काठमाडौं ।

हुनत अर्थमन्त्रालयका कर्मचारीलाई यो नौलो घटना भने होइन । माओवादी सरकारका अर्थमन्त्री बर्षमान पुनः, कृष्णबहादुर महरा र एमाले सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे र बिष्णु पौडेलको कार्यकाल भोगेका अर्थ मन्त्रालयका कर्मचारीहरु यो मामिलामा अभ्यस्त नै भइसकेका छन् ।

यही कारण होला नवनियुक्त मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थसचिवले ‘बिफ्रिङ’ गर्ने क्रममा बुधबार अर्थतन्त्रको सामान्यभन्दा सामान्य जानकारी समेत व्याख्या गरे ।
‘नेप्से भनेको धितोपत्र कारोबारको मापक सुचक हो,’ अर्थसचिव शान्तराज सुवेदीले अर्थमन्त्रीलाई ब्याख्या गर्दै बताए । उनले मौद्रिक पाटो राष्ट्र बैंकले हेर्ने र वित्तीय (फिस्कल) पाटो अर्थमन्त्रालयले हेर्नेसम्मका सामान्य जानकारी पनि मन्त्रीलाई दिन भ्याए ।

नवनियुक्त अर्थमन्त्री कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । तर, उनले स्पष्टरुपमा आफुमा अर्थ मन्त्रालय हाँक्न सक्ने क्षमता रहेको दाबी गरेका छन् ।
‘हुनत म जलस्रोत मन्त्रालयमा हुँदा मलाई किलोवाट र मेगावाटबीच फरक छुट्याउन पनि धेरै पटक सोच्नु पर्दथ्यो, तर मलाई लाग्छ मैले त्यतिखेर त्यो मन्त्रालय सफलतापूर्वक हाँके,’ मन्त्री कार्कीले स्पष्ट पार्ने प्रयास गरे ।

आर्थिक सुधारमा मन्त्रीको घुमाउरो प्रश्न

अर्थसचिव सवेदी, राजस्व सचिव राजन खनाल र राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले अर्थतन्त्र निकै राम्रो रहेको बताइरहँदा अर्थमन्त्री कार्कीले भने त्यसलाई घुमाउरो पारामा खण्डन गरेर उत्तर दिएका छन् ।

‘हामीले तराई, पहाड, हिमाल सबै क्षेत्रमा अर्थतन्त्र सुधार भएको महसुश नगराइकन जतिसुकै राम्रो तस्वीर (तथ्यांक) देखाए पनि त्यो अपुग नै हुन्छ,’ नवनियुक्त मन्त्री कार्कीले भने ।

मन्त्री कार्कीले विकासको अनुभुति गराउने वातावरण बनाउन युद्धस्तरमा काम गर्नुपर्ने र आफू पनि बजे, घण्टा नभनी काम गर्न तयार रहेको बताए । उनले सुशासन, पारदर्शिता र इमान्दारिता कायम गर्न आफू दृढ रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया