Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतको दार्जिलिङमा स्थिति तनावपुर्ण भएपछि पश्चिम बंगाल राज्य सरकारले सेना तैनाथ गरेको छ । तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ प्रहरीले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीवीच हिजो दिनभर झडप भएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी गरेका छन् ।

सबेै विद्यालयमा बंगाल भाषामा पठनपाठन गर्ने राज्य सरकारको निर्णयको बिरोधमा नेपाली भाषीले आन्दोलन शुरु गरेका हुन् । करिब ४५ वर्षपछि पहिलो पटक दार्जिलिङमा आयोजना गरिएको राज्य क्याबिनेटको बैठक राजभवनमा चलिरहँदा प्रदर्शनकारीले मुख्यमन्त्री ममता वनर्जी विरुद्ध चर्का नारावाजी गरेका थिए । गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) प्रशासनको इजाजत नलिई बैठक आयोजना गरिएको भन्दै मोर्चा अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले भत्र्सना गर्नुभएको छ । हिजो सुरक्षाकर्मीवाट भएको ज्यादति विरुद्ध मोर्चाले आव्हान गरेको बन्दका कारण दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य क्षेत्र सुनसान बनेका छन् । यातायातका साधन, उद्योगधन्दा, शैक्षिक संस्था, व्यापार व्यवसाय सवै ठप्प भएको छ । यसैबीच राज्य सरकारले जीटीएको प्रमुख सचिव रविइन्दर सिंहको स्थानमा वरूण रोयलाई नियुक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया