Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमूर्तबोध

 

  •                            ‘कृपया यी मेरा आँखाहरु झिकिदिनुस् ।  पहिले झैं हजूरलाई सुन्दर देख्न चाहन्छु ।’

 

  • उनलाई नजिकबाट चिन्नेहरुलाई थाहा थियो कि  दुई बाहिरि आँखाको नानी बाहेक उनमा कमजोरि सायदै थियो ।
  • ‘अन्धी’ वा ‘अपाङ्ग’को संज्ञा दिनेहरु भएता पनि उनको बाह्य रुप-रङ्ग हेरेरै पागल भएकाहरुको भीड पनि सानो थिएन । ताहाचल क्याम्पसमा उनको ठूलै चर्चा थियो । उनकोपछि लागेका केटाहरु देखेर ‘आफू सग्लो र सुन्दर छु !’ भनि सम्झिने केटीहरुको मनमा आहारिसको राँको बल्थ्यो । उनको बेकामे बाहिरि आँखाको फाईदा उठाएर सुटुक्क उनको हातमा उपहार-चिट्ठी हालेर जाने युवकहरु पनि कम थिएनन् । उनि मसीले लेखिएका पत्र त पढ्न सक्दिनथिन् तर, भौतिक वस्तुका उपहारहरु भने स्पर्ष गरेर राम्ररी अनुभूत गर्न सक्थिन् । जे भए पनि ‘धन्यवाद’ उनिबाट कन्जुसयाँई हुँदैनथ्यो । मिलनसारिता, शालीनता, पढाई तेज, विशिष्ट गायकी र आफ्नो सुन्दर रुप-रङ्गले उनलाई नायिका बनाएको थियो ।
  • उनलाई वास्तविक माया कतिले गर्थे ? त्यो त उनको निम्ति मरिमेट्नेले नै जानुन् ! तर मोटरबाईक दुर्घटनामा परेर ज्यान गुमाएका उनका एक सहपाठी युवकले भने उनैलाई आफ्नो आँखादान दिन अन्तिम  ईच्छा रहेको जाहेर गर्दै लेखेको  सानो कागजको टुक्रा हस्पिटल मै प्राप्त भएको थियो । जसमा लेखिएको थियो-
  • ‘ मेरा यी दुई आँखाका नानीहरु सुरक्षित उनैलाई दिनू , जो, मेरो निमित्त  यो संसारकै सबैभन्दा  प्रिय नारी हुन् । उनको भित्रि आँखाको ज्योति विष्मयकारी र शक्तिशाली त छँदैछ  । तर बाहिरी नेत्रले पनि यो संसारलाई उनले देख्न पाऊन् –हेर्न पाऊन । जो मैले देखेको-हेरेको भन्दा सार्थक हुनेछ । मैले एति गर्न पाउँदा म आफूलाई पूर्ण ठान्नेछु । उनको दृष्टिबाट नै मैले हेरिरहेको स्वर्गीय आभाष हुनेछ । उनी मेरै क्लासमेट हुन् ।’
  • उसको अन्तिम ईप्सानुरुप उसका आँखा उनै सुन्दरीका निमित्त प्रत्यारोपण भयो । उनले देख्न सकेकोले उनका शुभचिन्तकहरु साह्रै हर्षित भए । त्यो मृतक युवकप्रति धन्यवाद ज्ञापन गरे । उनको आँखा प्रत्यारोपण भएपछि उनको बाह्य-सौन्दर्य झनै खुलेर आयो । उनले एक बर्षको उमेरपश्चात पूरै अठार बर्षपछि मात्र बाहिरी दुनियाँ देख्ने मौका पाईन् । तर उनमा खुशीयाली र हर्षको बदला निरासता, उदासिनता र खिन्नताले हाबी गर्न थाल्यो । यो देखेर सबै आश्चर्यमा पर्दैगए ।
  • उनको मस्तिष्कमा तिनै आँखादान गर्ने युवकको तस्वीर झलझली आउन थाल्यो । उनले पटक्कै बाहिरी संसारलाई  सुन्दर अनुभूत गर्न सकिनन् । उनलाई सबै-सबै नौलो र बिरानो लाग्यो । सारा संसार नै अनौठो र आश्चार्य लागेर आयो ।  