ब्लक प्याराथन १२ घण्टा ३२ मिनेट ३२ सेकेन्डमा पार गरेर मीरा उत्कृष्ट ठहरिएकी हुन् । एक वर्षको अवधिमा पाँच अन्तर्राष्ट्रिय ट्रेल रेस जित्नु सुपरहिरोको भन्दा कम हो र ?

बाहिरबाट हेर्दा मीराले छोटै समय र संघर्षमा लोभलाग्दो सफलता पाइन् । तर, यहाँसम्म आइपुग्न उनले बेहोरेका हन्डर र संघर्षका सामु भने यो उपलब्धी फिक्का लाग्छन् ।

इटालीमा उपाधि जित्नु पहिले मीराले चैन र सुखको सास फेरेको सायदै कुनै दिन थियो । भन्छिन्, “बाल्यकाल सम्झँदा भोकभोकै घाँस, दाउरा काटेको, भारी बोकेर उकालो–ओरालो गरेको र गोठालो गएको मात्र याद आउँछ ।” योभन्दा दुखलाग्दो कुराचाहिँ, चरम गरिबीका बीच १५ वर्षकी हुँदा पढाई छाडेर बन्दुक बोकिन् । दुई वर्षपछि अयोग्य लडाकूमा दर्ज भएर अपमानजनक बर्हिगमन सहनुपर्‍यो । उनकै शब्दमा अनमिनले अयोग्यको ट्याग भिराइदिएपछि उनको भाग्य खुल्यो । भाग्य खुल्नु अगाडिको कथाचाहिँ असाध्यै पीडादायी छ ।

धनकुटाको लेगुवाबाट चार घण्टा हिँडेपछि बल्ल मीराको गाउँ दुम्मा–९, घोर्लेवन पुगिन्छ । जंगलको बीचमा मीराको सहित जम्मा तीन घर छन् । अर्को गाउँ पुग्न वा खानेपानी लिन आधा घण्टा हिँड्नुपर्छ । बुबाआमाले पढ त भन्थे तर पढ्ने वातावरण थिएन । न कपिकलम किन्न पैसा थियो, न पढ्ने समय नै । एक घण्टा दौडिएपछि बल्ल स्कुल पुगिन्थ्यो । घाँस, दाउरा र वस्तुभाउको हेरविचार गर्दैमा स्कुल जान भ्याइनभ्याइ हुन्थ्यो । यस्तै पीडाका बीच पनि मीराले ६ कक्षा पास गरिन् ।

 

कपिकलम र नुनतेलको जोरजाम गर्न धनकुटाको हिलेबाट आफूभन्दा ठूलो भारी बोकेर घरसम्म ल्याउँथिन् र नाक ठोक्किने उकालो र खुट्टा थरथराउने ओरालो पार गर्दै च्याग्रेबजार लगेर बेच्थिन् । तर ७ कक्षा पुगेपछि च्याग्रेबजारसम्मै गाडी आउन थाल्यो । यातायात विस्तार हुनु आफैँमा विकास थियो तर, यही विकास मीराको जीवनमा विनाश बनेर आयो । अब उनले भारी बोकेर दुईचार पैसा आर्जन गर्न नसक्ने भइन् । ती कठिन दिन यसरी सम्झन्छिन्, “त्यसपछि चाहिँ मलाई साह्रै विरक्त लाग्न थाल्यो । कतै टाढा भाग्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो ।” टाढा त कहाँ जान पाउँथिन् र स्कुल नजिकै तत्कालिन विद्रोही माओवादीले सुरु गरेको शिविरमा पुगिन संयोगले ।

जम्मा एक हप्ताका लागि भनेर शिविर छिरेकी मीरा दुई वर्ष घर फर्कन पाइनन् । शान्तिप्रक्रिया सुरु भएकाले भोजपुरको अस्थायी शिविरबाट उदयपुरको बेलसोत शिविरमा स्थानान्तरण भइन् ।

बाबुआमासँग कुनै सम्पर्क थिएन । एकैपटक सात महिनापछि लडाकू पोशाकको पासपोर्ट साइज फोटो र सानो पत्र पठाइन् । शिविर बसाईंका क्रममा शारीरिक अभ्यास कडा हुन्थ्यो । शिविरकी सबैभन्दा कान्छी लडाकु उनै थिइन् । ०४७ मा जन्मिए पनि दुई वर्ष बढाएर ०४५ बनाइएको थियो । सिंगान चुहाउँदै अभ्यास गरे पनि सबै खेलमा उनै अब्बल दरिन्थिन् । उनले सम्झिइन्, “कमाण्डरले केटी भए पनि केटाजस्तै बलियो छौ भन्नुहुन्थ्यो । यसले मेरो इच्छाशक्ति र आत्मविश्वास बढायो ।”