आफन्तले दिएका प्रेमका उपहारहरु पनि उनलाई  पटक्कै सुन्दर लागेनन् । उनै मृतकले उनको अघिल्लो बर्षको जन्मोत्सवको अवसारमा आफ्नै हातले बनाएर दिएको अमूर्त चित्रकला उपहार पनि उनलाई अब कत्ति नै सुन्दर लागेन । पहिले बाहिरी आँखाले देख्न नसके पनि आन्तरिक शक्तिको चक्षुले हेर्दा त्यो उपहार उनलाई सबैभन्दा प्रिय र सुन्दर लाग्दथ्यो । आफूले आँखा देख्ने भएपछि को नजिक, को पराई ? के राम्रो, के नराम्रो ? केहि थाहा हुन छोड्यो । आफ्नो अमूल्य आँखा दान दिनेको दुर्घटना र मृत्य पनि उनलाई यथार्थ हो कि सपना हो ? थाहा हुन छोड्यो । उकालो-ओरालो, वरपर, तलमाथी, अग्लो-होचो, सानो-ठूलो केहिकेहि पनि अनुभूत हुन छोड्यो । भनौं, दूरी, आकार, रङ्ग, केहि पनि उनका खूल्ला आँखाले ठम्याउन सकेन । आफ्ना आँखा बन्द नगरेसम्म खानाको स्वाद पनि थाहा भएन उनलाई । हिंड्न-डुल्न र उठबस गर्न पनि साह्रै कठिन थियो ।मानौं, अबचाहिं उनी वास्तबिक अन्धी भईन्।
  • उनलाई खुशी बनाएर उनको मन जित्न खोज्नेहरुको  भीड झनै  बढ्दैगयो । उपहार, पत्र,  इमेल, फोन आदिले अझ  दिग्दारी र ब्यस्तता बढाउन थाल्यो । उनको सपाङ्ग र सुन्दर मानिएको जीवन अब साँच्चि नै अत्यास लाग्दो भईसकेको थियो । आफूले आफैंलाई पनि बिरानो झैं महसुस गर्न थालिन् । जसको सबै कारण  तिनै आफूले मन पराएको सबैभन्दा प्रिय मान्छेबाट उपहार स्वरुप पाएको आफ्ना आँखाका दुई नानीहरु थिए ।
  • एकातिर आफ्ना प्रिय ब्यक्ति यो भौतिक संसारबाट सधैंको निमित्त बिदा भईसकेको पीडाले उनको वाकदिक जीवनलाई झनै बिदारक बनाउँदै लगेको थियो । अर्कोतिर उपहार स्वरुप पाएका आँखाका नानीहरुले उनलाई झनै समस्या सिर्जना गरे पनि सधैं सम्हाली राखूँ झैं प्यारो पनि लागिरहेको थियो । उनलाई आफैंलाई नै थाहा थिएन कि आफैंले भोग्दै गरेको त्यो जीवन कन्सियस, सबकन्सियस या अन्कन्सियस जीवन थियो । उनमा लाटोपन, सुस्तता र बोधोपनले राज गर्दैगयो । हुन पनि आँखा हुनेहरुका आँखा निकालिदिनु र आँखा नहुनेलाई आँखा लगाईदिनु अन्धो बनाउनु सिवाय केहि होईनरहेछ । प्रत्यारोपण गरिएका दुबै आँखा बेस्मारी चिम्म गर्दा मात्र उनले झिलिमिली आफ्नो संसार आफ्नै मानसिक कल्पनाभरी देख्न सक्थिन् ।
  • उनका  आफन्तहरुले उनमा भएको यो अवाङ्भाव  र निरासता देखेर आश्चर्य मान्न थाले ।
  • एकदिन क्याम्पसमा निकैठूलै खैलाबैला चल्यो । जो उनकै प्रसङ्गमा थियो । हुन त उनको चर्चा नचलेको दिन नै कहाँ थियो र ! अझ उनको आँखा प्रत्यारोपण भएपछि त उनको बाह्य रुपरङ्गको बयान तेसै चुलिएर गएकोथियो ।
  • ****                               *****                           ******
  • ‘ जनवरी-४, २०११
  • मध्यरात, १: ४६
  • महाराजगञ्ज, काठमाण्डु ।
  • मान्छेको स्वसार्वभौमिकता खै ? आफ्नै शरीर आफ्नो स्वेच्छाले प्रयोग गर्न नपाईने यो कस्तो बन्धित जीवन ? म मेरा दुई आँखाका नानीहरु उनैलाई सुम्पन चाहन्छु । उनलाई यो भौतिक संसार देखाउन चाहन्छु । मेरा हरप्रयासहरु अहिलेसम्म तेसै खेर गईरहेछन् । मैले मेरा आँखाका नानीहरु निकालेर उनलाई दिने मेरो चाहना किन अबैधानिक मानिन्छ  ? मेरा आँखामा भन्दा उनको आँखामा संसार देख्न सक्ने नानीहरुको खाँचो छ  ।  जस्तोसुकै त्याग, समर्पण, तपस्या र बलिदान गरेर पनि उनलाई अन्धमुक्त गर्ने मेरो प्रण एकदिन पूरा गरेरै छोड्नेछु ।
  • आहा ! त्यो सुन्दर मनको सुन्दर तन, अनि सुन्दर मुहारको सुन्दर नयन र सुन्दर दृष्टिको सङ्गोल तादम्यताले  उनलाई कस्तो पृथक बनाउँथ्यो होला । अझ मञ्चमा निस्किएर  कोकिल कण्ठ फूकाएर गीत गाउँदा यो सारा दुनियाँ उनिमाथि नै केन्द्रित हुँदोहो ! मेरो सानो प्रेमले सानो सहयोग प्रदान गर्दा तेत्रो ठूलो अन्वय निर्माण हुन्छ भने किन नगर्ने ? मेरा चित्रकर्महरु देखेर उनले आफ्नै बौद्धिकताले ब्याख्या गर्दा कस्तो हुन्थ्यो होला ! आज पनि यो वाचापत्र सिरानीमा हालेर निदाउँदैछु ।‘