तर, लडाकू प्रमाणीकरणका क्रममा अयोग्य ठहरिएपछि तत्कालको लागि उनका सबै सपना तुहिए । हातमा दस हजार थमाएर घर फर्काइयो । तर, ग्लानीबोधले गर्दा उनलाई घर जाने आँट आएन । त्यसैले आफूजस्तै अयोग्य भएका साथीसँगै सिन्धुली पुगिन् ।

०६८ सालमा एसएलसी पास भइन् । १८ महिने जेटिए कोर्स गरिन् । तर, जति भौतारिँदा पनि जागीर पाइनन् । उता, घरको आर्थिक अवस्था अझ नाजुक हुँदै थियो । त्यसपछि मलेसिया जानुको विकल्प रहेन उनीसँग । भिसा आयो पनि । तर, जानुअघि शिविरका कराँते गुरु ध्रुवविक्रम मल्ललाई फोन गरिन् । धु्रवले उनलाई मलेसिया जान दिएनन् किनभने उनले शिविरमै मीराको क्षमता भेउ पाइसकेका थिए । त्यसैले काठमाडौँ बोलाएर तालिम र बसाईको बन्दोवस्त मिलाइदिए । मीराले भावुक हुँदै सुनाइन्, “धु्रव गुरु नभएको भए यतिबेला म मलेसियामा पसिना बगाइरहेको हुन्थेँ ।”

काठमाडौँ बसाई उनले सोचेजस्तो सहज भएन । चना पनि नियमित खाने अवस्था थिएन, पानीको भरमा रोड रनिङ गर्नुपथ्र्यो । तैपनि, उनले कहिल्यै हरेश खाइनन् । ०७० को अन्त्यमा आयोजना गरिएको ५० किमिको हिमालय आउटडोर रेसले उनको क्षमताको ढोका उघार्‍यो । कठोर जाडोमा सुतीको टिसर्ट र ट्राउजर लगाएर एक बोतल पानीको भरमा रेसमा सहभागी भइन् । प्रथम पुरस्कारसहित सात हजार जितिन् । भन्छिन्, “दुई–तीन महिना चना खान पुग्ने भएकाले प्रथम भएको भन्दा सात हजार पाउँदा खुशी थिएँ ।”

यही रेसपछि उनी पहाडी गोरेटे लामो र कठिन दौड अल्ट्रा म्याराथनका आयोजकको आँखामा परिन् । अर्को महिना मुस्ताङ ट्रेल रेसमा प्रथम भइन् । यही ट्रेलमा मीरासँग इटालीकी अल्ट्रा रनर टिना टोनी निकै प्रभावित भइन् । र, उनकै निम्ता र सहयोगमा इटालीको ख्यातीप्राप्त सेल्लारोण्डा ट्रेल रेसमा सहभागी हुन पाएकी हुन् । सरल भाषामा भन्दा इटाली यात्रापछि उनको जीवनमा बहारैबहार आएको छ । छापामार विगत र एथलेटिक्स वर्तमानको सफलताका कारण अन्तर्राष्ट्रिय मिडियामा लगातार छाइरहेकी छन् ।

 

भनिन्छ, सबैको क्षमता हुँदैन । क्षमता हुनेले अवसर नपाउन सक्छन् । अवसर पाए पनि सदुपयोग गर्न चुक्ने धेरै हुन्छन् तर मीरा अलग रहिन् । उनीसँग क्षमता थियो, संयोगले अवसर जुराइदियो । कतिसम्म भने असफलता पनि उनकै पक्षमा उभियो । र, योभन्दा महत्वपूर्ण कुरा अवसरलाई खेर जान दिइनन् । उनको सफलताको रहस्य यही हो । सय किलोमिटरभन्दा माथिको अल्ट्रा रनिङमा उपाधी जित्नु मीराको अबको लक्ष्य छ । यसका लागि उनी मुस्ताङ, सोलु, मनास्लु पुगेर तालिम गर्दैछिन् । कुराकानी गरिरहँदा यस्तो लाग्छ, जोश, इच्छाशक्ति र उत्साहले भरिएकी छन् । तर, भविष्यको चिन्ताले विस्तारै गाँज्दैछ उनलाई । दुखी हुँदै सुनाइन्, “सकिन्जेल त कुद्ने, त्यसपछि के गर्ने भन्ने पीरले सताउन थालेको छ ।”

बन्दुक छोडेर विश्वसामु नेपालको शिर उचो पारिरहेकी यी चेलीलाई सुरक्षित भविष्यको प्रत्याभूत गराउन र अझ ठूलो उपाधी जित्ने वातावरण बनाउन राज्यले दायित्वबोध गर्ला त ?

 

तपाईको प्रतिक्रिया

Loading…