  • त्यो उहि युवकको दैनिकी थियो । जो, स्थानिय पत्रिकाले जस्ताकोतस्तै उसैको खास हस्तलिपी  नै  उसको नोटबुकको पाना स्क्यान गरेर छापेको रहेछ । जसको चर्चाले क्याम्पस मात्र होईन, गाउँ-सहर ढाकेको थियो । यो खुलासाले उनलाई झनै गहिरो चोट पुग्यो । ‘आँखादान गर्न नै उसले आत्मप्राण त्याग गरेको रहेछ’ भन्ने जोकोहिले पनि निश्कर्ष निकाले ।
  • उनमा मानसिक तनाव र असन्तुलन सुरु भयो । उनले क्याम्पस धाउन छोडिन् । उनको अवस्था देखेर उनका अभिभावक र आफन्तहरुमा अत्यधिक पिर र दु:खको डढेलो सल्किन थाल्यो ।उनलाई नदेखेर उता क्याम्पसमा पनि उनका पछिपछि लागेर मरिमेट्नेहरुमा निरासा र खल्लोपनाले रुझान लिएको थियो ।
  • उनलाई निको बनाउन उनका अभिभावकले अनेक कोशिस गेरिरहे । तर, कुनै सुधार र प्रगाति देखिएन।
  • ‘जीवन आफूले भोगेर आएका अनुभव-अनुभूतिहरुको सङ्गोल सङ्काय हो । मलाई त्यसैमा ठीक थियो । पूरै अठारबर्ष दिनरात एकोहोरो एक्स्पेरियन्स् गरेर निर्माण गरेको मेरो संसारबाट भागेर म कहाँ अलग बाँच्न सकूँ ! हजूरले गलत निर्णय गरेर मेरो निमित्त आत्मबलिदान गर्नुभो’ । म जस्ती एउटी अन्धी केटीको निम्ति त्यस्तो सुन्दर जीवनलाई नष्ट गरेर पाप गर्नु भो’ । बाहिरी आँखा त केवल बाहिरी रुपरङ्गको दृष्यावलोकन गर्नलाई मात्र हो । आत्मालाई हेर्ने त आन्तरिक आँखा नै चाहिन्छ, जो मसँग नै थियो नि । हजूरले कल्पना गरेर भनेको-सोचेको जस्तो म कहाँ सुन्दरी भएकोछु र अहिले ? ऐनामा आफैंलाई देखेर तर्सिन्छु । ‘एउटी अन्धीले प्रेम प्रस्ताव राख्यो’ भनेर सोच्नुहोला भनी चाहेर पनि मैले कहिल्यै प्रेम प्रस्ताव राख्न सकिन । मलाई थाहा थियो कि मूर्तबोधी सोचको हाबी तपाईंमा भएको कारण बुझेर नै मैले म चुपचाप तपाईंलाई प्रेम गरिरहन्थें ।
  • जब हजूरले दिनुभएको यी दुई आँखाले पनि तपाईंको त्यत्रो सुन्दर र महान चित्रलाई मैले हेर्न-बुझ्न जानेकि छैन अहिलेसम्म । तपाईंले दिनुभएका तपाईंका सुन्दर फोटोहरुमा तपाईंलाई म खै सुन्दर नै देख्न सक्दिन अहिले । भौतिक रुपमा मलाई, आफन्त र दुनियाँलाई छोडेर गए पनि मेरो अन्तरमनभरी हजूरलाई सदा झैं सजाएर राख्न चाहन्छु । यी आँखाले त केवल भौतिक शरीरलाई मात्र खोज्छ । तर तपाईंको भौतिक शरीर अब बाँकी छैन । त्यसैले म तपाईंका यी दुई आँखासँग एक्लो र निरस भएर बाँच्न सक्दिन ।म तपाईंलाई चाहन्छु । मलाई यसरी अन्धी बनाएर तपाईंसंग अलग नपार्नुस् । एकैपल पनि म तपाईंबिना बाँच्न सक्दिन । कृपया यी मेरा आँखाहरु झिकिदिनुस् ।  पहिले झैं हजूरलाई सुन्दर देख्न चाहन्छु । अमूर्तबोधतासँगै अन्तरमनभरी हजूरसँगै जीउन चाहन्छु जनम्-जनम् ।‘
  • मृतकद्वारा उनको जन्मोत्सवमा उपहार स्वरुप प्राप्त तिनै अमूर्तचित्रकला सुम्सुम्याउँदै उनले गरेका यी एकल सम्वादहरुसँगको एकल नाटकका प्रतक्षदर्शी उनका बुवा भने एतिखेर पल्लो कोठामा आँसुले स्नान गर्दै सुँक्सुकाई रहेकाथिए ।

खगेन्द्र पन्धाक लिम्बू

तपाईको प्रतिक्रिया